बजेटमार्फत चार पाङ्ग्रे गाडीकाे भन्सार र अन्तःशुल्क घटाउन नाडाकाे सुझाव
काठमाडाैं । नाडा अटाेमाेबाइल एशाेसिएशन अफ नेपाल(नाडा) ले सरकारलाई बजेटमा व्यवसायीक रुपमा प्रयोग हुने चार पाङ्ग्रे सवारी र ढुवानीका साधनकाे भन्सार, अन्तःशुल्क महशुल र सडक मर्मत सुधार शुल्क घटाउन सुझाव दिएकाे छ । नाडाले २०८०/८१ काे बजेट सुझावकाे सन्दर्भमा अर्थमन्त्रालयमा नीतिगत राय सुझावहरु पेश गर्दै यस्ताे सुझाव दिएकाे हाे । सवारीसाधनको आयात खुल्ला बजार नीति अनुरुप बजारलाई प्रतिस्पर्धी बनाई उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपभोग गर्न पाउने व्यवस्था गर्न र पैठारीकर्ताहरुको लगानी कम गर्न अन्य मुलुकमा जस्तै नेपालमा पनि सवारी साधन आयात गर्दा बोन्डेड वेयरहाउसको व्यवस्था गरन नाडाकाे सुझाव छ । ‘भन्सार तथा अन्तःशुल्क महशुल एसेम्बल सरह नलगाई छुट पछिको नेट रेट व्यवस्था गरिनु पर्ने, नेट रेटलाई एचएस कोडमा नै उल्लेख गरेमा एसेम्बली केहि स्थिरताको वातावरण सिर्जना गर्न मद्दत मिल्नेछ,’ सुझावमा भनिएकाे छ । यस्तै, नाडाले सवारी साधन एसेम्बल उद्योगलाई दिँदै आएको ५० प्रतिशत अन्तःशुल्क महशुल छुटको व्यवस्था बजेटको सट्टा ऐन मै स्थायी रुपमा व्यवस्था गर्ने पनि मन्त्रालयलाई सुझाव दिएकाे छ ।
दुई वर्षमा ४ पटक करको दर हेरफेर भयो, इभीको लागि स्थिर नीति चाहियो
नेपाली अटोमोबाइल बजारमा विद्युतिय सवारी कार सेग्मेन्ट अन्तर्गतको परिचित नाम हो ‘बिवाइडी’ । बिवाइडी अटो इन्डष्ट्रीजको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हो साईमेक्स इंक । सो कम्पनीले नेपालमा एटो-३, अल-न्यू इ ६ र एम ३ गरी तीन वटा मोडलका विद्युतिय गाडी बिक्री गर्दै आएको छ । नेपाली सडकमा बिवाइडीका गाडीको उपस्थित बढ्दो क्रममा रहेका छन् भने प्रयोगकर्ताले गाडी रुचाएको पाइन्छ । कम्पनीका अनुसार नेपालमा ४ सयभन्दा बढी बिवाइडीका गाडी बिक्री भैसकेको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीको क्रेज र प्रयोग बढ्दै गइरहेको छ । यसका लागि आवश्यक पूर्वाधार विकास सँगसँगै सरकारले पनि विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । नेपाली बजारमा विद्युती मागको अवस्था, बिवाइडीका आगामी प्रडक्ट, अवलम्बन गर्नुपर्ने नीति, ब्याट्रीको व्यवस्थापन लगायत सन्दर्भमा साईमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठसँग विसकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी । सरकारले विद्युतीय सवारीलाई प्रोत्साहित गर्ने नीति लिएको धेरै वर्ष भयो, अहिले यसको माग र बिक्री कस्तो छ ? नेपाल सरकारले विद्युतिय सवारी निती तथा कार्यक्रम एउटा लिन्छ, बजेट भने अर्काे आउँछ । विद्युतीय सवारीलाई प्रोत्साहित गर्ने भन्नु हुन्छ तर, विद्युतीय सवारीको करको दर समय–समयमा घटबढ भइरहेको छ । यो दुई वर्षमा चार पटक करको दर हेरफेर भइसक्यो । त्यसैले विद्युतिय सवारीको विकासका लागि सरकारले स्थिर करको निति लिनु आवश्यक छ । सरकारले विद्युतिय सवारीको करमा यति वर्षपछि यति करको दर बढाउँछु भन्ने खाका तयारी गर्न जरुरी छ । पटक–पटक करको दर हेरफेरले व्यापारी तथा उपभोक्तालाई गाह्रो भयो । छिमेकी देशको अभ्यास हेर्ने हो भने भारतमा विद्युतिय सवारीको लागि यति वर्षसम्म यति छुट दिने भन्ने निती छ । चाइनाले विद्युतिय सवारीको प्रोत्साहनको लागि सन् २०२० सम्म इभीका गाडीमा अनुदान दिएको थियो । र, २०२० बाट अनुदान हटाउने भनेता पनि थप पाँच थपेर २०२५ सम्म पुर्याइएको छ । सम्भवतः २०२५ सम्म पनि पर्याप्त ईभीको विकास भएन भने पुन थप्न सक्ला । तर, हामीले नेपाल सरकारसँग अनुदान चाहिँ मागेका छैनौं । खालि करको दरमा स्थिर निति लागु गर्नु पर्याे भन्ने मात्र हाम्रो माग हो । अहिले आगामी बजेट आउनु अगावै भन्सारमा गाडी थुप्रिएको सुनिन्छ । यस्तो किन भइरहेको छ ? एक वर्षलाई पुग्ने गाडी एकै चोटि भित्रिन्छ भने कर बढे पनि घटे पनि के फरक पर्याे ? करसँग फरक नै नपर्ने गरी दह्रो बाटो जानु पर्छ । सरकारले विद्युतिय सवारीमा निश्चित समयपछि अथवा २०२५ सम्म यति प्रतिशत कर बढ्छ, यस्तो छुट हुन्छ भने व्यवस्था भयो भने व्यापारीलाई पनि ढुक्क हुनका साथै ईभीको विकास र विस्तारमा थप सहयोग पुग्नेछ । निजि क्षेत्रले यसका पूर्वाधारहरू निर्माणको लागि करोडौं रुपैयाँ खर्च गरिरहेका हुन्छ । भोलि गाडीमा कर बढेर आयात नै गर्न सकिएन भने के गर्ने ? त्यसैले यसमा राज्यको दायित्व पनि उतिकै छ । अहिले बढाइयो भने पनि अबको दुई वर्षसम्म कर बढाउनु भएन भन्ने हाम्रो माग हो । संसारभर नै विद्युतीय सवारीको उच्च माग भइरहेको अवस्थामा नेपालमा पनि यसको माग बढ्दो छ । र, बिक्री पनि भइरहेको छ । विद्युतिय सवारीको प्रयोगले वातावरण मैत्री, खर्च कम, निःशुल्क मर्मतसम्भार जस्ता कुराले मान्छेको आकर्षण यस प्रति बढेको छ । इभी प्रति जनचेतना पनि जागी रहेको छ । सडकमा विद्युतीय सवारीको उपस्थिति दिनहुँ बाक्लो छ, बजारमा बिवाइडीको पोजिसन के हो, हालसम्म कति वटा गाडी बिक्री भए ? नेपाली बजारमा बिवाइडीले सन् २०१७ मा इभीमा फिउल इलेक्ट्रिक भेइकल एसयूवीका गाडी ल्याएको थियो । त्यो गाडीको ग्राउन्ड क्लियरेन्स कम र नेपाल सडकमा उपयुक्त देखिएन । र, हामीले त्यसपछि निति नियम बनाएर प्रमोसनमा लाग्यौं । अहिले बिवाइडीको ग्रोथ राम्रो छ । सन् २०२२ पछि बिवाइडीका गाडी धेरै बिक्री भएका छन् । बिवाइडीका गाडीको माग पनि राम्रो छ भने यस प्रति मान्छेको आकर्षण पनि बढ्दो छ । नेपाली बजारमा बिवाइडीका ४ सय भन्दा बढी गाडी बिक्री भएका छन् । ईभी सेगमेन्टमा हामी तेस्रो स्थानमा छौँ । बिवाइडीका गाडी नै किन रोज्ने ? यसका विशेषता के हुन् ? बिवाइडी गाडी किन रोज्ने भन्ने कुरा मार्केट र यस गाडीका विशेषता बारे सबैलाई थाहा भएकै कुरा हो । स्मार्ट लुक्स र आकर्षक डिजाइन भएकाले पनि यो गाडीमा धेरै रोजेको पाइन्छ । बिवाइडीका गाडी बिलेट ब्याट्री जडान भएको छ । यसको ब्याट्री गुणस्तरले पनि नम्बर वान छ । साथै ब्याट्री आयु पनि लामो छ । हामी बिवाइडीका आफ्नै ब्याट्री, इन्भर्टर, चिफ आदि उपकरणहरू भएकाले पनि विश्वस्त छौं । रेन्जको हिसाबले पनि बिवाइडीका गाडी नम्बर वान छ । कर्जाको व्याज उच्च हुँदा र बैंकमा