ट्याक्सी मिटरमा मात्रै गुड्नुपर्ने, बढी भाडा लिए ट्राफिक कारवाही

काठमाडौं २४, भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ। अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउने खबर शुक्रबारको नागरिकमा छापिएको छ। प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले मिटरमा उठेको भाडामात्र ट्याक्सीले लिन पाउने बताए। उनले मनपरी चर्को भाडा असुलेको गुनासो आएपछि यसतो नियम लगाएको बताए। उनले भने,‘ अब यात्रुलाई ट्याक्सी चालकले ठग्न पाउने छैनन्। रिङरोड भित्र गुड्ने सबै ट्याक्सीको प्रहरीले अनुगमन र निगरानी गर्छ।’

यामाहा दशैं अफरका पहिलो विजेता ललितपुरका पुकार शर्मा घोषित

काठमाडौं, २३ भदौ । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले गत साता शुरु गरेको दसैंतिहार अफर ‘टेक्नो ट्रिप टु टोकियो’को पहिलो भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । पहिलो साताको लकी ड्रमा ललितपुरका पुकार शर्मा विजेता घोषित भएका हुन् । उनले प्रविधिको क्षेत्रमा अग्रणी मुलुक जापानको भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरेका छन् । यामाहाले महान पर्व दशैं  र तिहारलाई लक्षित गरी नयाँ स्किम ल्याएको थियो जसमा हरेक साता एक जना भाग्यशाली ग्राहकले जापान जाने अवसर पाउनेछन् । यो स्किम अन्तर्गत यामाहाले आफ्नो मोटरसाइकल वा स्कुटर किन्ने हरेक ग्राहकलाई आठ हजार रुपैयाँ नगद छुट दिँदै आएको छ । पहिलो साताका जापान जाने मौका पाएका पुकार शर्माले कुमारीपाटी, ललितपुरस्थित रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । जापान जाने अवसर पाउँदा आफू निकै हर्षित भएको उनले बताए । उनीसहित अन्य भाग्यशाली विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् । एमएडब्लुले नाडा अटो शोमार्फत ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

टाटाको कार टेष्ट ड्राइभ गर्नुहोस, गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनेछन्

काठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ गर्दा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि फण्ड जुटाउने अभियान थालेको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ‘शिक्षाका लागि टेष्ट ड्राइभ’ अभियान भदौ २५ गते शनिबारदेखि सञ्चालन हुने जानकारी दिएको हो । तीन महिनासम्म सञ्चालन हुने अभियानमा न्युनतम १० हजार जनाले टेष्ट ड्राइभ गर्ने अनुमान कम्पनीले गरेको छ । सो अवधीमा टेष्ट ड्राइभ गर्ने प्रत्येक व्यक्ति वापत पाँच सय रुपैयाँ कम्पनीले शिक्षाका लागि टेष्ट ड्राइभ अभियानका लागि उपलब्ध गराउने छ । टेष्ट ड्राइभका लागि टाटाका टिआगो, बोल्ट र जेष्ट कार राखिनेछन् । टाटा मोटर्सको नेपालका लागि कन्ट्रि मेनेजर हेमन्त पुरानिकले विपन्न परिवारका नेपाली बालबालिकालाई शिक्षामा पहुँच विस्तारका लागि योजना ल्याएको बताए । उनले योजनाबाट दशौं हजार विपन्न परिवारका नेपाली बालबालिकाले शिक्षा प्राप्त गर्ने दावी समेत गरे । सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले पनि नेपालमा शिक्षाको महत्वको प्रचारका लागि अभियान थालिएको बताए । उपाध्यक्ष थपलियाले आर्थिक अभावमा कुनै पनि नेपालीले शिक्षाको ज्योतिबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले अभियानको आरम्भ गरिएको जानकारी समेत दिए । युनिसेफका अनुसार नेपालमा प्रत्येक १० जना बालबालिकामध्ये ७ जनाले विद्यालय भर्ना भएर कक्षा पाँच पढ्ने गरेका छन् । आर्थिक अभावका कारण तीमध्ये आधाले मात्रै निम्न माध्यमिक तह उतिर्ण गर्छन् । भदौ २५ गते धापाखेल र सानेपास्थितर जेम्स स्कुलकोबाट अभियानको सुभारम्भ गरिनेछ । अभियानबाट संकलन गरिएको फण्डबाट देशका बिभिन्न भूभागमा आर्थिक अभावका कारण अध्ययन छाड्ने अवस्थामा पुगेका बालबालिकाको शिक्षा दिक्षाका लागि प्रयोग गरिने थपलियाले जानकारी दिए । यो अभियानलाई देशका मुख्यमुख्य शहरमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए ।