अमेरिकी ट्यारिफको मारमा भोल्भो कार, सेयर बजारमा ठूलो पहिरो
काठमाडौं । स्विडेनको भोल्भो कार्सको सेयर बिहीबार २५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । यससँगै कम्पनी इतिहासकै सबैभन्दा खराब एकदिने कारोबारतर्फ उन्मुख भएको छ । चीनको जिली होल्डिङ स्वामित्वमा रहेको उक्त अटोमेकरले चौथो त्रैमासिकमा सञ्चालन नाफामा ठूलो गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार अमेरिकी भन्सार शुल्क (ट्यारिफ), मुद्रा विनिमयदरको नकारात्मक असर र कमजोर मागका कारण नाफा घटेको हो । भोल्भो कार्सले चौथो त्रैमासिक सञ्चालन आम्दानी १.८ अर्ब स्विडिस क्रोना (झन्डै २००.४६ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले कम हो । ‘विशेषगरी चीनमा बजार निकै चुनौतीपूर्ण छ, प्रतिस्पर्धा अत्यन्त कडा छ । युरोपका हाम्रा सबै सहकर्मीहरूले पनि यही समस्या भोगिरहेका छन्,’ भोल्भो कारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाकान सामुएल्सनले भने । उनले अमेरिका र चीनमा विद्युतीय सवारीसाधन (ईभी) मा दिइँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) हटाइनु पनि ‘बाह्य वातावरणलाई अझै चुनौतीपूर्ण बनाउने’ कारण भएको बताए । ‘आन्तरिक रूपमा हामीले लागत घटाउने र सकारात्मक नगद प्रवाह सुनिश्चित गर्ने काम निकै राम्रो गरेका छौं । यही नै वर्षभरि हासिल गरेका सबैभन्दा सकारात्मक उपलब्धि हुन्,’ उनले थपे । पछिल्लो कारोबारमा भोल्भो कारका सेयर २५.५ प्रतिशतले घटेका देखिएका छन् । एकै सत्रमा ११.२ प्रतिशतभन्दा बढी गिरावट आएमा त्यो कम्पनीको इतिहासकै सबैभन्दा खराब कारोबारी दिन हुनेछ । यूबीएसका विश्लेषकहरूले भोल्भो कार्सको नाफा अपेक्षाभन्दा कमजोर रहेकाले सन् २०२६ का लागि ब्याज र कर अघिको आम्दानी (ईबीआईटी) सम्बन्धी वार्षिक अनुमानमा १०–१५ प्रतिशतसम्म कटौती हुनसक्ने बताएका छन् । उनीहरूका अनुसार २०२५ को अन्तिम तीन महिनामा आधारभूत ईबीआईटी मार्जिन झन्डै शून्य प्रतिशत नजिक रहेकाले कटौती अझ बढी हुन सक्ने सम्भावना छ । चुनौतीपूर्ण वर्षको संकेत अमेरिका र युरोपेली संघ (ईयू) ले गत वर्ष जुलाईमा व्यापार सम्झौतासम्बन्धी एक प्रारूपमा सहमति जनाएका थिए । सो सम्झौताअनुसार ट्रम्प प्रशासनले अधिकांश ईयू वस्तुमा १५ प्रतिशतको समान ट्यारिफ लगाएको थियो । यो ट्रम्पले धम्की दिएको ३० प्रतिशतभन्दा धेरै कम हो र युरोपेली अटो क्षेत्रमा लाग्ने ट्यारिफ दरलाई २७.५ प्रतिशतबाट झन्डै आधा बनाएको हो । त्यतिबेला उद्योग समूहहरूले सम्झौतालाई सर्तसहित स्वागत गरे पनि नयाँ ट्यारिफका कारण बढ्ने लागतप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । भोल्भो कार्सलाई लामो समयदेखि अमेरिकी ट्यारिफको सबैभन्दा बढी असर झेल्न सक्ने युरोपेली अटोमेकरमध्ये एक मानिँदै आएको छ । आगामी दिनतर्फ हेर्दा भोल्भो कार्सले आफ्नो नयाँ तथा पूर्ण विद्युतीय ईएक्स ६० मिड–साइज एसयूभीको डेलिभरी वर्षको दोस्रो अर्धभागमा तीव्र बनाइने जनाएको छ । तर कम्पनीले २०२६ पनि चुनौतीपूर्ण वर्ष हुने चेतावनी दिएको छ । निरन्तर मूल्य दबाब, ट्यारिफको असर, नियामकीय अनिश्चितता र उपभोक्ताको कमजोर मनोभावनाले उद्योगलाई थप दबाबमा पार्ने सम्भावना रहेको भोल्भो कार्सको भनाइ छ।
शुक्रबारदेखि पुरानो गाडीसँग नयाँ ओमोडा-जेको साट्न पाइने, के-के छन् अफर ?
काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा सञ्चालन हुने ‘एक्सचेन्ज टु अपग्रेड’ नामक एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । आगामी शुक्रबार (भोलि) देखि २६ गतेसम्म ४ दिन चल्ने विशेष क्याम्पमार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर सेग्मेन्टकै अत्याधुनिक ओमोडा एन्ड जेको गाडी खरिद गर्ने सुनौलो अवसर पाउनेछन् । कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकलाई लक्षित गर्दै आयोजना गरिएको यस क्याम्पमा ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले आकर्षक नगद छुट, विशेष एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक थान एमआइ मोबाइल फोन प्राप्त गर्नेछन् । यसका साथै, कम्पनीले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको ‘बम्पर अफर’ समेत सार्वजनिक गरेको छ, जसले क्याम्पलाई थप रोमाञ्चक बनाएको छ । हाल नेपाली बजारमा ओमोडा एन्ड जेकोका तीन अत्याधुनिक मोडल ओमोडा इ५, जेको जे५ र जेइको जे६ उपलब्ध छन् । यी मोडलहरूको मूल्य क्रमशः ओमोडा इ५को ५४ लाख ९९ हजार, जेइको जे५को ५६ लाख ९९ हजार र जेको जे६को ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली ड्राइभिङ रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले यी गाडीहरू सेग्मेन्टमै अग्रणी मानिन्छन्। क्याम्प अवधिभर सहभागीहरूले ओमोडा एन्ड जेकोका गाडीहरू नजिकबाट अवलोकन र अनुभव गर्न पाउनेछन्, जसले नयाँ पुस्ताको प्रविधि, डिजाइन र परफर्मेन्सको प्रत्यक्ष अनुभूति दिलाउने कम्पनीको विश्वास छ । एसपीजी अटोमोबाइल्स प्रा. लि. नेपालमा ओमोडा, जेको तथा ऋजभचथ ब्रान्डका सवारी साधनहरूको आधिकारिक वितरक हो । उच्च गुणस्तर, दिगोपन र वातावरणमैत्री प्रविधिमा आधारित सवारी साधनहरूको विविध पोर्टफोलियोमार्फत नेपालको हरित ऊर्जातर्फको यात्रालाई गति दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
निर्वाचनका लागि भारतले दियो ६५० गाडी, ५३८ वटा नेपाल भित्रिए
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ । सोमध्ये ५ सय ३८ वटा गाडी नेपाल भित्रिसकेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेको जानकारी दिए । उनका अनुसार अब बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा छन्, जसमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू समेत समावेश छन् । ‘कुल ६ सय ५० गाडीमध्ये ५ सय ३८ वटा आइपुगेका छन्, बाँकी १ सय १२ वटा ठूला गाडी आउन बाँकी नै छन्,’ उनले विकासन्युजसँग भने । यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको प्रवक्ता पाण्डेयले स्पष्ट पारे । निर्वाचन सम्पन्न भएपछि पनि ती गाडीहरू फिर्ता नभई नेपाल सरकारकै विभिन्न निकायहरूले प्रयोग गर्नेछन् । ‘यो निर्वाचनलक्षित अनुदान सहयोग हो । चुनावपछि गाडी फिर्ता गर्ने होइन, नेपालकै सरकारी निकायहरूले प्रयोग गर्नेछन्,’ उनले भने । गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले गाडीहरू चुनावपछि कुन निकायले प्रयोग गर्ने भन्ने विषय आवश्यकताका आधारमा निर्धारण गरिने जानकारी दिइन् । ‘सुरक्षा निकाय वा अन्य सरकारी कार्यालयहरूमध्ये जहाँ गाडीको अभाव छ र जसलाई आवश्यक पर्छ, उसैले प्रयोग गर्नेछ,’ उनले भनिन् । यस सहयोगले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको सूचना अधिकारी आचार्यको भनाइ छ । अर्थ मन्त्रालयले उक्त गाडीहरूका लागि आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरेको थियो । अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा हुनेछ। भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ । हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।