नेपाली सडकमा ‘यात्री पी-टु’ को सफल परीक्षण, ७ हजार किलोमिटर गुडेको कम्पनीको दाबी
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एकपछि अर्को गर्दै नयाँ क्रान्तिको लहर चलेको छ । पछिल्लो समय नेपालमै बाइक, कार र बस एसेम्बल हुन थालेका छन् । जसमा सिप्रदी ट्रेडिङ्ग र यात्री मोटरसाइकलको सहकार्यमा बनेको इलेक्ट्रिक स्कुटर ‘पी-टु’ को सडक परीक्षण गरिएको छ । नेपालमै डिजाइन र विकास गरिएको यो पहिलो इलेक्ट्रिक स्कुटरले हालसम्म देशका विभिन्न सडकहरूमा ७ हजार किलोमिटरभन्दा बढीको यात्रा सफलतापूर्वक पूरा गरिसकेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ । ‘पी-टु’ स्कुटरलाई सामान्य सहरी सडकमा मात्र नभई नेपालको भौगोलिक विविधताअनुसारका कठिनतम परिस्थितिमा परीक्षण गरिएको कम्पनीको भनाइ छ । कम्पनीले यसलाई काठमाडौंका सडकदेखि नुवाकोट र जिरीका विकट पहाडी उकालो–ओरालो हुँदै हेटौंडा र भरतपुरका समथर तराईका राजमार्गसम्म दौडाएर परीक्षण गरिरहेको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा हालसम्म काठमाडौं, भक्तपुर, नुवाकोट, कुरी, जिरी, मूलकोट, कटारी, हेटौंडा, भरतपुर, राम्दीघाट र वालिङजस्ता १० भन्दा बढी स्थानका सडकमा यसको क्षमता जाँचिएको छ । दैनिक ४०० किलोमिटरभन्दा बढी गुडाएर यसको ब्याट्री पर्फमेन्स, मोटरको शक्ति र समग्र टिकाउपनको गहन परीक्षण भइरहेको यात्रीले जनाएको छ । उसो त ‘यात्री पी-टु’ स्कुटर एक उत्पादन मात्र होइन, यो नेपाली इन्जिनियरिङ, डिजाइन र नवप्रवर्तनको उदाहरण पनि हो । यसअघि ‘पी–जिरो’ र ‘पी-वान’ जस्ता प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेर चर्चा कमाएको यात्रीले ‘पी-टु’ मार्फत आम नेपाली उपभोक्तासम्म पुग्ने लक्ष्य राखेको छ । सिप्रदी कम्पनी र यात्री जस्तो नवप्रवर्तक स्टार्टअपको सहकार्यले यस परियोजनालाई थप विश्वसनीय र शक्तिशाली बनाएको बताइएको छ । यो स्कुटर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसको व्यापक परीक्षणले छिट्टै बजारमा आउने संकेत गरेको छ । नेपाली बजारमा विदेशी ब्रान्डको वर्चस्व रहेको बेला ‘मेड इन नेपाल’ ट्यागसहित आउन लागेको ‘यात्री पी–टु’ लाई नेपाली उपभोक्ताका लागि नयाँ विकल्पका रुपमा हेरिएको छ ।
टाटा कमर्सियलको होली सर्भिस क्याम्प सुरु, स्मार्टफोन पुरस्कार पाइने
काठमाडौं । टाटा कमर्सियलले फाल्गुन १० देखि १५ गतेसम्म होली सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ । यो क्याम्प देशभर सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ । कार्यक्रममा ग्राहकका गाडीको सुरक्षित यात्रा सुनिश्चित गर्न १० वटा प्वाइन्टहरु जाँच सुविधा उपलब्ध गराइनेछ । जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर/व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक, र इमरजेन्सी तथा सेफ्टी सम्बन्धि जाँच समावेश छन् । यदि गाडीमा मर्मत वा संभार आवश्यक परेमा ग्राहकहरूले टाटा जेन्यूइन पार्ट्समा १५–२० प्रतिशत छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट, र लेबर चार्जमा ५० प्रतिशत छुट पाउनेछन् । सर्भिस प्याकेजमा दर्ता भएमा यी सुविधा एक वर्षसम्म उपलब्ध हुने व्यवस्था गरिएको छ । साथै, प्रि-सर्भिस बुकिङ्ग गरी वर्कशपमा आउने भाग्यशाली तीन ग्राहकलाई स्मार्टफोन जित्ने सुनौलो अवसर पनि प्रदान गरिएको छ। कम्पनीले यस अवधिभरमा २००० भन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य लिएको छ ।
एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार
काठमाडौं । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत रकम पठाउने आइएमई लिमिटेडका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई उक्त विद्युतीय कार हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले विजेतालाई बधाई दिँदै आइएमईप्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे । विदेशमा परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको उनले बताए । कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशमा श्रम गरेर आर्जन गरेको रकम स्वदेश पठाउनुका साथै सीप र अनुभव समेत हस्तान्तरण गर्दै उद्यमशीलतामा अघि बढ्ने युवाको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । गत कार्तिकदेखि माघसम्म सञ्चालन गरिएको ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजनाअन्तर्गत एस मनि ट्रान्सफरमार्फत रकम पठाउने सेवाग्राहीहरूलाई लक्की ड्रमा सहभागी गराइएको थियो । सोही योजनाअन्तर्गत दुई जना सेवाग्राहीले आईफोन १६ ई समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । आइएमईले विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट स्वदेश पठाउन प्रोत्साहन गर्ने उद्देश्यले यस्ता विभिन्न योजना तथा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।