धेरै नेपालीले २५ लाख पर्ने गाडी किन्छन्, ५ वर्षमा बेच्छन्-अन्जन श्रेष्ठ
मंगलबारदेखि अटोमोबाइल क्षेत्रको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु हुँदैछ । यो मेलामा के के हुँदैछ ? मोटरका उपभोक्ताहरु किन मेलामा आउने ? सर्वसाधारण मान्छे मेलामा किन आउने ? मोटर व्यवसायीहरुले उपभोक्ताका लागि कस्ता स्किम ल्याएका छन् ? यो क्षेत्रमा के कस्तो परिवर्तन भएका छन् ? प्रस्तुत छ नाडा अटोमोबाइल डिलर्स एसोसिएसन नेपालका अध्यक्ष तथा नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठसँग विकासन्यूजले गरेको कुराकानी । अन्जन श्रेष्ठ, अध्यक्ष, नाडा अटोमोबाइल डिलर्स एसोसिएसन नेपाल सामान्य उपभोक्ताले यसपालीको अटो शो हेर्न आउँदा के कस्तो अपेक्षा गर्न सक्छन् ? अटो शोमा कुन कुन नयाँ प्रडक्ट र कस्ता स्किमको अपेक्षा गर्न सकिन्छ ? कुन कम्पनीले कस्तो स्कीम ल्याउने छन् ? नयाँ प्रडक्ट के ल्याउछन् भनेर हामीले भन्न सक्दैनौ । तर पक्कै पनि सबै कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न आकर्षक योजना बनाएका हुन्छन् । नयाँ सावरीसाधान पनि सार्वजनिक गर्छन । नाडा अटो शोलाई सबै कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गर्ने उपयुक्त अवसरको रुपमा ठान्दछन् । एक थलोमा ठूलो संख्यामा ग्राहकवर्ग आएर सवारीसाधन खरिद तथा अर्डर गर्ने भएकाले यो अवसरबाट कोही पनि चुक्न चाहदैन । उपभोक्ताको पक्षबाट हेर्दा नाडा अटो शोमा आयोजकले कस्तो किसिमको भूमिका खेलेको छ ? नाडा अटो शोबाट उपभोक्तालाई फाइदा नै पुग्ने गरि सबै कम्पनीले स्कीम बनाएका हुन्छन् । साथै, नयाँ प्रडक्टको बारेमा जानकारी लिन पाउने यो ठूलो अवसर हो । त्यस्तै यसले बजारमा आएको नयाँ उत्पादनलाई सुपथ मूल्यमा किन्न र बुक गर्ने मौका दिन्छ । यो हिसाबले हेर्ने हो भने उपभोक्तालाई नाफा पुगेको देखिन्छ । आफ्नो खर्च गर्न सक्ने क्षमताका आधारमा उपभोक्ताले आफूलाई मनपरेको र सुलभ किसिमको सवारी किन्न सक्छन् । नाडा अटो शो दशैं अगाडी नै किन राखिन्छ ? दशैंमा मिठो खाउ नयाँ लगाउ भन्ने सबैको ईच्छा हुन्छ । श्रमजीवि तथा कर्मचारीले दसैंमा बोनस पाउछन् । आम उपभोक्ताले दशैंमा केही नयाँ किन्छु भनेर योजना बनाएको हुन्छ । नाडामा नयाँ प्रडक्ट सार्वजनिक हुन्छ । एउटै थलोमा नेपालमा उपलब्ध हुने सबै सवारीसाधन हेरेर खरिद गर्न सक्छ । त्यसैले यो पब्लिकको बहुप्रतिक्षित अवसर पनि हो । तर अटोमोबाइल क्षेत्रले दशैंमा मात्र नभई अरु समयमा पनि प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेको छ । अटोमोबाइल व्यवसायीले वर्षमा मात्र करिब तीन पटक प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेका छन् । दशैंबाहेक नयाँ वर्ष र समर सिजनमा पनि ग्राहकलाई आकर्षित गर्ने स्कीमहरु आएका हुन्छन् । दशैं अगाडी चाँही धेरैले नयाँ गाडी किन्ने भएको हुनाले यो बेला चाँही विशेष कार्यक्रम आयोजना हुन्छ । विदेशतिर विभिन्न सेग्मेन्टका आधारमा गाडीहरुलाई मूल्य क्षमताका आधारमा विशिष्टकृत गरिएको पाइन्छ । नेपालमा त्यसरी छुट्याउने आधार के छ ? यसमा चाँही कम्पनीहरु एक अर्का बीच नै भिन्नता देखिएको छ । तर अन्तराष्ट्रिय बजारमा एउटा स्ट्याण्डर्ड हुन्छ । त्यस्तो स्ट्याण्डर्ड नेपालमा तोकिएको छैन । सवारीमा लाग्ने करका आधारमा कुनै मापदण्ड छ कि ? कमर्शियल सवारीमा चाँही केही फरक छ । नत्र अन्य गाडीमा त्यस्तो केहि छैन । नेपालमा अटोमोबाइल क्षेत्रमा उपभोक्ताको व्यवहारको ट्रेण्ड कस्तो छ ? नेपालमा