टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने, ५२ करोड डलर ऋण प्राप्त

शाङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो । चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ । प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए । चीनमा रहँदा उहाँले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनीया बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए । टेस्लाले चिनियाँ औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ । टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क शेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ । चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ । तर सन् २०१८ मा २।८ प्रतिशतले कार बिक्री घटेको चिनीया अधिकारीहरुले जनाएका छन् । विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ । गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ ।चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन् । रासस/एएफपी

यात्रुबाहक बसहरुमा अझै पनि सिण्डीेकेट जारी छः प्रदेश मन्त्री जम्कट्टेल

काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र व्यबस्थित हुनुपर्ने बताएका छन् । प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धी भएको छलफल कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्र संबेदनशील भएकोले यसबारे सबै गम्भीर हुन जरुरी रहेको स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले व्यबसायीहरुका लागि प्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताए । सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले कार्यदल बनाएर यातायात क्षेत्रको काम गर्ने जानकारी दिए । व्यवसायीहरुले धेरै कुरा राखेको भन्दै अब छिटै नै कार्यदल मार्फत निष्कर्षमा पुगिने पनि बताए । सरकार तथा व्यवसायी दुबैलाई हित हुने काम गर्ने उनको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रि शालिकराम जम्कट्टेलले कम्पनीमा दर्ता भएर यातायात मजदुर तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन आग्रह गरे । उनले मालबाहक सवारीमा सिण्डिकेट नभए पनि यात्रुबाहक बसहरुमा अझै पनि सिण्डीेकेट जारी भएको बताए ।

सिण्डिकेटधारी संघ-समितिलाई सरकारले नै संरक्षण गर्यो: महासंघ

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले सिन्डिकेट प्रणालीलाई खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म यसको कार्यान्वयन पक्षमा चुकेको आरोप लगाएको छ । महासंघले सिण्डिकेट हटाउनको लागि सरकार गम्भीर नभएको र दोहोरो भूमिका निर्वाह गरिरहेको आरोपसमेत लगाएको छ । मंगलबार महासंघले रिपोर्टर्स क्लब नेपालमा ‘नेपालमा सिन्डीकेटरहित यातायात सेवाको आवश्यकत्ता र चुनौती’ बिषयक अन्र्तक्रिया कार्यक्रम गर्दै यस्तो आरोप लगाएको हो । महासंघले सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गरि गुमराहमा राख्नेजस्ता कार्य गरेको पनि गम्भिर आरोप लगाएको छ । सरकारको पछिल्लो कदमप्रति आम उपभोक्ता तथा सिन्डिकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुमा शंका र निराशा पैदा भएको महासंघको ठहर छ । त्यस्तै, पछिल्लो समय यातायात क्षेत्रमा पैदा भएका अन्यौलग्रस्त अवस्थाको अन्त्य गर्न सरकार गम्भीर बन्नु पर्नेमा महासंघको जोड छ । महासंघले पर्यटन प्रर्वद्धन गर्न पर्यटकीय र औद्योगिक क्षेत्र र बढि जनसंख्या भएको स्थानहरुमा पर्याप्त र सुविधासम्पन्न सवारी साधनहरु सञ्चालन गर्नुपर्नेमासमेत जोड दिएको छ । त्यस्तै, यात्रुको हित र सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुमा यात्राको लागि ‘ई–टिकेट’ प्रणालीपनि लागु गर्ने महासंघले विश्वास दिलाएको छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले यातायातको क्षेत्रमा बिभिन्न संघ संगठनहरुको जन्म भएपनि सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय कामहरु नभएको गुनासो पोखे । पछिल्लो समय मुलुकमा सवारी दुर्घटनाहरु बढ्दै गएको भन्दै उनले लाखौं जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस सार्वजनिक यातायात क्षेत्रमा भएको कमिसनतन्त्र, घुसखोरी, माफियातन्त्र, दलाली, यात्रु ठगि, एकाधिकार अधिपत्य र सिन्डिकेटजस्ता विकृति विसंङगतिहरुको अन्त्य हुनुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले नेपालमा सार्वजनिक यातायातको क्षेत्रलाई सिन्डीकेटमुक्त बनाउने, यातायात क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउन आफुहरु लागिपरेको उनको धारणा रहेको थियो । कार्यक्रममा बोल्दै महासंघका महासचिव गणेश उप्रेतीले निजी क्षेत्रको अरर्बौं लगानी र लाखौ मजदुरको प्रत्यक्ष भविष्य जोडिएको उक्त क्षेत्रका समस्याको तुरुन्त राज्यले समाधान गराउनमा लाग्नुपर्ने बताए ।