प्रचण्डले गरे मतदान, रुकुमपूर्व जाँदै
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताए । संयोजक दाहालले भने, ‘समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।’ प्रचण्डले आफूलाई भने भोट हाल्न पाएनन् । उनले मतदान गरेको क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । बिहीबार बिहानै मतदान गरेका प्रचण्ड त्यसपछि रुकुम पूर्व जिल्ला जाने तयारीमा रहेका छन् । उनी उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।
एमाले महासचिव पोखरेलले गरे मतदान
काठमाडौं । शङ्कर पोखरेलले बिहीबार तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा (एमाले) का महासचिवसमेत रहेका पोखरेल दाङ जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनले बिहान मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । देशभर आज प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत वडा नं २९ को मिलन विद्या मन्दिरमा मतदान गरेका छन् । यसैगरी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेका छन् भने अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गरे ।