उपभोक्ताको बानी व्यवहार ख्याल गर्ने हो भने बचत गर्ने बानी एकदमै कम छ । हामीसँग खर्च गर्ने कतिको क्षमता छ त्यसको ख्याल छैन । उपभोक्ताको दृष्टिकोणबाट हेर्दा हामी हाई लेबल पोजिसनको व्यवहार गर्न खोज्छौं । हाम्रो आर्थिक क्षमता मध्य वर्गको भए पनि हामी उच्च वर्गको बानी व्यवहार फलो गर्छौं । हामी लाहुरे संस्कृतिबाट प्रभावित छौं । जमानामा हामीले जिन्सको पाइन्ट लगाएका हौं । साइको फाइभ घडी लगाएका हौं । हामी लाहुरेले जमानामा ल्याएको पानासोनिक रेडियो सुनेर रमाउने कल्चरबाट निर्देशित छौं । मनाङे समाजमा हङकङबाट सामान ल्याएर व्यापार गर्ने चलन बस्यो । तिर्नसक्ने क्षमता थियो वा थिएन, थाहा छैन तर धेरै वर्षअगाडी हामीलाई त्यहाँसम्मको पहुँच थियो । त्यो बेलादेखिको धेरै खर्च गर्ने बानी आजसम्म देखिन्छ । समग्र अटो सेक्टरमा उपभोक्ताको व्यवहार कस्तो छ ? यो प्रश्नको जवाफका लागि एउटा रोचक प्रसंग जोड्न चाहन्छु । आजभोली नयाँ कारको एन्ट्री लेबलको मूल्य १४ देखि १५ लाख रुपैयाँ जति पर्न आउछ । सबैभन्दा बढी बिक्री मिड साइज सेग्मेन्टको हुनेगरेको छ । ती कारको मूल्य २०/२५ लाखको हाराहारी पर्न आउछ । एन्ट्री लेबलको भन्दा महंगो कार किन रुचाइरहेका छन् । यस्ता ग्राहकले ५ वर्षमा नयाँ गाडी लिन्छन् । पुरानो बेच्छन् । सेग्मेन्ट वाइज हेर्दा कुन रेन्जका गाडीको बजार हिस्सा कति छ ? एन्ट्री लेबलका गाडीको बजार हिस्सा करिब २० प्रतिशतको छ । एसयुभी सेग्मेन्टको कार करिब ३० प्रतिशत छ । मिड साइजको कारको करिब ५० प्रतिशतकै हाराहारी पुग्न आउँछ । यसमा ट्याक्सीको कुरा जोड्न सकिदैन । किनकी ट्याक्सी नियमित बिक्री हुने होइन । एउटा निश्चित समयमा सरकारले नम्बर प्लेट दिने भएकाले यसलाई तुलना गर्न मिल्दैन । ट्याक्सी सेग्मेन्टमा हुण्डाईको बजार हिस्सा कति छ ? मूलुकको समग्र व्यवसाय हेर्ने हो भने हुण्डाईको उपस्थिति ४० प्रतिशत छ । हुण्डाईको बिक्री वितरण कस्तो छ ? गत वर्षको तथ्यांक हेर्दा हुन्डाईको बजार हिस्सा ३० प्रतिशत थियो । तपाईले बाटोमा हेर्नुभयो भने नै हुन्डाईको राम्रो उपस्थिती पाउनु हुन्छ । तर गत आर्थिक वर्षमा मौद्रिक नीतिमा भएको अटो लोन सम्बन्धि सुविधामा आएको परिवर्तनले प्यासेन्जर सेग्मेन्टका सबै गाडी प्रभावित भए । २० देखि २५ प्रतिशतले हाम्रो बिक्री घट्यो । हामी व्यवसायी अहात भएर सरकारसँग पहल गर्यौंम । अटो लोनको सुविधा ३५ प्रतिशतमा पुगेपछि राहत पुगेको छ । गाडी प्रयोगकर्ताहरुमा युनिक विशेषता के छ ? सबैले गाडीमा स्टायल, टिकाउपन र पर्फर्मेन्स खोज्छन् । अहिले चाँही विशेष रुपमा नयाँ फिचर खोज्ने गरेको पाइएको छ । ग्राहकहरु आकर्षित हुने प्रमुख कारण नै यी चारवटा कुरा हुन् । नेपाली उपभोक्तामा गाडी गिफ्ट दिने चलन कतिको पाइन्छ ? गिफ्टको कुरामा यकिनका साथ भन्न सकिदैन । आफन्त एकले अर्कोलाई गिफ्ट त दिइरहेकै पाइन्छ । तर कुन गाडी गिफ्टमा गयो वा गएन छुट्याउने आधार बनाइएको भने छैन । तर विश्व बजारमा त यो चर्चाको वषय बन्ने गरेको छ नि ? पक्कै पनि छ । जस्तो बलिवुडका नायक शाहरुख खानले आफ्नी श्रीमतीलाई गाडी गिफ्ट दिए भनेर समाचार आउने गरेका छन् । विश्वमा त्यो ट्रेण्ड धेरै ठाँउमा छ । तर नेपालका लागि गाडी सस्तो चिज भएन । नेपालमा सक्नेले दिएका छन् । विद्युतीय सवारीले ईन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्न सक्छ ? विद्युतीय सवारी हाम्रो भविष्य हो । केहि ठूला मुलुकले सन् २०३० सम्ममा ईलेक्ट्रिक गाडीहरुले ईन्धनबाट सञ्चालिन गाडीलाई विस्थापित