सेनाको हेलिकोप्टरबाट मतपत्रसहित १० प्रकारका सामग्री हुम्ला आइपुगे
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई मार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए । नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइ सकिएको तथा आवश्यकताका आधार आयोगले थप काम गर्दै जानेछ । ३ हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने-जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्ने गरी आयोगमा कुरा भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति अधिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकाया लगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो निर्वाचनका लागि ३६९ कर्मचारी परिचालन मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ३६९ कर्मचारी परिचालन गरेको छ । जिल्लाका १५ मतदान केन्द्रका लागि पाँच-पाँच कर्मचारी ७५ जना र अरु बाँकी ४९ मतदान केन्द्रमा छ-छ कर्मचारी गरी २९४ कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए । जिल्लाका ६४ मतदान केन्द्रमध्ये ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा धेरै मतदाता भएका केन्द्रमा छ-छ जना खटाइएको छ । यसमा दुई मतदान अधिकृत र दुई सहायक मतदान अधिकृतलाई जगेडामा राखिएको छ । यदि कुनै कारणवश आउन नसकेको खण्डमा उनीहरूलाई पठाउन जगेडामा राखिएको उनको भनाइ छ । यस्तै अदालतका श्रेस्तेदार तथा सहायक मतदान अधिकृत श्रीदीप वाग्लेको संयोजकत्वमा तीन जनालाई प्रशासनिक कामको जिम्मेवारी दिएको छ । जिल्ला अदालतका नासु छत्त बहादुर बोगटीलाई प्रशासनिक काम र लेखापाल श्याम प्रसाद सापकोटालाई लेखा तथा भुक्तानीका लागि जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बरालका अनुसार जिल्लाको ६४ मतदान केन्द्रमा ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको छ ।
हानिकारक सूचना फैलाउने २९० कन्टेन्ट उत्पादकविरुद्ध साइबर ब्यूरोमा उजुरी
६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी काठमाडौं । निर्वाचनलाई बढी भन्दा बढी सहभागितामुलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ । आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ । यस्तै, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम प्रयास गरिरहेको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ । हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ ।
‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस्’
सन् २०२६ को फेब्रुअरी महिना दक्षिण एशियाको राजनीतिक इतिहासमा एउटा यस्तो मोड बन्यो जसलाई आगामी धेरै वर्षसम्म सम्झिइनेछ । बंगलादेशमा भर्खरै सम्पन्न आम निर्वाचनको नतिजाले सत्ता समीकरण मात्र बदलेको छैन यसले हाम्रो जस्तो विकासोन्मुख र भूराजनीतिक चेपुवामा परेका देशहरूको सोच्ने तरिका नै बदलिदिएको छ । लामो समय शासन गरेकी शेख हसिना देश छोडेर हिँडेपछि सडकमा देखिएको त्यो अभूतपूर्व जोस र जेन जी भनिने नयाँ पुस्ताको आन्दोलन देख्दा धेरैलाई लागेको थियो अब बंगलादेश पूरै नयाँ हातमा जान्छ र अब पुरानाको दिन गए । तर जब ब्यालेट