तरलताको कमी हुँदा गाडीको व्यापारमा कस्तो असर परेको छ ? अहिले हामीलाई ठूलो असर परेको छ । मान्छेले पनि बैंकिङ ब्याज घटेको बेला गाडी किनौं भन्ने मनासाय बनाएका हुन्छन् तर, बैंकको ब्याज बढी भएको बेला गाडी किन्ने आकांक्षा धेरैले राख्दैनन् । त्यसले गर्दा हामीलाई बैंकको ब्याज र सिस्टमले गर्दा अप्ठ्यारो नै परेको छ । मान्छेमा ईभी प्रतिको आकर्षण कस्तो पाउनु भएको छ ? हामीले विद्युतिय सवारी प्रति मान्छेको जन चासो वृद्धि भएको महसुस गरेका छौं । यसमा मान्छेको इनक्वायरी पनि राम्रो छ । धेरैले यसको बारेमा बुझ्नु भएको छ । पहिला अहिलेको तुलामा प्रविधिको विकास र विस्तारले तीव्रता पाइरहेको छ । अहिले उपभोक्ता आफैले हामीलाई यसको बारेमा बुझाउनु हुन्छ । यो ३÷४ वर्षको अवधिमा धेरै परिवर्तन आएको छ । डिजेल अथवा प्रेट्रोलबाट चल्ने गाडीको विकल्पको रूपमा ईभी स्थापित हुन लागेको हो ? अबको भविष्य ईभी नै हो । यहाँ डिजेल तथा प्रेट्रोलबाट चल्ने गाडी पनि बन्दैन, त्यसको चाहिने फिउल पनि बाहिरबाट ल्याउनुपर्छ । त्यसैले अब ईभी वाहेकको विकल्प के होला ? आज टोयोटा, होन्डा जस्ता ठूला ठूला गाडीका कम्पनीले पनि ईभीमा लगानी गरिरहेका छन् । भविष्य ईभीको भएर नै त ति कम्पनीले ईभीमा लगानी गरेका होलान् । हामी बनेका नै गाडीको आयात गरेर यहाँ ल्याइ बेच्ने तथा ट्रेडिङ गर्ने हो । त्यसैले हामीसँग ईभी वाहेको अरू अप्सन छ जस्तो म देख्दिन । अहिले नै यसका लागि आवश्यक निती ल्याएन भने भोलि हामी पछि पर्छौं । किनभने हामीसँग यहाँ निर्माण गर्न सक्ने क्षमता छैन । अहिले हामीलाई ईभीमा जान सजिलो छ । यो प्रविधिलाई सहजै एडप्ट गर्न छिटो सकिन्छ । ईभीका प्रयोगकर्ताहरूले अझै पनि लामो दुरीको यात्रा गर्दा चार्जिङ स्टेसनको कमी भएको टिप्पणी गर्ने गरेका छन्, चार्जिङ स्टेसन नेटवर्क विस्तारमा गाडी व्यवसायीको साझा प्रयास के छन् ? यसतर्फ सरकारको कस्तो भूमिका हुनसक्छ ? म अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को सदस्य पनि हुँ । मैले ईभीका आधिकारिक बिक्रेता कम्पनीहरूसँग चार्जिङ स्टेसन नेटवर्क विस्तारमा इको सिस्टम गरौैं भन्ने कुरालाई जोड दिएको छु । १/१ सय किलोमिटरको दुरीमा एउटा कम्पनीले २० वटा अर्कोले २० वटा चार्जिङ स्टेसन राख्यो भने यसको नेटवर्क विस्तारमा थप सहज हुन्थ्यो । यस्तो इको सिस्टम भयो भने पूर्वदेखि पश्चिमसम्म अथवा ठाउँ–ठाउँमा स्टेसन राख्न पनि मदत पुग्थ्यो भन्ने सोच बनाइ रहेका छौं । र, यो मेरो प्रस्ताव पनि हो । हामीले केही पार्टनरसँग मिलेर यो काम गरिरहेका पनि छौं । एटीएम खोले जसरी नै चार्जिङ स्टेसन पनि निर्माण गरौं भन्ने कुरा पनि उठाइरहेका छौं । एउटा चार्जिङ स्टेसन निर्माणका लागि २०÷२५ लाख रुपैयाँ लाग्छ । लगानी उठ्न पनि निकै समय लाग्छ । गाडी बेचेको नाफाबाट नै ती काम गर्ने हो । यसरी नै काम गरौं भनेर सम्झौता पनि भएको थियो । तर, ब्याजदर बृद्धिका कारण त्यो काम सुस्त भयो । यसको बिस्तारको लागि सरकारको पनि ध्यान उतिकै जरुरी छ । व्यवसायीले यसको नेटर्वक विस्तार गर्न सक्ने प्रयास गरिरहेका छन् । इभीका गाडी मूल्यका हिसाबले महँगो भयो भन्छन् नि ? नेपालमा पहिलो पटक मोबाइल फोन आउँदा लाखौं रुपैयाँ तिरेर सीमित व्यक्तिले सिम कार्ड र फोनको प्रयोग गर्थे । त्यस्तै यो प्रविधि पनि अहिले महँगो छ । धनिले उपभोग गरेर यो टिक्छ, उपयुक्त छ भनी सकेपछि मध्यमदेखि न्यून वर्गसम्म जाने कुरा हो । नयाँ प्रविधि भएको कारण यो महँगो भएको हो । माग बढ्दै गएपछि प्रविधि पनि सस्तो हुँदै जान्छ । पहिला ५० औं हजार डलर पर्ने गाडी अहिले आएर २५ हजार डलरमा आउने भयो । त्यस्तै यो पनि पछि सस्तो हुन सक्ला । सरकारले गाडीको आयातमा कर बढाउँदै गयो भने गाडी पनि कमी आउँदै जान्छ । अनि भन्सारमा गिरावट आउँने कुरा पनि छदैछ । नेपालमा वातावरण प्रदूषणका कारण हजारौं मान्छेको मृत्यु भएको छ । संसारकै सबैभन्दा बढी प्रदूषण हुने शहरको पहिलो सूचिमा काठमाडौं परेको छ । वातावरण प्रदूषणमा कमी ल्याउन भए पनि आज ईभीको आवश्यकता देखिन्छ । समय आएपछि यसको मूल्य घट्ला । ब्याट्रीको भविष्यलाई लिएर इभीको प्रयोगकर्ताहरूमा चिन्ता देखिन्छ । उनीहरूसँग विकल्प के के हुन सक्छन् ? ईभीका प्रयोगकर्ताले ब्याट्रीको भविष्यलाई लिएर चिन्ता गर्नु पर्दैन । धेरै मान्छेमा ईभीका सवारीमा पनि लामो यात्रा गर्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ । हामीले बिवाइडीको गाडीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएका छौं । त्यो समय अगावै ब्याट्री ड्यामेज भए निःशुल्क नयाँ ब्याट्री जडान गरिदिन्छौं । समस्याहरू देखिए भने मर्मत गर्ने व्यवस्था मिलाएका छौं । ईभीमा मात्र हैन, ८ वर्षको अवधिमा इन्जिनका गाडीमा पनि समस्या आउँन सक्छ । बैंकले पनि ईभीको मात्र नभए इन्जिनका गाडीमा ८ वर्ष मात्र फाइनान्स गर्छ । डिजेलका गाडी पनि समस्या आउँदैन भन्न सकिन्न । हामीले करोडौंको पर्ने गाडीको पनि इन्जिनकै बिग्रिएर इन्जिन परिवर्तन गर्दा लाखौं रुपैयाँ खर्च भइरहेको देखेकै कुरा हो । डिजेलका गाडीमा मर्मत तथा इन्धनमा ठूलो रकम खर्च भइरहेको हुन्छ । इन्जिन गाडी तुलनामा विद्युतिय गाडी निकै सस्तो छ । यो नयाँ प्रविधि भएको कारणले यति धेरै कुराहरू आएको हो । ईभी गाडीको ब्याट्री ८ वर्षपछि सस्तो पनि हुन सक्छ । त्यसैले यो सबै एउटा ईभी प्रतिको शंका मात्र हो । यसलाई चिर्दै अगाडि बढ्नुपर्छ । नेपालमा सफा ट्याम्पो चलन थालेको २० औं वर्ष बढी भइसक्यो । त्यो लामो समय देखि चलिरहेको छ भने यो त नयाँ प्रविधि भयो । यसका लागि सबै निकाय तथा व्यवसायी सहकार्य आवश्यक छ । यति मात्र हैन, ईभीको विकास सँगसँगै यसका दक्ष जनशक्ति पनि विकास गर्न आवश्यक छ । हामीलाई विद्युतको चिन्ता छैन । विद्युत हाम्रो घरेलु उत्पादन हो । विद्युतिय सवारीको प्रयोगले विद्युत खपत पनि बढाउँछ । यसलाई प्रोत्साहन गर्याे भने डिजेल र प्रेट्रोल आयातमा पनि कमी आउँछ । त्यसैले विद्युतिय सवारी विकासको मेरुदण्ड हो । सरकारले इभीको प्रोत्साहनको लागि के काम गर्न आवश्यक छ ? इभीको प्रोत्साहन गर्न सरकारले धेरै काम गर्नु आवश्यक छ । ठाउँ ठाउँका पार्किङ स्थलमा चार्जिङ स्टेसन बनाइदिनुपर्यो । त्यसको लागि ठाउँ पनि उपलब्ध गराइदिनु पर्यो । बैंकको चर्को ब्याज आम जनताको लागि उपयुक्त छैन । त्यसैले गाडी किन्दा सरकारले उपयुक्त ब्याजदर निर्धारण गर्ने हो कि ? यसको लागि चाहिने पूर्वाधार विकास र विस्तारमा सहयोग पूर्याउनु पर्यो । अहिले हजारौं युवाहरू रोजगारीको सिलसिलामा विदेश पलायन भइरहेका छन् । उनीहरूलाई ईभीका तालिम तथा सिप सिकाइ पढाउन सक्यो भने उसले राम्रो आम्दानी पनि गर्न सक्छ । संसार आज इभीको विकासमा जुटेको बेला उसले विदेश गएर पनि सहजै रोजगार पाउने भयो । अगामी बजेटमा अटो क्षेत्रका लागि के कस्ता कार्यक्रमको आवश्यकता देख्नु भएको छ ? बजेटमा अटो मोबाइललाई एउटा स्थान दिई कार्यक्रमहरू ल्याइन्छ । आगामी बजेटमा रुटको अध्ययन गरी कुन सवारी कुरा रुटमा सञ्चालन गर्दा उपयुक्त हुन्छ भन्ने कुराको पनि निति अपनाउनु पर्छ । सवारीको क्षमता अनुसार कस्ता गाडी कहाँ चलाउँदा राम्रो हुन्छ भन्ने विषयको अध्ययन पनि आवश्यक छ । बाटो हेरेर गाडी कुदाउनु पर्छ । ईभीका लागि डेल्लीकेटेड रोड दियो भने पीपीपी मोडलमा पनि काम गर्न सकिन्छ । यातायात प्राधिकरण गठन गर्ने भनेको लामो समय भइसक्यो, अझै पनि त्यो दर्ता हुन सकेको छैन । सरकारले यि कुरालाई पनि स्टेप वाइज स्टेप अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । नेपालमा नै विद्युतीय सवारी एसेम्बल गरी बनाउन सक्ने सम्भावना कत्तिको छ ? नेपालमा नै विद्युतीय सवारी एसेम्बल गरी बनाउन सक्ने सम्भावना धेरै छ । चाइनाका बोर्डर केरुङ र तातो पानी नाका साइडका बाटो राम्रो हुने हो भने ७ दिन भित्र गाडी ल्याई ग्राहकलाई दिन सकिन्छ । तत्काल नभए पनि यसलाई बिस्तारै गर्न सकिन्छ । एसेम्बल गर्ने भन्दा पनि अहिले सडकलाई व्यवस्थित गर्न सक्यो भने राम्रो हुन्छ । अहिले कुनै गाडीमा समस्या देखियो भने इलेक्ट्रिक इन्जिनियर खोज्न जानु पर्छ । त्यस्तो अवस्थामा पहिला जनशक्तिको उत्पादन गरी सके पश्चात् यी कुरा पनि कम्रश आउँछ । के थाहा भोलि अन्य देशका गाडी भन्दा राम्रो डिजाइन नेपाली जनशक्तिले बनाउन सक्छन् । अब इलेक्ट्रिक जनशक्ति उत्पादन गर्ने विश्व विद्यालयमा कोर्स हुन आवश्यक रहेको पनि महसुस गरेका छौं । आगामी दिनमा विवाइडी कस्ता गाडी बजारमा आउने छन् ? हामीले सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने सवारी लिएर आउने नै छौं । आगामी दिनमा थप नयाँ प्रडक्ट नेपाली बजारमा ल्याउने नै छौं । बिवाइडीको विद्युतिय बस नेपाली सडकमा चलोेस् भन्ने इच्छा छ ।
टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा
काठमाडौं । टाटा मोटर्सको सिप्रदी ट्रेडिङ्गले ग्राहकको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ । उक्त सोरुमको सिप्रदी ट्रेडिङ्गका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेस चन्द्र संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे । नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् । नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै, उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए ।