मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण हुँदै, काठमाडौंदेखि नुवाकोटसम्मको यात्रा

काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ । मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लक्ष्मी हुन्डाई र बीवाइडीसँगको सहकार्यमा हुन लागेको र्यालीमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने आयोजकले जानकारी दिएको छ । र्यालीको तयारी पुरा भएको जानकारी दिँदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर ¥यालीको तयारी गरेका छौं ।’ घिमिरेको अनुसार र्याली काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । शुक्रबार दिउँसो १ बजे सुरु हुने र्यालीको समापन भने शनिबार गरिने उनले बताए ।

एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडी किन्न सजिलै कर्जा दिने

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाईएको छ । बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन् । यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले बताए । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले बताए ।

पाँच वटा सवारी बिक्दा एउटा विद्युतीय, दैनिक ५० लाख ब्यारेल इन्धन खपत घट्ने

एजेन्सी । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी आइईए सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण एवम् माग बढेकाले ऊर्जा उद्योगमा त्यसले ठूलो प्रभाव पार्नेछ भने चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य गर्नेछ । हाल विश्वमा दश करोड ब्यारेल इन्धन दैनिक रूपमा खपत भइरहेको छ । विश्वव्यापी ऊर्जा अर्थतन्त्रमा विद्युतीय सवारी साधनको द्रुत रूपमा भइरहेको उत्पादनले बढोत्तर भएको आइईएका कार्यकारी निर्देशकले बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी वार्षिक प्रतिवेदनमा यो वर्ष त्यस्ता सवारी साधनको बिक्री ३५ प्रतिशतले बढेर एक करोड चालीस लाख पुग्ने अपेक्षा गरिएको छ । यो सन् २०२० को विद्युतीय सवारी साधनको चार प्रतिशतको बजार हिस्साको तुलनामा १८ प्रतिशतले बढी हो । प्रतिवेदनअनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा बिजुली गाडीको माग अधिक छ । गत वर्ष यस्ता गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो । बिजुली गाडी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि त्यसतर्फ आकर्षित भएकाले आगामी वर्षहरूमा विद्युतीय सवारी साधनको बिक्री बढ्ने अपेक्षा गरिएको छ । सन् २०३० सम्ममा युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ । रासस