यामाहा दशैं अफरका पहिलो विजेता ललितपुरका पुकार शर्मा घोषित

काठमाडौं, २३ भदौ । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले गत साता शुरु गरेको दसैंतिहार अफर ‘टेक्नो ट्रिप टु टोकियो’को पहिलो भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । पहिलो साताको लकी ड्रमा ललितपुरका पुकार शर्मा विजेता घोषित भएका हुन् । उनले प्रविधिको क्षेत्रमा अग्रणी मुलुक जापानको भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरेका छन् । यामाहाले महान पर्व दशैं  र तिहारलाई लक्षित गरी नयाँ स्किम ल्याएको थियो जसमा हरेक साता एक जना भाग्यशाली ग्राहकले जापान जाने अवसर पाउनेछन् । यो स्किम अन्तर्गत यामाहाले आफ्नो मोटरसाइकल वा स्कुटर किन्ने हरेक ग्राहकलाई आठ हजार रुपैयाँ नगद छुट दिँदै आएको छ । पहिलो साताका जापान जाने मौका पाएका पुकार शर्माले कुमारीपाटी, ललितपुरस्थित रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । जापान जाने अवसर पाउँदा आफू निकै हर्षित भएको उनले बताए । उनीसहित अन्य भाग्यशाली विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् । एमएडब्लुले नाडा अटो शोमार्फत ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

टाटाको कार टेष्ट ड्राइभ गर्नुहोस, गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनेछन्

काठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ गर्दा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि फण्ड जुटाउने अभियान थालेको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ‘शिक्षाका लागि टेष्ट ड्राइभ’ अभियान भदौ २५ गते शनिबारदेखि सञ्चालन हुने जानकारी दिएको हो । तीन महिनासम्म सञ्चालन हुने अभियानमा न्युनतम १० हजार जनाले टेष्ट ड्राइभ गर्ने अनुमान कम्पनीले गरेको छ । सो अवधीमा टेष्ट ड्राइभ गर्ने प्रत्येक व्यक्ति वापत पाँच सय रुपैयाँ कम्पनीले शिक्षाका लागि टेष्ट ड्राइभ अभियानका लागि उपलब्ध गराउने छ । टेष्ट ड्राइभका लागि टाटाका टिआगो, बोल्ट र जेष्ट कार राखिनेछन् । टाटा मोटर्सको नेपालका लागि कन्ट्रि मेनेजर हेमन्त पुरानिकले विपन्न परिवारका नेपाली बालबालिकालाई शिक्षामा पहुँच विस्तारका लागि योजना ल्याएको बताए । उनले योजनाबाट दशौं हजार विपन्न परिवारका नेपाली बालबालिकाले शिक्षा प्राप्त गर्ने दावी समेत गरे । सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले पनि नेपालमा शिक्षाको महत्वको प्रचारका लागि अभियान थालिएको बताए । उपाध्यक्ष थपलियाले आर्थिक अभावमा कुनै पनि नेपालीले शिक्षाको ज्योतिबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले अभियानको आरम्भ गरिएको जानकारी समेत दिए । युनिसेफका अनुसार नेपालमा प्रत्येक १० जना बालबालिकामध्ये ७ जनाले विद्यालय भर्ना भएर कक्षा पाँच पढ्ने गरेका छन् । आर्थिक अभावका कारण तीमध्ये आधाले मात्रै निम्न माध्यमिक तह उतिर्ण गर्छन् । भदौ २५ गते धापाखेल र सानेपास्थितर जेम्स स्कुलकोबाट अभियानको सुभारम्भ गरिनेछ । अभियानबाट संकलन गरिएको फण्डबाट देशका बिभिन्न भूभागमा आर्थिक अभावका कारण अध्ययन छाड्ने अवस्थामा पुगेका बालबालिकाको शिक्षा दिक्षाका लागि प्रयोग गरिने थपलियाले जानकारी दिए । यो अभियानलाई देशका मुख्यमुख्य शहरमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए ।

