इटालियन ब्राण्ड ‘एनर्जीका ईजीओ’ नेपाली बजारमा, ५८ लाख पर्ने के–के छन् विशेषता ?
काठमाडौं । एन्ड्युरो मोटर्स कम्पनीले इटालियन ब्राण्डको ‘एनर्जीका ईजीओ’ विद्युतीय मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । एनर्जीका मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता एन्ड्युरो मोटर्सले केही समयअघि इटालियन ब्राण्डको बाइक नेपाल ल्याएको हो । प्रतिघण्टा २४० किलोमिटरको स्पिडमा कुद्न सक्ने यो बाइक तीन भन्दा बढी रङमा उपलब्ध रहेको कम्पनीको मार्केटिङ प्रबन्धक सास्वत रिजालले बताए । बाइकको इन्जिन डीसी भोल्टेज ३०० क्षमताको छ भने बाइकमा लिथियम पोलिमर ब्याट्रीको जडान गरिएको छ । कम्पनीका अनुसार ब्याट्री अधिकतम क्षमता २१.५ किलोवाट र न्यूनतम क्षमता १८.९ किलोवाट छ । कम्पनीले ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी दिएको र ब्याट्री ४० मिनेटमा फूल चार्ज भइसक्ने रिजालले बताए । ‘ईभी बाइकको मोटो इ–रेसिङ विश्वकै एउटा ठूलो इभेन्ट हो, त्यसमा सन् २०२२ सम्म कम्पनीले एनर्जीका ईजीओ बाइक उपलब्ध गराइरहेको छ’, रिजालले भने । ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै ल्याइएको यो बाइक नेपालमा लोकप्रिय हुने विश्वास लिएको कम्पनीले बताएको छ । रिजालका अनुसार यो मोटर साइकलमा विश्वका उत्कृष्ट सामाग्रीहरु प्रयोग भएका छन् । एनर्जीका ईजीओ मोटरसाइलको नेपाली बजारमा ५८ लाख रुपैयाँ मूल्य तोकिएको छ । ‘यो आफैमा महँगो ब्राण्ड हो, जसले सुविधायुक्त र गुणस्तरीय मोटरसाइकल किन्ने सोच्नु भएको छ, उनीहरुको लागि उपयुक्त छ’, रिजालले भने । उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याएसँगै गुणस्तरीय र सुविधायुक्त मोटरसाइकल चाहनेको लागि बुकिङ खुल्ला भएको उनले बताए ।
ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा दिने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स (जिडब्लुएम नेपाल)बीच सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिन भित्र बैंकले नियमानुसार सवारी साधन कर्जा प्रवाह गर्ने सम्झाैता गरेकाे छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भिजि इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले बताएकाे छ । ग्लोबल आइएमई बैंकका ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदान गर्दै आएको छ ।
फुल लोडमा ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो उक्लियो फोटोनको विद्युतीय ट्रक
काठमाडौं । नेपालको पहिलो फोटोनको टीएम वान विद्युतीय ट्रकको पूर्ण क्षमतामा सामान बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो पार गरेको छ । कम्पनीका अनुसार ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा फुल लोड सामान बोकेर सफल परीक्षण गरिएको हो । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको कम्पनीको दाबी छ । उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सहज रुपमा पार गर्न सफल भएको कम्पनीले जनाएको छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले गरिरहेको छ । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ । एक पटकको फुल चार्जमा २८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ । टीएम वान विद्युतीय ट्रक आगामी भदौ २६ गते हुन गइरहेको नाडा अटो सो २०८० मा विशेष अफरका साथ प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।