लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

काठमाडौं । होलीको अवसर पारेर लुयान नेपालले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक स्कुटरहरूमा नगद छुटदेखि उपहारसम्मका विशेष सुविधा ल्याएको हो ।  अफरअन्तर्गत सारथी ब्राण्डका विँगर र इकुटर स्कुटरको नगद खरिदमा अधिकतम १५ हजार रुपैयाँसम्म छुट प्रदान गरिनेछ । त्यसैगरी लुयान ब्राण्डको एमएनके३ प्रो स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ ।  नगद छुटसँगै ग्राहकले प्रिमियम हेलमेट र रेनकोट पनि उपहारस्वरूप प्राप्त गर्नेछन्। यो अफर कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल लगायत देशभरका अन्य शोरुममार्फत उपलब्ध हुनेछ ।  विगत ७ वर्षदेखि नेपाली बजारमा सक्रिय लुयान नेपाल ले इलेक्ट्रिक स्कुटर बिक्रीसँगै प्रभावकारी बिक्रिपछिको सेवा पनि प्रदान गर्दै आएको छ । सुपथ मूल्यमा गुणस्तरीय स्कुटर उपलब्ध गराउने कम्पनीका रूपमा परिचित लुयान नेपालसँग नेपालमै सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ सेन्टर रहेको दाबी गरिएको छ ।  हाल १ लाख ४० हजारदेखि २ लाख ६१ हजार रुपैयाँसम्मका विभिन्न मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको कम्पनीले आगामी नयाँ वर्षमा करिब ३०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ । उक्त स्कुटरको परीक्षण कार्य हाल जारी रहेको कम्पनीले जनाएको छ । 

