ट्याक्सी सुधारका लागि नाइमाले दियो विकल्पहरू, सिडान एकाधिकारको विरोध
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्नो विस्तृत सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा औपचारिक रूपमा पेश गरेको छ । नाइमाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल कार्यान्वयनमा रहेको मापदण्डले ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ। प्रत्येक वर्गका लागि प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्ट मापदण्ड तोकिएका छन् । मापदण्डअनुसार, ती शर्तहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने व्यवस्था स्पष्ट छ । तर व्यवहारमा बागमती प्रदेशमा हाल सेडानले मात्र ट्याक्सी सेवा सञ्चालनको अनुमति पाएको छ । मापदण्डअनुसार सेडान बाहेकका अन्य उपयोगी र यात्रुमैत्री सवारी साधनहरू पनि ट्याक्सी सेवामा समावेश हुन सक्ने भए पनि हाल त्यसो नहुँदा नाइमाले ध्यानाकर्षण गराएको छ । विविध सवारी वर्गलाई ट्याक्सी सेवामा अनुमति दिँदा सेवा प्रदायकले आवश्यकताअनुसार लचकता पाउने, यात्रुहरूले सुविधा, सामान राख्ने स्थान र अपाङ्गता मैत्री पहुँच पाउने र समूहअनुसार वा परिवारका आवश्यकताअनुसार अतिरिक्त विकल्पहरू उपलब्ध हुने नाइमाले उल्लेख गरेको छ । विज्ञप्तीमा विश्वका विभिन्न देशमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको तथ्यसमेत प्रस्तुत गरिएको छ । नाइमाले नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्प सीमित रहेको र केही अन्य सहरहरूमा फरक वर्गका सवारीसाधनलाई अनुमति दिइएको भए पनि सबैतिर समानता र व्यावहारिकपन नभएको बताएको छ । नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाको पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू पेश गरिएको स्पष्ट पारेको छ । यी सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको बताइएको छ ।
नेपालमै बन्न थाले बाइक, बस र कार
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्र विस्तारै विकासको नयाँ चरणमा प्रवेश गरिरहेको छ । केही वर्षअघिसम्म पूर्ण रूपमा आयातमा निर्भर रहेको अटो बजारमा पछिल्लो समय नेपालमै उत्पादन गरेर बिक्री गरिरहेको छ । विदेशी ब्रान्डका सवारी साधनसँगै नेपालमै एसेम्बल भएका सवारी साधनहरू सडकमा गुड्न थालेपछि अटो क्षेत्रमा मात्र होइन देशको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने विश्लेषण हुन थालेको छ । स्वदेशमै सवारी साधन उत्पादन हुन थालेपछि व्यवसायी र उपभोक्ताको ध्यान पनि स्वदेशी उत्पादनमा गइरहेको छ । नेपालमै बनेका सवारी साधनमा उपभोक्ताको पनि चासो बढ्न थालेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार मोटरसाइकल, कार र बस पनि नेपालमै उत्पादन हुन थालेपछि उपभोक्ताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले अहिले नेपालमै कार एसेम्बल गरिरहेको छ भने बजाज, टीभीएस, होण्डा यामाहा, रोयल इन्फिल्डलगायतले नेपालमा दुईपाँग्रे सवारीसाधन अर्थात् मोटरसाइकल र स्कुटर एसेम्बल गरिरहेका छन् । रोचक कुरा त के छ भने पछिल्लो समय सुन्दर यातायातअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङ प्रालिले पनि नेपालमै बस उत्पादन सुरु गरेको छ । यो कम्पनीले ४० प्रतिशत विदेशी पाटपुर्जा र ६० प्रतिशत पाटपुर्जा नेपालमै बनाएर बस उत्पादन गरिरहेको छ । यस कम्पनीले ५० वटा विद्युतीय बस उत्पादन गरेर सफल परीक्षण पनि गरिसकेको छ । अहिले उत्पादन भएको बस दर्ताको प्रक्रियाको चरणमा रहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । सुन्दर अटो इन्जिनियरिङ कम्पनीका अनुसार बुटवलमा १४ सिटे ५० वटा विद्युतीय बस उत्पादन गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । सुन्दर यातायातले आफ्नै देशमा गाडी उत्पादन गरेर सयौंलाई रोजगारी दिने र नयाँ प्रविधि भित्र्याउने लक्ष्य राखेको छ । सरकारको साथ भएमा ७ दिनभित्र ५० वटा र एक महिनाभित्र ५०० वटा गाडी सडकमा गुडाउन सक्ने दाबी थापाको छ । सुन्दर यातायातले अहिले ‘युरो-६’ को मापदण्डलाई पछ्याउँदै गुणस्तरीय गाडी उत्पादन गरिरहेको थापाको भनाइ छ । स्वदेशी उद्यमीलाई हौसला प्रदान गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन यो परियोजना कोशेढुङ्गा सावित हुने विश्वास थापाको छ । नेपालमा ईभी कार एसेम्बल गर्ने पहिलो व्यावसायिक घराना लक्ष्मी ग्रुप हो भने बाइक एसेम्बल गर्ने पहिलो व्यावसायिक घराना गोल्छा ग्रुप हो । नवलपरासीको रामग्राममा सञ्चालित हुण्डाई गाडीको एसेम्बल प्लान्टमा हालसम्म २ हजारभन्दा बढी ‘मेड इन नेपाल’ हुण्डाई गाडीहरू नेपाली सडकमा गुडिसकेका छन् । सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्छ । नेपालमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् । उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक दीपक थपलियाले जानकारी दिए । थपलियाले विकासन्युजसँग भने, ‘हामीले अहिले भेन्यू र क्रेटा आईस (डिजेल/पेट्रोलबाट चल्ने) गाडी नेपालमै उत्पादन गरिरहेका छौं । नेपाली बजारमा स्वदेशमै एसेम्बल गरेका भेन्यू र क्रेटा छन् ।’ ‘एसेम्बली प्लान्टबाट गाडी निकाल्नुअघि क्लिनिक ट्रायल अनिवार्य हुन्छ । पहिला हामीले पाइलट प्रोडक्सन गर्छौं । त्यसपछि गुणस्तर, सुरक्षा, प्रदर्शन र समग्र उत्पादन क्षमतासम्बन्धी सबै परीक्षण सफलतापूर्वक पूरा भएपछि मात्र मोडेललाई आधिकारिक उत्पादनको रूपमा पास गर्ने गरेका छौं,’ उनले थपे । सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ । लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ । महाप्रबन्धक थपलियाका अनुसार यस प्लान्टको सबैभन्दा गर्विलो पक्ष भनेको यहाँ कार्यरत जनशक्ति हो । सुरुवाती चरणमा तालिम र सेटअपका लागि कोरियाली प्राविधिकहरू आए पनि अहिले प्लान्टमा सतप्रतिशत नेपाली इन्जिनियर र प्राविधिकहरूले नै गाडी एसेम्बल गरिरहेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ३ सय नेपालीले यस उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा कुल कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढी नवलपरासी क्षेत्रका स्थानीय बासिन्दा रहेका छन्, जसले स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा प्रत्यक्ष योगदान दिएको छ । ग्राहकलाई ९ लाखसम्म फाइदा नेपालमै गाडी एसेम्बल हुँदा यसको प्रत्यक्ष फाइदा ग्राहकलाई पुगेको छ । आयातित गाडीको तुलनामा नेपालमा बनेको हुन्डाई ‘भेन्यू’ ४ देखि ५ लाख रुपैयाँ र ‘क्रेटा’ ९ लाख रुपैयाँसम्म सस्तो मूल्यमा उपलब्ध भइरहेको महाप्रबन्धक थपलियाले विकासन्युजलाई जानकारी दिए । सस्तो मूल्य भए पनि गुणस्तरमा भने कुनै सम्झौता नगरिएको उनको दाबी छ । उनका अनुसार हुन्डाईको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै हरेक गाडीको ‘रिगोरस टेस्टिङ’ पछि मात्र सडकमा पठाइने गरिन्छ । ५ वर्षभित्र स्वदेशी पाटपुर्जा प्रयोग गर्ने लक्ष्य हाल भारत र कोरियाबाट कच्चा पदार्थ आयात भइरहे पनि उद्योगले आगामी ५ वर्षभित्र टायर, ब्याट्री, लुब्रिकेन्ट र प्लास्टिकका सामानहरू नेपालमै बनेका प्रयोग गर्ने लक्ष्य राखेको छ । यसले गर्दा नेपालको औद्योगिक क्षेत्रमा थप टेवा पुग्ने र गाडी अझ सस्तो हुन सक्ने थपलियाको भनाइ छ । उद्योगले सरकारलाई अटोमोबाइल क्षेत्रलाई केवल व्यापारको रूपमा मात्र नहेरी उत्पादनमूलक उद्योगको रूपमा हेर्न आग्रह गरेको छ । स्वदेशी उत्पादनलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकता दिनुपर्ने र विद्युतीय गाडी ईभी एसेम्बलका लागि पनि लगानीमैत्री नीति ल्याउनुपर्नेमा उद्योगको जोड छ । हालको कर प्रणालीले तयारी गाडी आयात गर्दा र नेपालमै एसेम्बल गर्दाको लागतमा खासै ठूलो अन्तर नहुँदा ईभी एसेम्बलीमा केही चुनौती देखिएको उनको भनाइ छ । यद्यपि हुण्डाईको यो सफलताले नेपालमा अन्य ठूला ब्रान्डका गाडीहरू पनि एसेम्बल हुने ढोका खोलेको लक्ष्मी ग्रुपको दाबी छ । बाइक र स्कुटरमा एसेम्बलको लहर उपभोक्ताले निकै रुचाइएका बजाज, टीभीएस, यामाहा, सुजुकी, हिरो, होन्डा, रोयल इनफिल्डलगायत ब्रान्डका दुईपाँग्रे सवारी साधनको एसेम्बल अहिले नेपालमै भइरहेको छ । व्यवसायीहरुका अनुसार यी सबै ब्रान्डका सवारीसाधनका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गरिन्छ । बजाजले नवलपरासी रामग्राममै मोटसाइकल एसेम्बल गरिरहेको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीका अनुसार पछिल्लो समय बजाज ब्राण्डका नयाँ जति पनि मोटरसाइकल नेपाली सडकमा गुडिरहेका छन्, ती नेपालमै एसेम्बल भइरहेका हुन् । नेपाली उपभोक्ताले सर्वाधिक रुचाइएको बाइकमध्येमा पर्छ पल्सर । सो मोटरसाइकल पनि नेपालमै उत्पादन हुन्छ । बजाजकै डोमिनार, एभेन्जर, डिस्कभर, र प्लाटिनाजस्ता विभिन्न मोडलहरू पनि नेपालमै एसेम्बल हुन्छन् । त्यस्तै केटीएम डुक पनि नेपालमै एसेम्बल हुन थालेको छ । नेपाली बजारमा बाइकको माग बढ्दै गएपछि कम्पनीले त्यही मागलाई मध्यनजर गर्दै नेपालमै एसेम्बल सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार २०७१ सालमा उद्योग विभागमा दर्ता भएको यो उद्योगले आवश्यक पूर्वाधार र प्रविधि तयार गरी २०७५ सालदेखि एसेम्बलिङ सुरु गरेको थियो । सुरुवाती लगानी २४ करोड रुपैयाँ रहेकोमा हाल एक अर्बभन्दा बढी लगानी भइसकेको कम्पनीको भनाइ छ । यस उद्योगमा २ सय बढी कर्मचारीहरूले काम गरिरहेका छन् । अहिले प्रत्येक दिन १ सय वटा बाइकहरू एसेम्बल भइरहेका छन् भने यसको उत्पादन क्षमता ३ सय रहेको छ । कम्पनीका अनुसार पल्सरको ब्रान्ड स्वदेशमै एसेम्बल हुन थालेपछि उपभोक्ताले सहज उपलब्धता, तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्य र छिटो सेवा-सुविधाको लाभ लिन थालेका छन् । गोल्छा ग्रुपको अटोमोटिभ रिटेल नेटवर्कमा नेपालका ७५ जिल्लाहरूमा १०९ बजाज शोरूम, १४ केटीएम शोरूम र ३० व्यावसायिक सवारी साधन शोरूमहरू छन् । यस्तै, नवलपरासीकै रामग्राममा सञ्चालित यामाहाको प्लान्टले पनि बाइकको एसेम्बल गरिरहेको छ । एमएडब्लु वृद्धि ग्रुपअन्तर्गत एमएडब्लू इन्टरप्राइजेजका अनुसार करिब ८० करोडको लगानी र २ बिघा क्षेत्रफलमा फैलिएको यो प्लान्टले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको बाइक स्वदेशमै उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यस एसेम्बली प्लान्टको वार्षिक उत्पादन क्षमता ६० हजार युनिट रहेको छ । बजारको मागअनुसार उद्योगले दैनिक १०० देखि २०० वटासम्म बाइकहरू तयार गरिरहेको एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक दीपक अग्रवालले जानकारी दिए । उनका अनुसार हाल यस उद्योगले ८० भन्दा बढी नेपाली जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने केही उच्च तहका प्राविधिकहरू मात्र विदेशी रहेका छन् । आयातित बाइकको तुलनामा नेपालमै एसेम्बल भएका यामाहा बाइकहरू करिब १५ देखि २० प्रतिशतसम्म सस्तो हुने उनको दाबी छ । पछिल्लो समय कच्चा पदार्थको मूल्यमा वृद्धि भए पनि स्वदेशमै एसेम्बल हुने भएकाले मूल्य समायोजन गर्न सहज भएको र यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई पुगेको कम्पनीको दाबी छ । नेपालमा बनेको हुनाले गुणस्तरमा कमी आउने हो कि भन्ने आशंकालाई चिर्दै कम्पनीले उत्पादित बाइकहरू जापानमा उत्पादित बाइकहरू जत्तिकै सुरक्षित र भरपर्दो रहेको बताएको छ । अग्रवालका अनुसार यामाहा जापानको प्राविधिक सहकार्यमा सञ्चालित यस प्लान्टमा १०० प्रतिशत पार्टपूर्जाहरू विदेशबाट नै आयात गरिन्छ । गुणस्तर सुनिश्चित गर्नका लागि जापानी प्राविधिकहरूले नियमित रूपमा प्लान्टको अडिट गर्ने र कडाइका साथ गुणस्तर मापदण्ड पालना गर्ने गरिएको उनले जानकारी दिए । कम्पनीले यो व्यापार मात्र नभई उत्पादनमूलक क्षेत्रमा भएको यो लगानीले देशको अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ । आगामी दिनमा नयाँ मोडेलहरू पनि नेपालमै एसेम्बल गर्ने कम्पनीको योजना छ । यस्तै, शंकर समूह ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले पनि बाराको सिमराबाट टीभीएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपाँग्रे टेम्पो एसेम्बल गरिरहेको छ । कम्पनीका अनुसार वि.सं २०७५ सालमा २४ करोड ५५ लाख रुपैयाँ लगानीमा जगदम्बा अटो ग्रुप उद्योग सुरु गरेको थियो । दर्ता भएको १ वर्षपछि एसेम्बल सुरु गरेको जनाएको छ । यस उद्योगले पनि वार्षिक एक लाख मोटरसाइकल तथा स्कुटर र १० हजार तीन पाँग्रे टेम्पो उत्पादन गर्ने क्षमता राख्छ । उद्योगको कुल लगानी करिब १ अर्ब रुपैयाँ कम्पनीको दाबी छ । यस उद्योगले स्वदेशमै उत्पादन बढाउँदै रोजगारी सिर्जना गर्नुका साथै आयातमा निर्भरता घटाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको कम्पनीको भनाइ छ । यस्तै, विशाल ग्रुप समूहअन्तर्गतको भिजी अटोमोबाइल्सले सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटर पर्साको विन्ध्यवासिनीमा एसेम्बल गरिरहेको छ । कम्पनीले विसं २०७८ मा ग्लोबल अटोमोबाइल्स उद्योग दर्ता गरी एसेम्बल सुरु गरेको थियो । कम्पनीका अनुसार उद्योगमा ४६ करोड ४५ लाख रुपैयाँ लगानी भइसकेको छ । सुजुकीका मोटरसाइकल तथा स्कुटरका सबै मोडलहरू स्वदेशमै उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ अन्तर्गतको हिमाल मोटो प्रालिले पनि रुपन्देहीको रोहिणीमा होन्डा ब्राण्डका बाइकहरू एसेम्बल गरिरहेको छ । कम्पनीले १० बिघा जमिनमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट तयार पारेर एसेम्बल गरिरहेको छ । उद्योगको वार्षिक २५ हजार बाइक र ७५ हजार स्कुटर उत्पादन गर्न सक्ने क्षमता छ । एसेम्बल उद्योगमा २ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ अन्तर्गतको हिमाल मोटो प्रालिले पनि रुपन्देहीको रोहिणीबाट होन्ड ब्रान्डका बाइकहरू एसेम्बल गरिरहेको छ । कम्पनीले १० बिघा जमिनमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट तयार पारेर एसेम्बल गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले वार्षिक २५ हजार बाइक र ७५ हजार स्कुटर उत्पादन गर्न सक्ने क्षमता रहेको छ । एसेम्बल उद्योगमा २ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् । त्यस्तै, विगत ४ वर्षदेखि त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड ब्राण्डका मोटसाइकल वीरगञ्जमा एसेम्बल गरिरहेको छ । कम्पनीसँग वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमता छ । यो एसेम्बल प्लान्ट १ लाख वर्गफिटमा फैलिएको छ । उक्त एसेम्बल उद्योग ५० करोड लगानीमा सुरु गरिएको थियो । यो पनि पढ्नूहोस् : अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास
बढ्दो लागत र ट्यारिफको दबाबबीच फक्सवागनले २०२८ सम्म २० प्रतिशत लागत कटौती गर्ने
काठमाडौं । जर्मनीको सवारी निर्माता फक्सवागनले बढ्दो लागत, चीनको चुनौतीपूर्ण बजार र अमेरिकी भन्सार शुल्क (ट्यारिफ) को प्रभावसँग जुध्न आफ्नो वित्तीय अवस्था सुदृढ पार्ने उद्देश्यले २०२८ को अन्त्यसम्म सबै ब्रान्डमा २० प्रतिशत लागत कटौती गर्ने योजना बनाएको छ । मेनेजर म्यागजिनका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‍‌‌ओलिभर ब्लुमे र वित्त प्रमुख अर्नो एन्ट्लिट्जले जनवरी मध्यतिर बर्लिनमा शीर्ष कार्यकारीहरूसँगको बन्द बैठकमा ‘विशाल बचत योजना’ प्रस्तुत गरेका थिए । फक्सवागनका प्रवक्ताका अनुसार कम्पनीले तीन वर्षअघि सबै ब्रान्ड र इकाईमा कार्यक्रम सुरु गरेको थियो र त्यसयता दोहोरो अंकको अर्ब–युरो बराबर बचत हासिल गरिसकेको छ । उक्त कार्यक्रमले अमेरिकी ट्यारिफ जस्ता भू–राजनीतिक दबाबको असर न्यूनीकरण गर्न सहयोग गरेको प्रवक्ताले बताए । बैठकमा बचत कहाँबाट र कसरी गर्ने तथा ब्रान्डबीच सहकार्य कसरी सुधार्ने भन्ने स्पष्ट नभएको मेनेजर म्यागजिनले उल्लेख गरेको छ । कारखाना बन्द गर्ने विकल्प पनि विचाराधीन हुन सक्ने संकेत गरिएको छ । फक्सवागनको वर्क्स काउन्सिल प्रमुख डानिएला काभालाले रिपोर्ट स्वीकार गर्दै २०२४ को अन्त्यमा फक्सवागन एजीसँग भएको सम्झौता सम्झाइन् । उक्त सम्झौतामा प्रतिस्पर्धात्मकता बढाउने र कर्मचारीमा सामाजिक रूपमा स्वीकार्य प्रभाव पार्ने उपायहरूमा सहमति भएको उनले बताइन् । ‘यस सम्झौतामार्फत कारखाना बन्द गर्ने र सञ्चालनसम्बन्धी कारणले कर्मचारी कटौती गर्ने विकल्प स्पष्ट रूपमा अस्वीकार गरिएको छ,’ काभालोले विज्ञप्तिमा भनिन् । युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले २०३० सम्म जर्मनीमा ३५ हजार रोजगारी कटौती गर्ने प्रक्रियामा रहेको छ । यसको मुख्य ब्रान्डले जनवरीमा व्यवस्थापन तहका पद घटाउने र उत्पादन प्लेटफर्म एकीकृत गर्ने योजना सार्वजनिक गर्दै सोही अवधिमा ‘१ अर्ब युरो’ बचत गर्ने लक्ष्य लिएको थियो । प्रवक्ताका अनुसार ब्लुमेले मार्च १० मा हुने वार्षिक नतिजा पत्रकार सम्मेलनमा अद्यावधिक जानकारी दिनेछन् । जर्मन कार निर्माता कम्पनीहरू चीनमा स्थानीय प्रतिस्पर्धीसँग तीव्र मूल्ययुद्धमा प्रतिस्पर्धा गर्नुपर्दा चुनौती सामना गरिरहेका छन् । गत साता मर्सिडिजले आफ्नो अटो डिभिजनको नाफा मार्जिन यस वर्ष अझ घट्न सक्ने चेतावनी दिँदै ‘कडा लागत अनुशासन’ अपनाउने जनाएको थियो । मेनेजर म्यागजिनका अनुसार बैठकमा सहभागी स्रोतलाई उद्धृत गर्दै फक्सवागनको सफ्टवेयरमा खर्च र दहन इन्जिन तथा विद्युतीय ड्राइभको दोहोरो विकासमा हुने लगानी अझै उच्च रहेको छ । वोल्फ्सबर्गस्थित कम्पनीले शुक्रबार दीर्घकालमा अझ दक्ष र कम उत्सर्जन हुने सवारी साधनतर्फको आफ्नो रणनीतिमा प्रतिबद्ध रहेको जनाएको छ ।