३५८ स्थानबाट विद्युतीय सवारी चार्ज गर्न सकिने, पेट्रोल पम्पलाई चार्जिङ स्टेसनमा परिणत गरिँदै

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ईमोबिलिटि अबको भबिष्य भएकाले सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् । सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको भएपनि प्रत्येक वर्षको बजेटमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न नसकेको बताएका हुन् । ‘प्रत्येक वर्षको बजेटमार्फत करका दर हेरफेर हुँदा सवारी व्यवसायीले समेत ढुक्कले लगानी गर्न नसक्दा विद्युतीय सवारीको प्रयोग व्यापक रुपमा बढ्न सकेको छैन्, विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्छ,’ उनले भने । हाल नेपालमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार समेत बन्दै गएको भन्दै आगामी बजेटले विद्युतीय सवारीमैत्री नीतिगत व्यवस्था हुनुपर्ने उनको भनाई छ । उनका अनुसार हाल नेपालमा विद्युतीय सवारी चार्ज गर्नलाई ५८ स्थानमा डिसी र ३०० स्थानमा एसी चार्जर गरी ३५८ स्थानमा चार्जिङ्ग स्टेशन रहेका छन् । खेर गएको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउनुपर्ने उनले बताए । ‘विद्युत प्राधिकरणले ४० वटा डिसी चार्जर सञ्चालनमा ल्याएको छ । राजमार्ग १०० किलोमिटरको दुरीमा स्टेसन भएपनि अझै अपुग छ,’ श्रेष्ठले भने । यस्तै, नाडा अटोमोबाइल एसोसिएसनकी केन्द्रीय सदस्य तथा सामेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अगामी बजेटमार्फत विद्युतीय सवारीमा सरकारले स्थिर नीति लिनुपर्ने बताइन् । स्थिर नीति कम्तिमा २/३ वर्षसम्म कायम हुनुपर्ने र यसबाट नेपालमा विद्युतीय सवारीको संख्या र प्रयोगकर्ता उकालो लाग्ने श्रेष्ठको भनाई छ । ‘सरकारले प्रत्यक बर्ष विद्युतीय सवारी आयातमा कर बढाउने र घटाउने गर्दै आएको छ, अस्थिर नीतिले उपभोक्तामा अन्योलताको अवस्था सिर्जना भएको छ,’ उनले भनिन् । सरकारले लिएको १ सय किलोवाटसम्मका सवारीलाई मात्रै प्रोत्साहन गर्ने नीतिले उच्च क्षमताका सवारीको संख्या नबढेको श्रेष्ठले बताइन् । विद्युत प्राधिकरण र निजी क्षेत्रको संयुक्त सहकार्यमा राष्ट्रिय राजमार्गका ६० देखि ७० किलोमिटर फरकमा चार्जिङ स्टेसनहरु बनिरहेका छन् । यस्तो, अवस्थामा विद्युतीय सवारीको प्रयोग प्रबद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए । उनले विद्युतीय सवारी साधन र इमोबिलिटिलाई प्राथमिकतमा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने मन्त्री ज्वालाको भनाई छ । ‘मैले यहाँ चार्जिङ स्टेसनको पूर्वाधार पनि बन्दै गरेको सुने, विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने बिषयमा सरकार गम्भिर छ,’ मन्त्री ज्वालाले भने । नेपालमा पछिल्लो समय उपभोक्तामा ब्याट्रि र रेन्ज एन्जाइटि समेत घट्दै गएको विज्ञहरुको भनाई छ । ‘केही बर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा इभि प्रतिको बिश्वास बढ्दै गएको छ, यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ,’ विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले भने । विद्युतीय सवारी साधनलाई प्रोहोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभएपनि भन्सार दर कम गर्न सकेमा मात्रपनि विद्युतीय सवारीको बजार बढ्नेमा ज्ञवाली ढुक्क छन् । यस्तै, नेपाल आयल निगम उपनिर्देशक मनोज कुमार ठाकुरले पेट्रोल पम्ममा चार्जिङ स्टेसन राख्न विद्युत प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए । ‘पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न स्ट्यान्डर्ड बनाउनु पर्छ, चार्जिङ स्टेसन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ,’ उनले भने । उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई छ । यस्तै, आन्तरिक राजश्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताए । सरकारले तोकेअनुसारको कर संकलन गरिरहेपनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको प्याकुरेलले बताए । ‘विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेको छ र विश्वको सम्पूर्ण ध्यान नै यसतर्फ केन्द्रीत भएको छ, यहीकारण नेपालले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिन जरुरी छ र, यसबारे विभाग समेत जानकार छ,’ उनले भने । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ विषयमा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोहोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा व्यवसायीहरुले जोड दिएका हुन् ।

