काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै
काठमाडौं । बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ (बिहान ९–११ र साँझ ४–६ बजे) जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ । यातायात क्षेत्रका विज्ञसहितको टोलीले महानगरका कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्यांक संकलन गरेको छ । आयोगको प्रतिवेदनअनुसार उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेका छन् । विज्ञसहितको टोलीले पिक आवरमा चाप बढी हुने क्षेत्रमा गएर सूक्ष्म अध्ययन गरेको काठमाडौं महानगरपालिका सहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले बताए । ‘बिहान ९ देखि ११ र साँझ ४ बजे देखि ६ बजेम्म सवारी चाप धेरै हुने रहेछ,’ उनले भने, ‘त्यही समयमा टोलीले उपयुक्त विधि प्रयोग गरेर सवारी संख्या गिन्ती गरेको हो ।’ टोलीले रत्नपार्कबाट देब्रे र दाहिने मोडिने सवारीको अध्ययन गरेको थियो । देब्रे मोडिनेले जाम नबढाउने, तर दाहिने मोडिनेले जाम बढाएको निष्कर्ष आयोगले निकालेको छ । ट्राफिक प्रहरीसँग छलफल गरेर आसपासमा जथाभावी दाहिने मोड्न नदिने व्यवस्था गर्ने तयारी आयोगको छ । ‘पिक आवरमा एउटा मोटरसाइकल दाहिने मोडिँदा लाग्ने ३० सेकेन्डका कारण तीन सय गाडी रोकिने रहेछन्,’ सुवेदीले भने, ‘त्यसैले अफिस टाइममा जथाभावी दायाँ मोड्न निषेध गर्न ट्राफिक प्रहरीसँग छलफल गर्छौँ ।’ जेब्राक्रसमा मानिसले बाटो काट्दासमेत जाम बढ्ने गरेकाले अर्को चरणमा मानिसले बाटो काट्दा कति जाम बढ्छ भनेर अध्ययन गर्ने उनले बताए । अध्ययनपछि महानगरले फुटपाथ व्यवस्थापन र केही वानवे रोडलाई टुवे बनाउने तयारी थालेको छ । त्यस्तै दाहिने मोड्न नदिने, ट्राफिक आइल्यान्ड थपेर निगरानी बढाउनेलगायत विषयमा सरोकारवाला निकायसँग छलफल र समन्वयको तयारी पनि महानगरले गरेको छ । रत्नपार्क–न्युरोडसहित विभिन्न स्थानमा मोटरसाइकल चल्न दिने कि नदिने, सार्वजनिक सवारीलाई कसरी बढावा दिने भन्ने विषयमा उसले छलफल गर्दैछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
काठमाडौँमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न
काठमाडौँ । काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३को टेष्टराइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए । त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयरपार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन्२०१८को नाडा अटोशो मार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ।
उपत्यकामा राति १० बजेसम्म गाडी, ऐन प्रमाणिकरण पछि लागु हुने
काठमाडौँ । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐनमा महानगरसँग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक र सहचालकलाई पोसाक उपलब्ध गराउने, यात्रुका गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्थासमेत ऐनमा गरिएको जानकारी महानगरका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार सार्वजनिक सवारी साधनमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन ऐनमा त्यस्तो व्यवस्था गरिएको हो । सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार सामग्री अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ । चालकले जथाभावी यात्रु चढाउने र ओराल्ने नगर्ने, अश्लील नबोल्ने, यौनजन्य दुर्व्यवहार नगर्ने, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने दायित्व निर्वाह गर्नुपर्ने र नगरेमा कारबाही हुने व्यवस्थासमेत ऐनमा गरिएको छ । ऐनमा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नहुने, अश्लील बोल्न रोक लगाउने, यौनजन्य हिंसा हुन नदिने दायित्व सहचालकलाई हुने र भएमा कारबाही हुने व्यवस्था राखिएको छ । ऐनमा यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले प्रतिस्थापन गर्नुपर्ने, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था अनिवार्य लागू गरिने भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।