८ लाखले उपत्यका छाड्ने अनुमान, यातायात प्रणाली चुस्त राखिने

काठमाडौं । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ । फागुन २३ गते शनिबार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुने भएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उनकाे भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् । सिटौलाले भने-‘६/७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रुहरु उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँं । जानेक्रम शुरु भइसकेको छ । आम निर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरु समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । करिव ८–९ लाखको हाराहारीमा आआफ्नो गृहजिल्लामा जाने क्रम शुरु भइसकेको छ ।’ उनले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सवारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताए । 

मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ : आयुक्त राणा

काठमाडौं । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन् । उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न अपिल गरे । आयुक्त राणाले भने, 'मौनअवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने पाटोमा आयोग सचेत छ । कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ ।' लोकतन्त्रको आधारस्तम्भ र प्राण वायुका रूपमा रहेको अवधिक निर्वाचन यस पटक भने गत भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनका जग र उपलब्धिका रूपमा हुँदैछ । निर्वाचनको आवधिक अभ्यासबाटै देशको लोकतन्त्र सुदृढ हुन्छ भन्ने मान्यता राखिन्छ । लोकतान्त्रिक राज्य व्यवस्थालाई जीवन्त बनाउन आवधिक निर्वाचन, राजनैतिक संस्कृति र लोकतान्त्रिक संस्कारलाई आधारस्तम्भका रूपमा लिने गरिएको छ । जनताको व्यापक सहभागितामा हुने स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मात्र देशले असल नेतृत्व प्राप्त गर्ने र त्यसमार्फत जनचाहनाअनुरूप सुशासन, विकास र समृद्धिको यात्रा अघि बढ्न सक्ने विश्वास गरिन्छ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्थालगायत विषयमा निर्वाचन आयुक्त राणासँगको अन्तर्वार्ताको सम्पादिन अंश : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आउन केही दिन मात्रै बाँकी छ । निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था कस्तो छ ? निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षा व्यवस्थापनमा करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन् । त्यहीअनुपातमा कर्मचारी पनि अहोरात्र खटिएका छन् । मतपत्र सबै स्थानमा निर्वाचन क्षेत्रमा पुर्‍याइ सकिएको छ । सुरक्षा संयन्त्र सबै मतदान केन्द्र र स्थलका लागि खटिसकेको अवस्था छ । केही दिनभित्रै मतदानस्थल बनाइन्छ । यसबीचमा मतदान अधिकृतहरूको तालिम सम्पन्न भइसकेको छ । उहाँहरू सम्बन्धित स्थानमा पुगिसक्नुभएको छ । मतदातालाई कसरी निर्वाचनमा सभ्य तरिकाले मतदान गर्ने, बदर मत घटाउने भन्ने पक्षमा पनि हामी लागि रहेका छौँ । आचारसंहिता अनुगमनको पनि तीव्र तरिकाले गति बढी रहेको छ । राजनीतिक दल र उम्मेदवार पनि निर्वाचनको प्रतिस्पार्धा तयारी हुनुहुन्छ । चुनाव प्रचारप्रसार उच्च विन्दुमा पुगेको छ । निर्वाचन सम्पन्न गर्न हामी पूर्ण रूपमा तयारीमा छौँ, कुनै समस्या छैन । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन निर्वाचन आयोग र सरकारबीच समन्वय कसरी भइरहेको छ ? यसमा पनि सुरक्षा निकायको विषय आउँछ, नेपाल सरकारको गृहमन्त्रीको अध्यक्षतामा सातवटै प्रदेशमा निर्वाचन सुरक्षा गोष्ठी सम्पन्न भयो । आयोगका तर्फबाट निर्वाचन सुरक्षा समितिको संयोजकका हैसियतले धेरै पटक समितिको बैठक बसालेर निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी आवश्यक सम्बोधन गरिसकेको अवस्था छ । नेपाल सरकारसँग अत्यन्त प्रभावकारी समन्वय भइरहेको छ । वर्तमान सरकारको मुख्य जिम्मेवारी र कार्यादेश नै निर्वाचन हो । निर्वाचन आयोगको पनि मुख्य जिम्मेवारी निर्वाचन सञ्चालन, रेखदेख र नियमन गर्ने हो । त्यसकारण सरकार र आयोग दुवै पक्ष निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध छ । आसन्न निर्वाचन प्रचारप्रसारका हिसाबले उच्च विन्दुमा पुगेको छ । राजनीतिक दल र उम्मेदवारले यस बेला केकस्ता विषयमा बढी ध्यान पुर्‍याउन आवश्यक छ ? राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना होस् भन्ने हाम्रो मुख्य अपेक्षा हो । पर्सि १८ गते बेलुकीदेखि मौनअवधि अर्थात् स्थिर समय सुरु हुन्छ । विगतका निर्वाचनमा प्रचारप्रसारका बेला भौतिकरूपमा आचारसंहिता उल्लङ्घनका घटना बढी देखिन्थे । भित्ते लेखन, निर्वाचन चिह्न अङ्कित टोपी र सर्टजस्ता सामग्रीको प्रयोग घटेको छ । तर सामाजिक सञ्जालमा आचारसंहिता उल्लङ्घन बढेको छ । त्यसलाई नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जाल प्लेटफर्महरू, साइबर ब्यूरो र अरु सुरक्षा निकायको प्राविधिक र प्रविधि प्रयोग तथा समन्वयमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो तुल्याउन लागि आयोग लागि परेको छ । आयोगको अपेक्षा उम्मेदवार र राजनीतिक दल पनि एक अर्कामा आरोप प्रत्यारोप नगरुन् भन्ने छ । निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न लागि परौँ, त्यसका लागि सभ्य तरिकाले निर्वाचन प्रचारप्रसार गरौँ भन्ने छ । मतदाता शिक्षाका विषयमा केकस्तो प्रतिक्रिया प्राप्त भएको छ ? मतदाता शिक्षा भर्खरै सुरु गरिएको छ । मतदाता शिक्षाको घरदैलो कार्यक्रम प्रचलित थियो । अघिल्लो निर्वाचनमा रोकियो । अमुक उम्मेदवार र दलले आफ्नो मात्रै प्रचार गरेको भन्ने गुनासो आयो । नेपाल सरकारको पैसा लक्षित उद्देश्यमा प्रयोग भएन भन्ने गुनासोपछि त्यस बेला रोकियो । तर अहिले आममतदाताबाट फेरि ज्यादै माग भएपछि मतदाता शिक्षामा स्थानीय गाउँबस्तीसम्म पुग्नेगरी स्वयंसेविका खटाएर प्रचारप्रसार गरिएको छ, पक्कै यस पटक त्यसको नतिजा राम्रै आउँला । निर्वाचनपछि मात्रै थाहा हुन्छ, बदरमतको प्रतिशत कति घट्यो भन्ने तर अहिले त्यसको प्रतिक्रिया राम्रै आएको छ । निर्वाचनको आचारसंहिता पालनामा अहिलेसम्म देखिएका चुनौती केकस्ता छन् ? अहिले निर्वाचनको समयमा देखिएको मुख्य चुनौती भनेको सामाजिक सञ्जाल र एआइको दुरूपयोग हो । निर्वाचनमा असल नतिजाका लागि सकारात्मक रूपमा प्रयोग हुनुपर्ने प्रविधि आरोप–प्रत्यारोप र भ्रामक सामग्री फैलाउन प्रयोग भइरहेको छ । उदाहरणका लागि त्यसमार्फत उम्मेदवारले प्रचारप्रसार गर्ने, सही मतदाता शिक्षा दिई सकारात्मक नतिजा ल्याउन सकिन्थ्यो तर यहाँ आरोपप्रत्यारोमा बढी प्रयोग भइरहेको देखिन्छ । आयोगले यसलाई नियन्त्रण गर्न प्रविधि र प्राविधिक टोली परिचालन गरेको छ । विशेषगरी टिकटकसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने सामग्री छिटो हटाउने व्यवस्था गरिएको छ । यद्यपि अघिल्ला निर्वाचनका तुलनामा निर्वाचन सभ्य ढङ्गबाट अघि बढिरहेको छ । निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेल रोक्न के तयारी गरिएको छ ? निर्वाचनमा मौनअवधि भनेको राजनीतिक दल र उम्मेदवारलाई शान्त रहन तथा थकाइ मार्न उपलब्ध गराइएको समय हो । यो अवधि मतदातालाई पनि स्वतन्त्र रूपमा निर्णय लिन सकुन भन्नका लागि हो । यस अवधिमा मतदातालाई निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले प्रभावमा पार्छन् कि भन्ने पाटोमा आयोग सचेत छ । यस अवधिमा हुनसक्ने कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरिएको छ । विशेष निगरानीको व्यवस्था मिलाइएको छ । बदर मत घटाउन तथा सदर मत प्रतिशत बढाउन मतदाताले के कुरामा ध्यान दिनुपर्छ ? यसमा जनचेतनाको पाटो छ, आखिर मत हाल्ने मतदाताले नै हो । हुन त विगतका निर्वाचनको कुरा गर्ने हो भने शिक्षित जनप्रतिनिधिले समेत आफ्ना अभिभावक छान्ने राष्ट्रपति र राष्ट्रियसभाको निर्वाचनमा पनि मत बदर भएको इतिहास छ । मतदाताले मतपत्रमा स्पष्ट रूपमा निर्वाचन चिह्नको कोठाभित्र मात्र स्वस्तिक छाप लगाउनुपर्छ । मतपत्र सही तरिकाले फोल्ड गर्न पनि ध्यान दिनुपर्छ । आयोगले मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरेको छ र डिजिटल माध्यमबाट पनि सचेतना अभियान सञ्चालन भइरहेको छ । यसपटक बदर मत घट्ने आशा गरेका छौँ । मतदान व्यवस्थापनका सन्दर्भमा के–कस्ता व्यवस्था गरिएको छ ? एक हजार मतदाता सङ्ख्या भएको ठाउँमा एउटा केन्द्र बनाइएको छ । त्योभन्दा माथि हुनासाथ अर्काे मतदान केन्द्रको व्यवस्था थप गरिएको छ । सकेसम्म वृद्ध, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बिरामी मतदातालाई प्राथमिकता दिइने छ । उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोगगरी मतदातालाई सहज वातावरण प्रदान गर्ने प्रयास गरिएको छ । सबै मतदातालाई आफ्नो अमूल्य मतदानको प्रयोग गर्न आह्वान गर्न चाहन्छु । विगतमा मतगणना ढिलो भयो भन्ने गुनासो रहँदै आएकोमा यसपटक त्यो दोहरिन नदिन केकस्तो तयारी र व्यवस्थापन मिलाइएको छ ? मतगणनालाई छिटो बनाउन यसपटक आवश्यक जनशक्ति बढाइएको छ । यद्यपि हामीसँग मतगणनाका लागि स्वचालित मेसिन प्रणाली छैन । म्यानुअल प्रणालीमै मतगणना हुनेछ । भौगोलिक अवस्थाका कारण कतिपय जिल्लामा मतपेटिका सङ्कलन गरी केन्द्रसम्म ल्याइ पुर्‍याउन पनि केही समय लाग्न सक्छ, तर जनशक्ति व्यवस्थापन सुधार गरेर प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने प्रयास गरिएको छ । अन्त्यमा, मतदाताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ? मतदाताले आफ्नो मतदान गर्ने अधिकार प्रयोग गर्नुपर्छ । यो सामान्य निर्वाचन होइन, विशेष परिस्थितिमा हुन लागेको महत्त्वपूर्ण निर्वाचन हो । देशलाई निकास दिन, लोकतन्त्रलाई सुदृढ बनाउन, नागरिकलाई बलियो बनाउन तथा समाजलाई विकास र समृद्ध तुल्याउन योग्य उम्मेदवारको छनोट गर्नुपर्छ । त्यसका लागि यही फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा मतदान गर्न म सम्पूर्ण मतदातालाई अपिल गर्दछु । रासस

काठमाडौं-१ मा १२५ मत हारको बदला लिने रणनीतिमा रविन्द्र, अनिर्णित मतले बदल्न सक्छ समीकरण

काठमाडौं । ट्वाक-ट्वाक, ट्वाक-ट्वाक सुकुम्बासी बस्तीभित्रबाट आइरहेको यो आवाज बागमती पारिको बाटोसम्म सुनिन्थ्यो । स्थानीय दुर्गाबहादुर राईले काठको बाकसमा काँटी ठोक्दै गर्दा आएको ध्वनि थियो यो । हामीले त्यही आवाजलाई पछ्यायौं र पुग्यौं बागमती किनारमै रहेको सुकुम्वासी बस्तीमा ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेको काठमाडौं महानगरपालिका ३१ को बागमती नदी किनाराको सुकुम्बासी बस्तीमा विगत २५ वर्षदेखि बस्दै आएका ६७ वर्षीय दुर्गाबहादुर राईले नयाँ आउने हरेकसँग भन्ने गरेका छन्, ‘सरकारले स्थायी बसोबास कहिले बनाइदेला ?’ उनले हामीसँग पनि त्यही गुनासो राखे । हामीले उनलाई निर्वाचनबारे सोध्यौं । उनको मतदानको मनसाय बुझ्यौं । जवाफमा उनले भने, ‘उम्मेदवारहरू घरदैलो गर्दै र गाडीमा झण्डा हल्लाउँदै मत माग्न आइरहेका छन् । स्थायी बसोबासको प्रबन्ध गर्ने दल र उम्मेदवारले हाम्रो मत पाउनेछ ।’ दुर्गाबहादुर राई । धेरै उम्मेदवारले बस्तीको समाधान गर्ने भने पनि कसैले केही नगरेको गुनासो राईको छ । ‘हामी मत दिन्छौं । मत पाएकाहरू डोजर लिएर हाम्रो बस्ती भत्काउन आउँछन्,’ उनले गुनासो गर्दै भने ।  राईका अनुसार उनले अघिल्लो निर्वाचनमा रुख चिन्हमा मत दिएका थिए । तर, उनले यस पटक मत परिवर्तन गर्ने सोच राखेका छन् । ‘मत परिवर्तन गरेर जसले हाम्रो जीवन सुधार्नेछ, त्यसलाई हाम्रो मत सुम्पनेछौं,’ उनले भने । उनले यस पटक सूर्यमा मतदान गर्ने योजना रहेको सुनाए ।  सुकुम्बासी बस्तीमै बसिरहेकी तीन महिलासँग हामीले कुराकानी गर्यौं । उनीहरू  चुनावी माहोलसँग परिचित देखिए । २५ वर्षीया रोजिता सुब्बा व्यवस्थित बसोबास र शिक्षा–स्वास्थ्य सुविधा दिने दललाई मत दिने बताउँछिन् । उनले गत स्थानीय निर्वाचनमा लौरो चिन्ह लिएर उम्मेदवार बनेका र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता रहेका बालेन्द्र शाहलाई मत दिएको सुनाइन् ।  रोजिताले भनिन्, ‘मत बदलिए पनि दुःख नबदलिएकोले यस पटक नयाँ दललाई भोट दिनेछौं ।’ उनले यसपटक माटो चिन्हका नेताहरू बस्तीमा घुमिरहेकोले आफ्नो मत माटोमा हुने दिने बताइन् । पूर्वी धरानका निवर्तमान मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको प्रभाव बागमतीको सुकुम्वासी बस्तीमा पनि परेको देखियो ।  रोजिताको एउटै आग्रह छ- ‘यो थात र बास नगुमोस् । अनि कामका लागि विदेश जानुपर्ने बाध्यता हटोस् ।’ अनिता भण्डारी (४० वर्ष) पनि विगत २० वर्षदेखि यही सुकुम्वासी बस्तीमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘यो बस्ती जसले उठाउँदैन, त्यही उम्मेदवारलाई मत दिने हो ।’ उनले जिताएर पठाएपछि नेताहरू डोजर लिएर बस्तीमा आएको तीतो अनुभव पोखिन् ।  बागमती किनारको सुकुम्वासी बस्ती ।  ‘गत स्थानीय निर्वाचनमा नयाँ भनेर बालेनलाई जिताइयो । जितेको अर्को दिन उनै बालेन डोजर लिएर बस्ती भत्काउन आइपुगे,’ निराश हुँदै उनले भनिन्, ‘गरिबलाई हेर्ने नेता जो छ, उसैलाई मत दिने हो ।’ उनले भने कसलाई मत दिने भन्ने कुरामा निर्णय गरिसकेकी छैनन् ।  सुकुम्वासी बस्तीकै टीका विश्वकर्माको गुनासो पनि त्यही छ । उनी भन्छिन्, ‘दुई छाक खान विदेश जानुपर्ने बाध्यता हटोस्, स्वास्थ्य र शिक्षा निःशुल्क भए देश छोड्न बाध्य हुनेहरू कम हुने थिए । चुनावमा भोट दिइयो । तर, विजयी भएपछि कोही फर्केर आएनन् । सबै नेता आफूलाई मात्र महत्त्व दिन्छन् ।’ पूर्णबहादुर मगर (६६ वर्ष) जसले सानो घुम्ती पसल चलाउँछन् । उनले पनि यस पटक मत परिवर्तन गर्ने योजना बनाएका छन् । उनले भने, ‘देश र जनतालाई माया गर्ने नेता कोही भएनन् । भ्रष्टाचारमा लिप्त नेता मात्र छन् । हामीले विचार गरेर मत हाल्ने हो ।’  ६४ वर्षीय डम्बर बहादुर मगरले यसअघि पुराना दललाई मत दिएको भए पनि यस पटक नयाँ दललाई दिने प्रतिवद्धता व्यक्त गरे । उनको योजना रास्वपालाई मत हाल्ने छ ।  अर्का स्थानीय जंगबहादुर लिम्बुले जवान हुँदा राज्यसँग आशा नगरे पनि उमेर ढल्कदै जाँदा राज्यसँग आशा लागेको दाबी गरे । उनले वृद्धभत्ता दिने पार्टीका रुपमा एमालेलाई बुझेका छन् । त्यसैले आफूले एमालेलाई मतदान गर्ने उनले सुनाए ।  क्रमशः डम्बरबहादुर मगर र जंगबहादुर लिम्बु ।  ५४ वर्षीय धनेश्वर लिम्बुले माओवादीलाई स्थायी बसोबासको श्रेय दिन्छन् । उनले भने, ‘माओवादीले विपन्न र अल्पसंख्यकको मुद्दा स्थापित गरेको छ । अन्य दलले खासै केही गर्न सकेका छैनन्, त्यसैले म तारामा मतदान गर्छु।’ ४८ वर्षीय दीपक भुजेलले भने, ‘सुकुम्बासी बस्तीका मुद्दा उठाउने काम एमालेले गरेको छ । यहाँको कुल १५ सय मतमध्ये एक हजार मत एमालेलाई जाने निश्चित छ ।’   हामी सुकुम्वासी बस्तीपछि यस क्षेत्रकै पुरानो बस्ती घट्टेकुलोतर्फ लाग्यौं । दिपेन श्रेष्ठ (४४ वर्ष) घट्टेकुलोमा किराना पसल चलाउँछन् । उनले अझैसम्म निर्वाचनको माहोल नबनेको बताए । श्रेष्ठले सोचेर मतदान गर्ने बताए ।  पिपलबोट नजिकै कपडा पसल सञ्चालन गर्दै आएका रामकृष्ण गैरेले पुराना र प्रगतिशील दलमा मत जाने संकेत गरे ।  घट्टेकुलोका प्रमोदराज काफ्लेले (४९ वर्ष) भने यसपटक खुलेर हलोमा मतदान गर्ने बताए । उनको जस्तै मत छ गिरीलाल श्रेष्ठ (५१ वर्ष) को पनि । श्रेष्ठ राजसंस्थाले स्पेस पाउने र सबै अटाउने व्यवस्थाका लागि आफूले हलोमा मत दिने बताए ।  नयाँ बानेश्वरका बाबुराम आचार्यले हरेक निर्वाचनमा नेपाली कांग्रेसमा मत दिइरहेकोले यस पटक पनि सोही पार्टीलाई मत दिने धारणा राखे ।  शंखमूलका ५४ वर्षीय प्रभात श्रेष्ठले पुराना दलमा विश्वास कमजोर बन्दै गर्दा आफू पनि सच्चिएको र देशलाई सही ट्र्याकमा लैजान सक्ने पार्टी कांग्रेसलाई मत दिने बताए ।   अर्का स्थानीय मुकुन्द श्रेष्ठ (६३ वर्ष) ले पनि मत सोचेर मात्र दिने बताए । उनले भने, ‘हामीले आफ्नै सम्झेर दल र नेतालाई मत दिन्छौं । तर विजयी भएपछि नेता यहाँ फर्किँदैनन्, अब त केही सोच्नुपर्छ ।’ मतदाताको प्राथमिकता सुकुम्वासी बस्तीका मतदाताको प्रथमिकतामा स्थायी बसोबास, रोजगारी, शिक्षा र स्वास्थ्य रहेका छन् । उनीहरू भन्छन्, ‘पार्टी र उम्मेदवारहरूले चुनावको बेला जे–जे प्रतिबद्धता जनाउँछन् त्यो गरून् । अनावश्यक आशा देखाएर निराश नपारून् ।’ यस क्षेत्रमा रहेका १० नम्बर वडा शंखमूल र ३१ नम्बर वडाको सिनामंगल क्षेत्रमा ठुलो संख्यामा सुकुम्वासीहरू बस्छन् । यी बस्तीमा २ हजार ५ सय जति मतदाता रहेको सुकुम्वासी नेताहरू बताउँछन् । मध्य बानेश्वर, नयाँ बानेश्वर, घट्टेकुलो र बुद्धनगर आसपासका मतदाता भने भ्रष्टाचार नहोस्, सरकारी कार्यालयमा सहजरूपमा काम होस् भन्ने चाहन्छन् ।  शंखमूलका बाबुराम पाण्डे (५९ वर्ष) अपर्याप्त कानुनहरू बनाउने र बनेका कानुनहरू सशक्तरूपमा कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्न सक्ने उम्मेदवारलाई मत दिने बताउँछन् ।  बुद्धनगरका नारायण रेग्मी (५० वर्ष) पनि प्रतिनिधि सभा सदस्यले वडाध्यक्षले जस्तो विकास निर्माणका मुद्दा लिएर मतदातामा जान नहुने दाबी गर्छन् । उनी भन्छन् ‘सरकारको विकेन्द्रीकरण र संघीयता अनुरूप अरू सरकार विकास निर्माणमा लाग्ने र संघीय संसद कानुन बनाउन र संघीय सरकार कानुन कार्यान्वयनमा लाग्नुपर्छ।’ मतदातासँग कुराकानी गर्दै विकासन्युजकर्मी पुष्पलाल पाण्डे ।  शंखमूलका मुकुन्द श्रेष्ठ (६३ वर्ष) पनि आफूलाई केही नचाहिने सरकारले पारदर्शिता कायम गर्दै आफूहरूजस्ता व्यवसायीलाई कर तिर्न उत्साहित गर्नुपर्ने बताउँछन् । पाण्डे, रेग्मी र श्रेष्ठ तीनै जनाले पुराना दललाई नै मतदान गर्ने बताए पनि कुन दललाई भन्ने खुलाएनन् । पुराना दलको आलोचना गर्ने नयाँ मतदाताले भने नयाँ दलमा विश्वास राखेका छन् । उनीहरूको एउटै विकल्पका रूपमा रास्वपा देखिएको छ भने कतिपयले हर्क साम्पाङको श्रम संस्कृतिको नाम पनि लिएका छन् ।  कतिपय मतदाताले पुराना दलको संगठन र इतिहासलाई आधार मानेर मतदान गर्ने योजना बनाएका छन् । हामीले भेटेका मतदाताले आफ्नो जीवन सुधार्ने आशाले मात्र मतदान गर्ने तयारी गरेको बताएका छन् । चार दलको तीव्र प्रतिस्पर्धा, मिश्र अगाडि  काठमाडौं-१ नेपाली कांग्रेसका तत्कालीन सभापति तथा अन्तरिम प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई र एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारीले प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र हो । २०४८ को आम चुनावमा तत्कालीन प्रधानमन्त्री तथा २०१५ सालको प्रतिनिधि सभाका सभामुख भट्टराईलाई पराजित गर्दै एमालेका भण्डारीले प्रतिनिधि सभामा डेब्यू गरेका थिए । २०५१ को मध्यावधिमा पनि एमालेले नै जित्यो । यसै निर्वाचन क्षेत्रबाट विजयी बनेका एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए । २०५६ मा पनि एमालेले यस क्षेत्रमा जित निकालेको थियो ।  एमालेका प्रदीप नेपालले जितेको यस क्षेत्रमा ०६४ मा भने कांग्रेसले बाजी मार्‍यो । यो क्षेत्रबाट ०६४ देखि ०७०, ०७४ र ०७९ मा कांग्रेसका प्रकाशमान सिंहले जित हासिल गरेका थिए । २०७९ को चुनावमा यो क्षेत्रमा राप्रपाका उम्मेदवार रविन्द्र मिश्र झिनो मतले पराजित भएका थिए । यो क्षेत्रबाट अहिले मिश्रबाहेक अरू सबै उम्मेदवार नयाँ छन् । यस पटकको निर्वाचनमा यो क्षेत्रमा ४ दलको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि चार पटकको विजेता नेपाली कांग्रेसले जितलाई नै निरन्तरता दिने गरी अगाडि बढिरहेको देखिन्छ । कांग्रेस उम्मेदवार प्रवल थापाले स्थायित्व र विकासका लागि आफूले जित्ने बताउँछन् । एमाले पनि १८ वर्षदेखि गुमेको विरासत फर्काउने रणनीतिमा छ । यसअघिका निर्वाचनमा रणनैतिक कमजोरीका कारण पराजय भोगेको दाबी एमाले उम्मेदवार मोहनराज रेग्मीको छ ।  राप्रपाका उम्मेदवार रविन्द्र मिश्र कांग्रेस र एमालेबाट जनता आजित भएको र केही नयाँ भनिनेहरूप्रति विश्वास नरहेकोले यस पटकको जनअनुमोदन आफ्नो पक्षमा हुने दाबी गर्छन् । रास्वपाकी रञ्जु दर्शना देशैभरको माहोल र काठमाडौंका चेतनशील मतदाताको मत आफ्नो पक्षमा हुने ठोकुवा गर्छिन् ।  