देशभर इभीका चार्जिङ स्टेशन राख्ने कार्यक्रम ल्याउनु पर्छ : सीईओ श्रेष्ठ

काठमाडौं । टाटा मोटर्सको नेपाली आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले आगामी बजेटमा देशभर इलेक्ट्रिक भेइकल (इभी) सवारीका चार्जिङ स्टेशन बनाउने योजना ल्याउनु पर्ने बताएका छन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा इभी सवारीको प्रोत्साहनका लागि चाहिने पूर्वाधार तयार गर्नु पर्ने र त्यसका लागि देशभर चार्जिङ स्टेशनहरु निर्माण गर्नु पर्ने कार्यक्रम ल्याउनु पर्ने बताएका हुन् । ‘हामी सबैलाई देशको विकराल अवस्था बारे थाहा नै छ, सरकारी तबरबाट पनि त्यही कुरा भइरहेको छ, हामी पनि अहिले गाह्रो अवस्थामा छौं, त्यसैले अटो सेक्टरलाई आगामी बजेटले सकारात्मक तरिकाले हेर्न आवश्यक छ,’ उनले भने । श्रेष्ठले अहिले अर्बौं रुपैयाँको गाडी भन्सारमा थुप्रिएको विषयलाई बताउँदै दैनिक लाखौं रकम पार्किङमै खर्च भइरहेको बताए । उनले ती गाडी छुटाउन सकिने किसिमको राहत ल्याउनु पर्ने पनि बताए । इभीका सवारीमा सरकारले प्रोत्साहन गरे पनि नीति चाँडो परिवर्तन भएको उनको गुनासो छ । ‘इभीका सवारीको लागि लगानी धेरै चाहिन्छ, इभीका गाडी ल्याएर बेच्ने मात्र होइन, यसमा जुन इको सिस्टम छ, त्यसमा धेरै ठूलो लगानी हुन्छ, यसमा आयातकर्ताले धेरै लगानी गरिसकेका छन्, ‘उनले भने, ‘चार्जिङ स्टेसन, जनशक्ति र पूर्वाधारमा ठूलो लगानी छ, नीति स्थीर भयो भने यो क्षेत्रमा व्यवसायीहरू लगानी गर्न तत्पर हुन्छन् ।’ पछिल्लो समय बैंकले गाडीमा कम लगानी गरेको उनको भनाइ छ । बैंकले सहज तरिकाले गाडीमा लगानी गर्ने वातावरणको सिर्जना गर्ने कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । बैंकको ब्याज घटाउनु पर्ने विषयलाई पनि श्रेष्ठले जोड दिए । ‘अहिले कतिपय व्यवसायी साथीहरूले डिलर बन्द गरेर पलायन भइसके, नेपालको लागि सडक यातायात विकासको मेरुदण्ड भनिन्छ, त्यसैले सोही अनुरूप सरकारले के–के चिजमा सहजता गर्न सक्छ, त्यसमा सहज गरेर यो उद्योगलाई उकास्न तर्फ लाग्नु पर्छ,’ उनले भने । इभीका सवारी मर्मत सम्भारमा चाहिने उपकरणमा सहुलियत दिन सक्यो भने यस क्षेत्रलाई अझै प्रवद्र्धधन गर्न सहयोग पुग्ने उनको विश्वास छ । यस्तै, गाडी आयात गरेर ल्याउँदा फिर्ता लैजाने प्रावधान मिलाउनु पर्ने श्रेष्ठले बताएका छन् । आयात गरेर ल्याइएका गाडी फिर्ता हुने र आगामी बजेटबाट फिर्ता लैजाने प्रावधानको कार्यक्रम समावेश गर्नुपर्ने उनको धारणा छ ।  

कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ

काठमाडौं । पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ । सिप्रदी ट्रेडिङ्गले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री विक्री वितरण गरिरहेको छ । बिक्रि सुरुभएको छोटो समयमा नै गाडी व्यवसायीहरुबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको छ । उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ्ग सहन सक्ने भरपुर क्षमता छ । कम्पनीको अनुसार ‘विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ । म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ । त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदैछ ।’ विशेष खालको पॉलीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने–चर्कने जस्ता समस्याहरू आउँदैन । फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने बताइन्छ । एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभरि रहेका डिलरहरु मार्फत खरिद गर्न सकिन्छ । साथै, ग्राहकहरुले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सकिनेछ ।