डेढ करोडका गाडी ल्याउदै पोखरा जगदम्बा, बस क्रु भएका सवारी असोज १ गतेबाट संचालन

काठमाडौं २१, काठमाडौं । आधुनिक सुविधा सम्पन्न सवारी साधान खरिद गरेर यात्रु सुविधा दिने तयारी पोखरा जगदम्बा ट्राभल्सले गरेको छ । एक वर्षदेखि दुईवटा सुविधासम्पन्न पर्यटक गाडी सञ्चालन गरिरहेको यो ट्राभल्सले आगामी असोज १ गतेबाट संचालन गर्ने गरी थप पाँचवटा आधुनिक सुविधा सम्पन्न सवारी खरिद गर्ने भएको छ । हवाई जहाजमा भएका एयर होस्टेजजस्तै बसमा पनि बस क्रु हुने यस्तो सवारी नेपालकै नमूना सवारी हुन । आगामी असोज १ गतेबाट सञ्चालनको तयारी भइरहेको यस्ता पाँचैवटा गाडीमा भित्रै शौचालय हुनेछ । खाना, चिया तथा कफीका निम्ति टेवुलको सुविधाका साथमा आरामदायी सिट, एयर कण्डिसन, गाडीको सिटमा बस्दा सोफामै बसेको महसुश हुने सहितका सुविधा रहेको पोखरा जगदम्बाले जानकारी दिएको छ । हाल २१ सिट क्षमताको सवारी सञ्चालन गरिरहेको यो कम्पनीले २८ सिट क्षमताको नयाँ गाडी ल्याउने भएको छ । सिट क्षमता बढेकाले सेवा र सुविधा थप भए पनि यात्रुले तिर्ने टिकेट भने ५ सय घटाएर १५ सय रुपैयाँ बनाउने पोखरा जगदम्बा ट्राभल्स तथा मोडर्न इरा टुर्स एन्ड ट्राभलका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । उनका अनुसार जहाजकै सुविधामा पर्यटकीय सवारी भित्रिएको छ । गत वर्ष आएकको सवारीको विश्वसनिय सेवालाई विस्तार गर्दै अझै राम्रो सवारी ल्याउन लागिएको उनको भनाइ छ । पाँचवटा थप गरेर दुईवटा काठमाडौं(पोखरा, दुईवटा विराटनगर—काठमाडौं र एउटा आवश्यकताअनुसारको गन्तव्यमा सञ्चालन गर्ने गरी रुट तय भएको पनि अधिकारीले बताए । आधुनिक सुविधाका यी गाडी एउटैको करिब डेढ करोड रुपैयाँ पर्छ । यस्तो खर्च गरेर एकैपटक पाँचवटा सवारी आउने पक्का भएको पनि उनको भनाइ छ । कम्पनीले विगत आठ वर्षदेखि पोखरा(दिल्लीसम्म नियमित सेवा दिइरहेको छ । यो सवारीले हाल २ हजार रुपैया प्रतियात्रु शुल्क लिँदै आएकोमा अब भने नयाँ गाडिबाट १५ सय रुपैयाँमा नै सेवा दिने बताएको छ । पछिल्लो समय यात्रु सेवामा आधुनिक सुविधा प्रदान गर्दै अरू ट्राभल व्यवसायीले पनि एसीसहित भित्रै ट्वाइलेट भएको गाडी सञ्चालन गर्न थालिसकेको पर्यटक बस व्यवसायी संघले जानकारी दिएको छ । एक हजार रुपैयाँ शुल्क लिएर सुविधासम्पन्न गाडीबाट सेवा दिने कम्पनी हरेक वर्ष बढ्दै गएको पनि संघको भनाइ छ । ग्राण्ड टुर गराउँदै गोचाली ट्राभल अघिल्लो वर्षको भूकम्पपछि नेपालमा चिनियाँ पर्यटकको बजार कम भएकाले स्थलमार्गबाटै चिनियाँ ल्याएर प्रवर्धनको अभियानका निम्ति गोचाली ट्राभल एण्ड टुर्सले ग्राण्ड टुर आयोजना गर्ने भएको छ । यो ट्राभलले आगामी सेप्टेम्बर १३ मा चीनको केरुङबाट रसुवा हुँदै ३५ देखि ६० वटा गाडीमार्फत कम्तीमा १ सय ५० जना पर्यटक ल्याउने भएको छ । आफैं सवारी हाँकेर आउने यो चिनियाँ टोली सीधै बन्दीपुर र पोखरा घुमेर काठमाडौं आउने र सेप्टेम्बर २१ मा फर्कने गरी योजना बनेको गोचालीका प्रबन्ध निर्देशक भागीरथ सापकोटाले बताए ।