यस क्षेत्रका मतदाता रहेका रामकृष्ण गैरेले एमालेमा संगठनको बल रहेको, कांग्रेसमा पुराना मतदाताको रुझान रहेको, रास्वपाप्रति युवाहरूको आकर्षण देखिएको र राप्रपासँग स्थानीय बौद्धिक समुदायको समर्थन भएकोले यसैले जित्ला भन्न नसकिने बताउँछन् । हामीले भेटेका मतदाताको मत सर्वेक्षण र गरेको कुराकानीको विश्लेषणले पनि ठ्याक्कै एउटै उम्मेदवारको पक्षमा जनमत गएको देखाएन । एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारभन्दा झिनो मतले राप्रपाका मिश्र अगाडि देखिए पनि उनले लिएको अग्रता जितका लागि पर्याप्त देखिँदैन । हामीले भेटेकामध्ये २३ प्रतिशत मतदाताले राप्रपा रोज्ने बताएका छन् । राप्रपा रोज्ने मतदाता ५० वर्ष आसपास या त्योभन्दा माथिको उमेर समूहका देखिएका छन् ।  रुख र घण्टीमा मतदान गर्ने मतदाता समान २१/२१ प्रतिशत देखिएका छन् । यो समूहमा सबै जसो उमेर समुहका मतदाता भेटिएका छन् । सूर्यमा मतदान गर्ने मतदाता २० प्रतिशत रहेका छन् । यस समूहमा मतदान गर्नेमा सुकुम्वासी बस्तीका मतदाता धेरै देखिन्छन् । ३१ नम्बर २९ नम्बर वडामा भने सूर्यमा मतदान गर्ने मतदाता धेरै भेटिए ।  काठमाडौंमा अन्यत्र नदेखिएको दृश्य यस क्षेत्रमा देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारले प्राप्त गर्ने मत श्रम संस्कृति पार्टीलाई मतदान गर्ने मतदाता बराबर देखिए । समान ४/४ प्रतिशत मतदाताले यी दुई पार्टीलाई रोजेका छन् । हामीसँग संवाद गरेका ५ प्रतिशत मतदाताले कसलाई मत दिने भनेर निर्णय नगरेको बताएका छन् भने २ प्रतिशत मतदाताले अन्य दल र स्वतन्त्र उम्मेदवारलाई मत दिने बताएका छन् । अन्तिम समयसम्म अनिर्णित रहेको ५ प्रतिशत मत जहाँ जान्छ त्यही उम्मेदवारले जित्ने सम्भावना बढी छ । यदि त्यो म विभाजित भएर गएको खण्डमा राप्रपाका उम्मेदवार मिश्र अगाडि बढ्ने देखिन्छ । यी हुन् अन्य उम्मेदवार यस निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपालले प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीले रमिला ज्याख्व, प्रजातन्त्रिक लोकतान्त्रिक पार्टीले सविन सिग्देल र श्रम संस्कृति पार्टीले समीर लामा तामाङलाई उम्मेदवार बनाएका छन् ।   मितेरी पार्टी नेपालले राज कुमार लिम्बु र  धनराज शाही नेपाल कम्युनिष्ट पार्टी माओवादीवाट उम्मेदवार बनेका छन् । मंगल लाल श्रेष्ठ उज्यालो नेपाल पार्टी, इन्द्र प्रसाद श्रेष्ठ राष्ट्रिय मुक्ति पार्टी नेपाल, अर्जुनबहादुर शाही नेपाल जनसेवा पार्टी सुरेन्द्र पाण्डे समावेशी समाजवादी पार्टी र कमल सुवेदी जनादेश पार्टी नेपालवाट उम्मेदवार बनेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारहरूमा असिममान सिंह बस्न्यात,  कमल कोइराला,  किरण शाह, कुमार शाही,  कुशल खत्री, रमेश प्रसाद जोशी र  राज कुमार बजगाई रहेका छन् । यस्तै, राजु भुजेल, शम्भु पोख्रेल, शान्ति श्रेष्ठ, सागर जोशी, सुरेन्द्र प्रसाद ढकाल र संगीता बम पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।  काठमाडौं-१ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ रहेका छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल ४८ हजार ४८९ मतदाता रहेका छन् । जसमध्ये पुरुष २३ हजार २३७ र महिला २५ हजार २५२ जना छन् । मतदान स्थल २२ र मतदान केन्द्र ५७ वटा रहेका छन् ।