समानुपातिकतर्फ साढे १२ लाख मतगणना हुँदा काँग्रेस दोस्रो, कुन दलले कति ल्याए ?
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २ लाख १५ हजार २३१, नेकपा (एमाले)ले १ लाख ७२ हजार ४५९, नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार ८५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ३७०, श्रम संस्कृति पार्टीले २२ हजार ३८२, राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८, जनता समाजवादी पार्टीले ५ हजार ३१७ र एकल चिह्न चकिया (जाँतो)ले ५ हजार ८३ मत प्राप्त गरेको छ ।
धादिङ १ मा आशिका तामाङ विजयी, त्रिपाठी र पाण्डे पराजित
काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ विजयी भएकी छिन् । तामाङले ३९ हजार १२८ पाइन् । उनका नजिकका प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठी १५ हजार ३१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले १४ हजार ७०९ मत पाएका छन् । कांग्रेस कृष्ण रिजालको मत १० हजार ८० मत रहेको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा राजेन्द्र पाण्डे विजयी भएका थिए ।
बिना मगरलाई पछि पार्दै कञ्चनपुर-१ मा रास्वपाका धामी निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन् । उनले ११ हजार ११० मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले १ हजार ५६० मत प्राप्त गरे। यो क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो ।