सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताएका छन् । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको बिक्री ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनको भनाइ छ । यसले बजारमा सुधारको संकेत दिएको ढकालले बताए । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहे पनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनको भनाइ छ । सरकारले अबलम्बन गरेका नीतिगत कारणहरुले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको ढकालले बताए । सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाइ छ । अध्यक्ष ढकालले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको बताए । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले बताए । बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, व्याजदर एकल अंकमा रहेको र कानून पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातारवण बनेको उनले बताए । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकरात्मक रहे पनि केही समय होल्ड गर्न आग्रह गरे । युरो ६ मापदण्ड लागू गर्ने निणय एकाएक भएकोले कतिपय व्यवसायीहरु समस्यामा परेको उनले बताए । अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरुको नेपालकै लागि बनाइएको सवारीसाधनहरु अलपत्र बनेको उनको भनाइ छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरु ल्याउन दिनुपर्ने उनको माग छ ।

असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न आग्रह गरेको छ । विभागले आज जारी गरेको सूचनामा आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रूपमा हाइ–सिक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख छ । गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णयअनुसार, असोज १ गतेदेखि सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले सम्बन्धित सवारीधनीलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न मात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो । यसैअनुसार विभागले सबै सवारीधनीलाई सम्बन्धित यातायात कार्यालयमा गई आवश्यक प्रक्रिया पुरा गरी हाइ–सिक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ ।

नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विभिन्न ईभी मोडेल सार्वजनिक गरेको छ । टाटाले अटो शोको माैका पारी नयाँ सफारी सार्वजनिक गरेको छ, जसमा एडीएएस, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको सुरुवाती मूल्य १२ लाख ९९ हजार रहेको छ । यसैगरी, शोमा सिप्रदीले नयाँ रंगकाे टियागो इभी‍ पनि सार्वजनिक गरेको छ । जुन एरिजोना ब्लु रंगमा रहेको छ । यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के थ्री। इभी, पन्च इभी र टीयागो इभी रहेका छन् ।  यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ ।  अफरअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क गाडी चार्ज गर्न पाइने जनाइएको छ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेङ, निःशुल्क एसेसरिज र १ वर्षको भेहिकल ट्याक्स निस्शुल्क रहेको छ। यसैगरी घरमै निःशुल्क चार्जिङ जोडिने सुविधा र निःशुल्क इम्बोस्ड नम्बर प्लेट पनि जडान गरिने जनाइएको छ । सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटाे शो नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्च रहेको जानकारी दिए ।