जोखिम मोलेरै अटो–शो गर्न लागेका हौं, बजार भाइब्रेट हुने अपेक्षा छ : अध्यक्ष थापा
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले व्यवसायीहरूले जोखिम मोलेल अटोमोवाइल प्रदर्शनी आयोजना गर्न लागेको बताएका छन् । आगामि भदौ २६ गतेदेखि आयोजना हुन लागेको १५ औं अटो शोको बारेमा जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । ‘अवस्था नाजुक भए पनि अटो बजारलाइ भाइब्रेट गराउने उद्देश्यले जोखिम मोलेर प्रदर्शनी आयोजना गर्न लागेका छौं’, थापाले भने । विगतका वर्षहरुमा कुल व्यापारको ४० प्रतिशत प्रदर्शनीबाट र बाँकी बिक्रि हुने गरेको थियो भने बाँकी ६० प्रतिशत अरू १० महिनामा गाडी बिक्री हुने गरेको थापाले बताए । प्रदर्शनीको घोषणा गर्नासाथ अनपेक्षित हिसाबले बुकिङ आएको पनि थापाले बताए । ‘बुकिङ ओपन हुँदा हामीमालाई स्टल बुकिङ नै नहुने हो कि भन्ने शंका थियो । तर, अनुमान भन्दा धेरै राम्रो बुकिङ आएको छ’, थापाले भने । उनले भृकुटी मण्डप सानो र गाडी पार्किङको लागि असहज भएको हुँदा धेरै स्टिल राख्न नसकिएको बताए । नाडाका सचिव एवम अटोशो संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लकहरु रहेको जानकारी दिए । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने बरालले बताए । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सीयल भेइकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने बरालले जानकारी दिए । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्स्पो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोमा आकर्षक विद्युतीय तथा कर्मसियल भेइकलको प्रदर्शनी हुने नाडाले बताएको छ । भिडियो
मोटरहेडको ‘महा चाड महा बचत अफर’ : बाइकमा १ लाख सम्म छुट
काठमाडौं । मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको छ । विगत ७ वर्ष देखि डर्ट, क्याफे रेसर तथा स्क्र्याम्बलर सेगमेन्ट अन्तर्गतका बाइकहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको एसएलआर टेक्नो एन्ड ट्रेडले धोबिघाटस्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । त्यसैगरी उपत्यका बाहिर हाल इटहरी, हेटौंडा, वुटवल, पोखरा, बाग्लुङ्ग, विर्तामोड र कावासोती तथा विकट जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले सो अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेको छ, जसमा २०२१ मोडल इयरका खरिदमा सिधै १ लाख सम्म छुट र २०२२ का मोडलहरुमा २५ हजार देखि ३५ हजार सम्मको छुटको अफर सार्वजनिक गरेको कम्पनीले जनाएकाे छ । यी बाहेक २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ । यो अफर छठ सम्म कायम रहने जानकारी कम्पनीले दिएको छ । हाल नेपाली बजारमा मोटरहेड ब्रान्डका एमएच १५०आर, एक्स–टर्क २२३, टेक्कन २५०, टेक्कन आर २२३, स्पोर्ट्स २२३ र स्क्र्याम्बलर गरी ६ विभिन्न मोडलका बाइकहरु उपलब्ध छन् ।
‘ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ’
काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले ट्याक्सी मिटरमा गुडे/नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गरे । “मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ, ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ”, मन्त्री जुग्जालीले भने, “जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ ।” मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताए । ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उनले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे । मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए । वि.सं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो ।