खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति, १९ थान सुमोको साँचो हस्तान्तरण
काठमाडौं । पुर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरेकाे छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिहं र खोटाङ्गका प्रतिनीधि सभा सदस्यविशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए उक्त कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताएका छन् ।
पोखरामा ३०० सिसिको मोजो बाइकको बिक्री शुरु
पोखरा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् माफर्त बिक्री प्रारम्भ गरेको छ । यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसर मा पौष २७ गतेका देखि सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहकहरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको छ । महिन्द्राको मोजोले आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिन जसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३०एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।
२ लाखमा किनेको कार यसरी बेचिन्छ १४ लाख रुपैयाँमा, ७ लाख सरकारको ढुकुटीमा र ५ लाख व्यापारीको खल्तीमा
काठमाडौं । भारतबाट दुई लाख ७५ हजार नेपाली रुपैयाँमा किनेको कार नेपालमा कति रुपैयाँमा बिक्री होला ? महँगो मूल्य अनुमान गर्नुहोस् । फरक फरक मान्छेको फरक फरक अनुमान हुनसक्छ । नेपाल सरकारले सवारी साधानमा उच्च दरको कर लगाउँछ भन्ने जानकारी भएका मानिसले दुई लाख ७५ हजार रुपैयाँमा किनेको गाडी व्यापारीले कम्तिमा ८ लाख रुपैयाँमा बिक्री गर्ने अनुमान गर्न सक्छन् । यो क्षेत्रको व्यापारलाई राम्ररी बुझेका मानिसले दुई लाख ७५ हजार रुपैयाँमा किनेको गाडी करिव १० लाखमा बिक्री गर्ने अनुमान गर्लान् । तर ती सबै अनुमान सहि हुँदैनन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागका अनुसार दुई लाख ७५ हजार रुपैयाँमा किनेको कार १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री हुने गरेको छ । विभागका अनुसार नेपालको लागि मारुती गाडीको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले दुई लाख ७५ हजार रुपैयाँमा किनेको कारमा २० थरी शिर्षकमा थप रकम जोडेर कम्पनीले १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री गरेको छ । ८ सय सिसिको इञ्जिन भएको मारुतिकोे अल्टो ‘एसटीडी’ नेपालमा २ लाख ७५ हजार ५८० नेपाली रुपैयाँमा भित्रिने गरेको छ । उक्त कार उपभोक्ताले खरिद गर्दा १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री गरेको छ । त्यसमा सरकारले विभिन्न शिर्षकको कर र शुल्कको नाममा ७ लाख २६ हजार ३३९ रुपैयाँ लिने गरेको छ भने व्यापारीको खल्तीमा ४ लाख ३१ हजार ७८८ रुपैयाँ जाने गरेको छ । एक जना उपभोक्तालाई सवा ७ लाख कर विभिन्न शिर्षकका कर र शुल्कको नाम सरकारले एउटा अल्टो कारको उपभोक्तासँग ७ लाख २६ हजार ३३९ रुपैयाँ असुल गर्दै आएको छ । कार आयातमा लाग्ने ७७ दशमलव ६० प्रतिशत भन्सार कर वापत २ लाख २५ हजार १२३ रुपैयाँ, ६० प्रतिशत अन्तशुल्क वापत ३ लाख ९ हजार १३८ रुपैयाँ, १३ प्रतिशत मूल्य अभिवृद्ध कर वापत १ लाख ७ हजार १६८ रुपैया सहित सरकारले ६ लाख ४१ लाख ६१ हजार रुपैयाँ राजश्व लिएको देखिन्छ । त्यसबाहेक सडक शुल्क ६५ हजार २२१ रुपैयाँ, दर्ता तथा प्रदुशण शुल्क ५०० रुपैयाँ, एक वर्षको सवारी धनी कर १९ हजार रुपैयाँ सरकारले लिएको छ । व्यापारीको खल्तीमा सवा ४ लाख नेपालको बजारमा बिक्री हुने कारहरु मध्ये सबैभन्दा सस्तो कार ८०० सीसी क्षमताको मारुती अल्टो हो । सबैभन्दा सस्तो कार बेच्दा पनि प्रति कार व्यापारीको खातामा ४ लाख ३१ हजार ७८८ रुपैयाँ जाने गरेको छ । नेपालको लागि मारुती गाडीको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स हो । यसको मालिक हुन् अरुण चौधरी र उनको छोरा करण चौधरी । उनीहरुको व्यापार कला गज्जबको छ । उनले उपभोक्तासँग विभिन्न १२ वटा शिर्षकमा २ लाख ७८ हजार ५५४ रुपैयाँ अुसल गरेका छन् । त्यसबाहेक आफूलाई नाफा भनेर १ लाख ५३ हजार २४३ रुपैयाँ लिने गरेको विभागले जनाएको छ । (स्कान कपी हेर्नुहोस् ।) उक्त कम्पनीले एउटा कारको ढुवानी खर्च १४ हजार १२० रुपैयाँ, बीमा ४०७ रुपैयाँ, ‘पीपी’ फर्म भरेको १८८ रुपैयाँ, विज्ञापन र मार्केटीङ शुल्क ९६ हजार राखेको छ । सामान्यतय कुनै पनि गाडी उत्पादक कम्पनीले विज्ञापन तथा अन्य बजारीकरणमा लाग्ने खर्च डिलरलाई नगद भुक्तानी दिने गरेको पाइन्छ । तर यस कम्पनीले विज्ञापन तथा मार्केटिङ शुल्क भनेर उपभोक्तासँग अतिरिक्त रकम लिदै आएको भेटिएको छ । कम्पनीले प्रशासनिक र तलब शुल्क ३६ हजार राखेको छ । त्यस्तै बीमा शुल्क ३६ हजार, ब्याज २७ हजार, गाडी राखेको भाडा २० हजार जोडेको छ । गाडी ओसार पसार बीमा, पेट्रोल, मोबिल खर्च, सामुन्द्रिक विमा, हिटर जडान, गाडी चम्काउने पुस्ने लगायतका खर्चहरु जोडेर खरिदबाहेक २ लाख ७८ हजार रुपैयाँ खर्च भएको देखाएको छ । ती सबै खर्च कटाएर कम्पनीले नाफा बापत १ लाख ५३ हजार २४३ रुपैयाँ लिने गरेको छ । गाडी बिक्रेताले चरम ठगी गरेको ग्राहकहरुको उजुरीको आधारमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही हप्ताअघि गरेको अनुगमन गर्दा यस्तो तथ्य खुल्न आएको हो । विभागको अनुसन्धानबाट उपभोक्ता ठगिमा परेको पाइएको छ । अरुण इन्टरकन्टिनेन्टलसहित केही गाडी बिक्रेताको फाइल अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । छिमेकी देश भारतमा १ लाख ७० हजार भारतीय रुपैयाँ पर्ने मोटरलाई नेपालीले करिव १५ लाख रुपैयाँ तिनुपर्दा उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् । तर उपभोक्ताको मर्का व्यापारीले मात्र होइन, सरकारले पनि सुनेको छैन ।