गर्ने लक्ष्य लिइसकेका छन् । मेरो विचारमा २०२२ सम्ममा विद्युतीय सवारीले विश्व बजारमा नै निकै ठूलो उपस्थिती देखाउन सक्छ । नेपालमा यसको सम्भावना के छ ? जस्तो पूर्वाधारका यसको प्रमुख चुनौति बनिरहेको छ । भौतिक पूर्वाधार एउटा चुनौति कै विषय हो । तर अहिले विभिन्न कम्पनीहरुले आफ्नै घरमा नै चार्ज गर्न मिल्ने प्रविधि विकास गरिरहेका छन् । यसले गर्दा केहीहदसम्म उपभोक्तालाई सहज बन्ने स्थिती छ । पेट्रोल पम्प जस्तै यसका लागि पनि चार्जिङ स्टेसनको व्यवस्था गर्न सकिन्छ । विद्युतीय सवारीको प्रयोग असाध्यै न्यून भएको अवस्थामा चार्जिङ स्टेसनमा लगानी होला ? कि राज्यबाट केही अपेक्षा छ ? हामीले खुला अर्थनीति अवलम्बन गरेको २५ वर्ष भइसक्यो । अब सरकारले लगानी गर्ने होइन । यसमा निजी क्षेत्रले नै लगानी गर्ने हो । तर लगानी गर्नका लागि केहि समय लाग्छ । राज्यले लगानीको वातावरण निर्माण गर्दिनुपर्छ । यसलाई प्रत्साहन गर्नुपर्छ ।
नाडा अटो शो: सुजुकीको बहुप्रतिक्षित कार इग्निस सार्वजनिक हुने, अत्याधुनिक सुरक्षा फिचर्स सहित
काठमाडौं । सुजुकीको बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा आउने भएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गर्ने भएको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । ईग्निस सार्वजनिकगर्दै सीजीहोल्डिङ्सका अध्यक्षतथाप्रबन्धनिर्देशक अरुण चौधरीले भने, ‘प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन, अत्याधुनिक सुरक्षा फिचर्स तथा हरेक परिमितीमा पृथक कार हो ।’ कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्याउँछ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।
बेलायती ब्राण्ड एमजीको नयाँ कार नेपाली बजारमा, मूल्य ६७ लाख रुपैयाँ
काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो । कम्पनीले यो कारको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ तय गरेको छ । सोमबार कम्पनीले नयाँ बानेश्वर स्थित नयाँ शोरुमबाट वाणिज्यमन्त्रीद्वारा उद्घाटन गरेको थियो । अहिले नेपाली बजारमा यो कार दुई मोडलमा आएका छन् – १५०० सिसि टर्बो र २००० सिसि टर्बो । विश्वबजारमा स्पोर्टस गाडीका रुपमा चर्चा पाएको यो गाडी अहिले चीनमा उत्पादन हुँदै आएको छ । बिट्रिश लेल्यान्ड कर्पोरेशन कम्पनी नानजिङ अटोमोबाइल ग्रुपले सन् २००५ मा किनेको थियो । सन् २००७ मा चीनको सरकारी स्वामित्वको सांघार्इ अटोमोबाइल इन्डस्ट्रिज कर्पोरेशनले यो गाडी चीनमा उत्पादन गँर्दै आएको कम्पनीका सञ्चालक लोक हर्ष शाक्यले बताए । १५०० सिसि टर्बो क्षमताको कारको मूल्य ६७ लाख रुपैयाँ रहेको छ भने २००० लिटर टर्बो क्षमताको कारलाई ८२ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । तत्काल बुकिङका लागि कम्पनीले दुई लाखसम्मको छुट दिएको छ । यो योजना दसैंसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । के के छन् नयाँ फिचर ? टिएसटी गेयर बक्स (अटोमेटिक) प्रविधियुक्त यो कार युरो भि एप्रुभ्ड रहेको कम्पनीले जानकारी दिएको छ । चालकसँगै यात्रुलाई पनि आरामदायी यात्राको लागि नयाँ किसिमको सिट राखिएको छ । यसमा सुरक्षाको हिसाबले पनि उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको माटो र बाटोलाई सुहाउने किसिमको भएको कम्पनीका सञ्चालक शाक्यले बताए। यसको १५०० सिसि क्षमताको गाडीले २२० एनएम क्षमताको टर्क प्रदान गर्छ भने २००० सिसिको गाडीको क्षमता ३५० एनएमको टर्क रहेको शाक्यले जानकारी दिए ।