१.५ ट्रिलियन डलरको सपना : परीक्षण शून्य, रोबोट्याक्सीमा टेस्ला पछि

काठमाडौं । एक वर्षभन्दा बढी समयदेखि एलन मस्कले बारम्बार राज्य नियामक निकायहरूले स्वीकृति दिएपछि टेस्ला क्यालिफोर्नियामा चालकविहीन रोबोट्याक्सी सेवा सुरु गर्न केही महिनामै तयार हुने बताउँदै आएका छन् । तर राज्यको मोटर वाहन विभाग (डीडब्ल्यूभी) का हालसम्म सार्वजनिक नभएका अभिलेख र एक राज्य प्रवक्ताका अनुसार २०२५ मा टेस्लाले उक्त स्वीकृति पाउन कुनै पहल नै गरेको छैन । अभिलेखअनुसार टेस्लाले गत वर्ष क्यालिफोर्नियामा आफ्नो स्वचालित कारको परीक्षणका लागि एक पनि माइल पनि चलाएको थिएन । यो लगातार छैटौं वर्ष हो, जब टेस्लाले त्यहाँ शून्य माइलको अटोनोमस ड्राइभिङ रिपोर्ट गरेको छ । यसको मतलब कम्पनीले सार्वजनिक सडकमा अटोनोमस मोडमा परीक्षण गतिविधि गरेको छैन । क्यालिफोर्नियाको रोबोट्याक्सी नियामक प्रणालीमा परीक्षण माइलको अभिलेख अत्यन्तै महत्त्वपूर्ण हुन्छ । चालकविहीन राइड–हेलिङ सेवा सञ्चालन गर्नुअघि कम्पनीहरूले विभिन्न चरणका अनुमति लिनुपर्छ । टेस्लाको करिब १.५ ट्रिलियन डलर बजार मूल्यको ठूलो हिस्सा लगानीकर्ताको विश्वासमा आधारित छ कि कम्पनीले छिट्टै विशाल रोबोट्याक्सी फ्लीट सञ्चालन गर्नेछ र लाखौं अटोनोमस–ड्राइभिङ सफ्टवेयर सदस्यता बेच्नेछ । अमेरिकाको सबैभन्दा ठूलो अटो बजार क्यालिफोर्नियामा चालकविहीन सवारी सञ्चालन गर्नु यी महत्त्वाकांक्षाको मुख्य आधार हो । युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका कानुन प्राध्यापक तथा अटोनोमस-ड्राइभिङ विज्ञ तथा क्यालिफोर्निया डीडब्ल्यूभीका सल्लाहकार समेत रहिसकेका ब्रायन्ट वाकर स्मिथ भन्छन्—टेस्लाले ‘हामी तयार छौं, नियामक तयार छैनन्’ भन्ने संकेत दिइरहेको छ जबकि वास्तविकता ‘नियामक तयार छन्, तर टेस्ला तयार छैन’ भन्ने हो । टेस्लाले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अक्टोबरको आम्दानीसम्बन्धी सम्मेलनमा मस्कले विश्लेषकहरूलाई कम्पनी ‘सुरक्षाप्रति अत्यन्त सचेत’ रहेको र नयाँ बजारमा ‘सावधानीपूर्ण दृष्टिकोण’ अपनाउने बताए । ‘हामी चाह्यौं भने यी सहरहरूमा सेवा खुला गर्न सक्थ्यौं,’ उनले भनेका थिए, ‘तर हामी जोखिम लिन चाहँदैनौं ।’ हालसम्म टेस्लाले टेक्सासको अस्टिनमा मात्र सानो पाइलट रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ, जहाँ क्यालिफोर्नियाको तुलनामा नियामक अवरोध कम छन् । सान फ्रान्सिस्को बे एरियामा भने कम्पनीले गत जुलाईदेखि ‘रोबोट्याक्सी’ नाम दिएको सेवा सञ्चालन गरिरहेको छ, तर त्यो वास्तविक रोबोट्याक्सी सेवा होइन । राज्य नियामक र ग्राहकलाई गरिएको खुलासाअनुसार त्यो मानव चालकसहितको चफर सेवा (सवारीसाधन प्रयोग गरेर अरूको काम गर्ने जस्तै (सामान बोक्ने तथा हिँडाइ–ढुवानी गर्ने ) हो, जहाँ चालकहरूले टेस्लाको ‘फुल सेल्फ–ड्राइभिङ’ चालक–सहायता सफ्टवेयर प्रयोग गर्छन्, जुन पूर्ण रूपमा अटोनोमस होइन । क्यालिफोर्नियामा वेमो जस्तै पूर्ण स्वचालित सवारी सञ्चालन गर्न टेस्लाले पहिलो चरणमा राज्यको डीएमभी र सार्वजनिक उपयोगिता आयोगबाट परीक्षण तथा सञ्चालन अनुमति लिनुपर्छ । हालसम्म टेस्लासँग डीएमभीको प्रारम्भिक तहको अनुमति मात्र छ, जसले चालकको सिटमा मानव सुरक्षा अनुगमनकर्तासहित मात्र परीक्षण गर्न अनुमति दिन्छ । डीएमभी प्रवक्ताका अनुसार टेस्लाले थप अनुमति मागेको छैन । प्रस्तावित डीएमभी नियमअनुसार चालकविहीन परीक्षणका लागि आवेदन दिनुअघि कम्पनीले कम्तीमा ५० हजार माइल (८० हजार ४६७ किमि) सार्वजनिक सडकमा मानव सुरक्षा चालकसहित अटोनोमस ड्राइभिङ परीक्षण गर्नुपर्छ । यी नियमहरू यसै वर्ष अन्तिम रूप पाउने अपेक्षा छ । टेस्लाले २०१९ यता राज्य नियामकसमक्ष कुनै परीक्षण माइल अभिलेख गराएको छैन र २०१६ यता जम्मा ५६२ माइल मात्र अभिलेख गरेको छ । तुलनात्मक रूपमा वेमोले २०१४ देखि २०२३ बीच १ करोड ३० लाखभन्दा बढी परीक्षण माइल पूरा गरेको थियो र सातवटा फरक नियामक स्वीकृति प्राप्त गरेको थियो । २०२३ मा उसले चालकविहीन रोबोट्याक्सीमा यात्रुबाट भाडा लिन अनुमति पायो । हाल क्यालिफोर्नियामा व्यावसायिक रूपमा चालकविहीन सवारी सञ्चालन गर्न अनुमति पाएका तीन कम्पनीमध्ये वेमो एक हो र मस्कले परिकल्पना गरेको जस्तै ठूलो रोबोट्याक्सी फ्लीट सञ्चालन गर्न स्वीकृति पाएको एक मात्र कम्पनी हो । गत वर्ष लिखित टिप्पणीमा टेस्लाले क्यालिफोर्निया डीएमभीका प्रस्तावित नियम संशोधनहरूको आलोचना गरेको थियो । राज्य सडकमा परीक्षण र न्यूनतम माइल आवश्यकताको औचित्यमाथि प्रश्न उठाउँदै कम्पनीले दुर्घटना तथा प्रणाली असफलतासम्बन्धी ‘अत्यधिक बोझिलो प्रतिवेदन आवश्यकताहरू’ को गुनासो पनि गरेको थियो । मस्कले प्रायः क्यालिफोर्नियाका नियमहरूलाई रोबोट्याक्सी तैनाथीमा मुख्य अवरोधका रूपमा प्रस्तुत गर्दै आएका छन् । अक्टोबर २०२४ को आम्दानी सम्मेलनमा उनले क्यालिफोर्नियामा ‘निकै लामो नियामक स्वीकृति प्रक्रिया’ रहेको बताए । ‘अर्को वर्ष स्वीकृति नपाए म छक्क पर्नेछु,’ उनले भने, ‘तर यो पूर्ण रूपमा हाम्रो नियन्त्रणमा भने छैन ।’  

अमेरिकी शुल्कको असर : एस्टन मार्टिनले २० प्रतिशतसम्म रोजगारी कटौती गर्ने

काठमाडौं । बेलायती विलासी कार निर्माता एस्टन मार्टिनले अमेरिकी आयात शुल्क र चीनमा कमजोर मागको प्रभावबाट उकासिने प्रयासस्वरूप आफ्नो कार्यबल २० प्रतिशतसम्म घटाउने भएको छ ।  कम्पनीले बुधबार दिएको जानकारीअनुसार करिब ३ हजार कर्मचारी रहेको कुल कार्यबलबाट गरिने यो कटौतीले वार्षिक रूपमा करिब ४० मिलियन पाउन्ड (झन्डै ५४ मिलियन डलर) बचत गराउने अपेक्षा गरिएको छ । कम्पनीले रोजगारी कटौती कहिले लागू गरिने भन्ने स्पष्ट पारेको छैन, तर अधिकांश बचत चालु वर्षमै देखिने जनाएको छ । यो कटौतीमा गत वर्ष घोषणा गरिएको ५ प्रतिशत कमी पनि समावेश छ । एस्टन मार्टिनले विद्युतीय सवारी साधन प्रविधिमा लगानी ढिलाइ गर्दै पाँच वर्षे पुँजीगत खर्च योजना २ अर्ब पाउन्डबाट घटाएर १.७ अर्ब पाउन्डमा झारेको छ । प्रारम्भिक कारोबारमा लगातार नौ सत्रको गिरावटपछि एस्टन मार्टिनका सेयर झन्डै ५ प्रतिशतले बढेका छन् । जेम्स बण्डले चलाउने कार ब्रान्डका रूपमा परिचित एस्टन मार्टिन नगद प्रवाह सुदृढ गर्न र १.३८ अर्ब पाउन्ड ऋण व्यवस्थापन गर्न संघर्षरत रहेको छ । यद्यपि क्यानाडाली अर्बपति तथा अध्यक्ष लरेन्स स्ट्रोलबाट पूँजी प्रवाह र विभिन्न सम्झौतामार्फत कम्पनीले सहयोग पाउँदै आएको छ । कम्पनीका अनुसार अमेरिकी शुल्क ‘अत्यन्त विघटनकारी’  साबित भएका छन् भने विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा माग ‘निक्कै सुस्त’  रहेको छ । एस्टन मार्टिनले २०२६ मा थप नगद बहिर्गमन हुने अपेक्षा गरे पनि वित्तीय प्रदर्शनमा ‘उल्लेखनीय सुधार’  आउने प्रक्षेपण गरेको छ । कम्पनीले उच्च ३० प्रतिशत दायरामा ग्रस मार्जिन र समायोजित ब्याज तथा करअघिको आम्दानी (ईबीआईटी)  ब्रेक–इभन नजिक पुर्‍याउने लक्ष्य राखेको छ, जसमा नयाँ भलहला हाइब्रिड सुपरकारका करिब ५०० डेलिभरीले टेवा दिने अपेक्षा गरिएको छ । कम्पनीले २०२५ मा २५९.२ मिलियन पाउन्ड सञ्चालन घाटा बेहोरेको जनाएको छ । वित्तीय सुधार प्रयासअन्तर्गत कम्पनीले गत साता आफ्नो एस्टन मार्टिन फर्मुला वन टीमको स्थायी ब्रान्डिङ अधिकार ५० मिलियन पाउन्डमा बिक्री गर्ने सम्झौता गरेको छ ।