बाकस खुल्यो कथाले अर्कै मोड लियो । सडक तताउन जति सजिलो थियो सरकार चलाउने विश्वास दिलाउन त्योभन्दा कयौं गुणा गाह्रो रहेछ भन्ने कुरा यो चुनावले छर्लङ्ग पारिदिएको छ । १८ वर्षदेखि विदेशमा निर्वासित जीवन बिताएका तारिक रहमानको पार्टीले भारी बहुमत ल्याउनु र क्रान्तिको नेतृत्व गरेका नाहिद इस्लामजस्ता नयाँ अनुहारहरू जम्मा ६ सिटमा खुम्चिनु चानचुने कुरा होइन । यो नतिजाले नेपालको राजनीतिलाई पनि ऐना देखाइदिएको छ र थुप्रै अनुत्तरित प्रश्नहरूको जवाफ दिएको छ । नेपालका लागि राजनीति बुझ्ने मौका बंगलादेशको यो घटनाबाट नेपालले सिक्नैपर्ने पहिलो र गम्भीर कुरा भनेको ‘भरोसाको संकट’ हो । पुराना नेतालाई गाली गरेर वा उनीहरूको पुत्ला जलाएर वा व्यवस्था खराब भयो भनेर सडकमा मान्छे जम्मा गर्न सकिन्छ त्यो एउटा कला हो । तर भोलि बिहान उठेर देशको अर्थतन्त्र कसरी चलाउने अनि परराष्ट्र सम्बन्ध कसरी सुधार्ने भन्ने स्पष्ट नक्शा नहुँदा जनताले नयाँलाई पनि पत्याउँदा रहेनछन् । बंगलादेशका नयाँ पिँढीले आन्दोलन त गरे तर शेख मुजिबुर रहमानको ऐतिहासिक सालिक तोड्ने वा प्रधानमन्त्रीको घर लुट्ने र फरक मत राख्नेमाथि जाइलाग्ने जस्ता काम गरेर उनीहरूले जनतालाई तर्साए । ती दृश्यहरू हेर्दा आम नागरिक र मध्यमवर्गीय परिवारलाई लाग्यो यिनीहरूको हातमा देश पर्यो भने त भोलि झन् भद्रगोल हुन्छ र कानूनको शासन नै रहँदैन । त्यसैले जनताले बरु पुरानै भएपनि वा अलिकति दाग लागेकै भएपनि अनुभव भएको पार्टीलाई भोट दिए । नेपालमा पनि अहिले उदाएका नयाँ दल वा स्वतन्त्रहरूले यो कुरा बेलैमा बुझ्नुपर्छ । गालीको भरमा र नो नट अगेन भनेर एकपटक ताली त बज्ला तर भोट पाउन र राजनीतिमा टिकिरहन परिपक्वता चाहिन्छ । स्टन्ट र लाइभ भिडियो वा भाइरल कन्टेन्टले मात्रै चुनाव जितिने र देश चल्ने भए बंगलादेशका ती युवाहरूले आज सरकार चलाइरहेका हुन्थे र प्रतिपक्षमा बस्नु पर्दैन थियो । विचारको अस्पष्टता र गठबन्धनको पासो अर्को महत्त्वपूर्ण पाटो भनेको विचार र नैतिकताको हो । चुनाव जित्नकै लागि बंगलादेशको नयाँ पार्टीले आफ्नो आदर्श बिर्सेर कट्टरपन्थी मानिने जमात ए इस्लामीसँग घाँटी जोड्यो । यसले सहरका पढेलेखेका र उदार तथा प्रगतिशील मान्छेहरू भड्किए । उनीहरूलाई लाग्यो हिजो लोकतन्त्रको कुरा गर्नेहरू आज किन अतिवादसँग मिल्दैछन् भन्ने प्रश्न उठ्यो । नेपालमा पनि सत्ताको लागि जोसँग पनि मिल्ने र जसरी पनि सरकारमा जाने चलन छ । तर जनता लाटा छैनन् । कुरा र काम नमिलेपछि जनताले कसरी ठेगान लगाइदिन्छन् भन्ने यो राम्रो उदाहरण हो । नयाँ शक्तिहरूले आफ्नो मौलिकता गुमाउनु हुँदैन । पुराना दलको विकल्प दिन्छु भनेर आएकाहरूले पुरानै शैली र गलत तत्त्वसँग सम्झौता गरे भने उनीहरूको आयु लामो हुँदैन । राजनीतिमा सर्टकट खोज्दा गन्तव्यमा पुग्न सकिँदैन भन्ने पाठ ढाकाको नतिजाले सिकाएको छ । युनुसको आक्षेप र तारिकको कुटनीतिक परिपक्वता यही राजनीतिक संक्रमणका बीचमा अन्तरिम सरकार चलाएका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको भुमिका र उनको बोलीको पनि समीक्षा हुन जरुरी छ । उनी अर्थशास्त्रका विद्वान त हुन् तर राजनीतिज्ञ होइनन् भन्ने कुरा उनको राजीनामा दिने बेलाको बोलीले देखायो । देशको आन्तरिक सुरक्षा र व्यवस्थापन सम्हाल्न नसकेपछि उनले निकै घुमाउरो तर आपत्तिजनक पाराले छिमेकी देश भारतलाई दोष दिएर उम्किन खोजे । नेपालको राजनीतिमा पनि नागरिक सरकारका मन्त्रीहरुले दिएको अभिव्यक्तिहरु जिम्मेवार देखिँदैनन् । बंगलादेशको सरकार प्रमुख भएको/जिम्मेवार पदमा बसेको मान्छेले आफ्नो असफलता र कमजोरी लुकाउन छिमेकीलाई गाली गर्नु वा षड्यन्त्रको सिद्धान्त अघि सार्नु कुटनीतिक अपरिपक्वता थियो । उनको त्यो बोलीले दुई देशको सम्बन्धमा अनावश्यक चिसोपना ल्यायो । तर ठिक यसको विपरित चुनाव जितेर आएका अनुभवी नेता तारिक रहमानले भने गज्जबको परिपक्वता देखाए । उनले जितेलगत्तै दिएको अभिव्यक्ति निकै सन्तुलित थियो । उनले हाम्रा लागि दिल्ली र पिण्डी अर्थात भारत र पाकिस्तान दुवैसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण छ तर हाम्रो पहिलो प्राथमिकता भनेको बंगलादेशको हित हो भने । उनले भारतसँगको तितो इतिहास वा सीमाको समस्या कोट्याएर सम्बन्ध बिगार्न चाहेनन् न त पाकिस्तानसँगको निकटता देखाएर भारतलाई चिढ्याउन नै चाहे । नेपालका नेताहरूले सिक्नुपर्ने मुख्य कुरा यही हो । भोट माग्नलाई र कार्यकर्ता उचाल्नलाई भारतलाई गाली गर्ने अनि सत्तामा पुगेपछि लम्पसार पर्ने हाम्रो बानीले राष्ट्रको हित गर्दैन । तारिकले जस्तै शब्द चयनमा संयमित र व्यवहारमा सन्तुलित हुन सक्नुपर्छ । भूगोलको बाध्यता र छिमेकीको यथार्थ हामीले बिर्सन नहुने अर्को ठूलो र पेचिलो सत्य के हो भने छिमेकी फेर्न सकिन्न । नेपाल होस् वा बंगलादेश वा भूटान होस् वा श्रीलंका हामी सबै दक्षिण एशियाको यो भूगोलमा भारतको प्रभाव क्षेत्र भित्र वा वरिपरि छौं । हाम्रो क्षेत्रमा राजनीति फेरिएको छ । भारत र भूटान बाहेकक देशमा सरकारहरु फेरिएका छन् । नयाँ र फरक प्राथमिकता आएका छन् तर छिमेक फेरिएको छैन । यो कसैको रहर होइन भूगोलले कोरिदिएको बाध्यता हो । श्रीलंकाले चीनतिर ढल्किएर भारतलाई चिढ्याउँदा कस्तो आर्थिक संकट भोग्नुपर्यो वा माल्दिभ्समा इण्डिया आउट भन्दा पर्यटन र अर्थतन्त्रमा कस्तो असर प¥यो हामीले आफ्नै आँखाले देखिसकेका छौं । बंगलादेश पनि तीन तिरबाट भारतले घेरिएको छ। उसले भारतसँग मिलेर नहिँडी वा भारतको सुरक्षा चासोलाई सम्बोधन नगरी सुखै छैन । यो सत्यलाई बंगलादेशका जनताले बुझेका छन् । सम्भवतः बिएनपीलाई रोज्नुको पछाडी भूगोल र छिमेकको यथार्थ बुझेर पनि हो । नयाँ शक्ति भनेकाले सम्बन्ध बनाउनुको साटो बिगार्ने देखे पछि मत बदलिएको हुनुपर्छ । नेपालको सत्यता पनि ठ्याक्कै त्यही हो । हामीले जतिसुकै चर्को स्वरमा राष्ट्रवादको कुरा गरे पनि अन्ततः हाम्रो भान्सामा पाक्ने नुनदेखि सुनसम्म र बिरामीले खाने औषधिदेखि गाडी चल्ने इन्धनसम्म भारतकै बाटो भएर आउने हो । त्यसैले भारतको जायज सुरक्षा चासोलाई बेवास्ता गरेर वा उसलाई जिस्क्याएर हामीले विकास गर्न सक्दैनौं । छिमेकीसँग झगडा गरेर घरमा शान्ति हुँदैन र व्यापार पनि चल्दैन भन्ने यथार्थ बुझ्न अब ढिला गर्नुहुँदैन । भारतसँग हाम्रा समस्या छन् र सीमाका विवाद छन् तर ती समस्यालाई टेबुलमा बसेर हल गर्ने हो सडकमा टायर बालेर वा सामाजिक सञ्जालमा गाली गरेर होइन । त्रिपक्षीय साझा मुद्दा र क्षेत्रीय सहकार्यको बाटो दक्षिण एशियाको बदलिँदो राजनीतिक परिदृश्यमा नेपाल भारत र बंगलादेशले एक्लाएक्लै हिँड्नसक्ने अवस्था छैन । त्रिपक्षीय सहकार्यमा जोड दिनु अपरिहार्य भइसकेको छ । यी तीन देशहरू भूगोल संस्कृति नदीनाला र अर्थतन्त्रले एकअर्कासँग यसरी जोडिएका छन् कि एउटाको समस्या अर्कोको समस्या बन्न पुग्छ । यस्तो अवस्थामा एकअर्काको समस्यालाई अवसरमा परिणत गर्दै साझा हितमा अगाडि बढ्नु नै बुद्धिमानी हो । त्रिपक्षीय सहकार्यको शुरुवात ऊर्जा क्षेत्रबाट हुनुपर्छ किनभने यो क्षेत्रले तीनै देशको अर्थतन्त्रलाई सीधै असर गर्छ । ऊर्जा सहकार्य तीन देशको लागि सबैभन्दा महत्वपूर्ण साझा मुद्दा पनि हो । नेपालसँग जलविद्युतको अपार सम्भावना छ भने बंगलादेशमा ऊर्जाको चरम अभाव छ र यी दुई देशको बीचमा भारत अवस्थित छ । भारतको प्रशारण लाइन प्रयोग नगरी नेपालको बिजुली बंगलादेश पुग्न सक्दैन । तसर्थ नेपालले भारतलाई विश्वासमा लिएर बंगलादेशसम्मको ऊर्जा व्यापारलाई त्रिदेशीय रणनीतिको मुख्य अंग बनाउनुपर्छ । यसले नेपाललाई आफ्नो जलविद्युतको बजार विस्तार गर्न मद्दत गर्छ बंगलादेशलाई विश्वसनीय ऊर्जा आपूर्ति सुनिश्चित गर्छ र भारतलाई क्षेत्रीय ऊर्जा हबको रूपमा स्थापित गर्न सहयोग पुग्छ । यो त्रिपक्षीय ऊर्जा सहकार्यले तीनै देशलाई आर्थिक लाभ प्रदान गर्नुका साथै क्षेत्रीय विकासको नयाँ आयाम थप्नेछ । पारवहन र सम्पर्क सञ्जाल दोस्रो महत्वपूर्ण मुद्दा हो । नेपाल जस्तो भूपरिवेष्टित देशका लागि बंगलादेशका मोंगला र चट्टोग्राम बन्दरगाहहरू समुद्रसम्म पुग्ने वैकल्पिक मार्ग हुन सक्छन् । यसका लागि भारतको फुलबारी बंगलाबन्ध कोरिडोरलाई सहज बनाउनुपर्छ । जब नेपालका अन्न र व्यापारिक वस्तुहरू बंगलादेशका बन्दरगाहहरू हुँदै विश्व बजारसम्म पुग्नेछन् तब नेपालको अर्थतन्त्रले नयाँ गति लिनेछ । यस्तै बंगलादेशले पनि नेपाललाई आफ्नो प्राकृतिक बजारको रूपमा उपयोग गर्नसक्छ । यो सम्पर्क सञ्जालले तीनै देशको व्यापारलाई विस्तार गर्नुका साथै क्षेत्रीय एकीकरणलाई पनि बलियो बनाउनेछ । जलवायु परिवर्तन तेस्रो महत्त्वपूर्ण साझा मुद्दा हो । हिमाल पग्लिएर आउने बाढीले नेपाल भारतको बिहार र बंगलादेशलाई डुबाउँछ। यो साझा प्राकृतिक चुनौतीको सामना गर्न संयुक्त संयन्त्रको आवश्यकता छ । जलवायु परिवर्तनको असर कुनै एक देशसम्म सिमित नरही तीनै देशलाई समान रूपमा प्रभावित गरिरहेको छ । बाढी नियन्त्रण सिंचाई व्यवस्थापन र वातावरण संरक्षणमा तीनै देशले मिलेर काम गर्नुपर्छ । यस्तो संयुक्त प्रयासले मात्र यस क्षेत्रको जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सकिन्छ । यी मुद्दाहरूमा प्रसिद्ध भारतीय कूटनीतिज्ञ र विद्वानहरूले पनि बारम्बार दक्षिण एशियाको समृद्धि कनेक्टिभिटीमा निर्भर छ भन्दै भारतले ठूलो दाइको हेपाहा प्रवृत्ति त्यागेर जेठो दाइको उदार भूमिका खेल्नुपर्नेमा जोड दिँदै आएका छन् । ढाका दिल्ली मित्रतामा नेपालको समृद्धि पालको लागि एउटा विशेष स्वार्थ छ भारत र बंगलादेशको सम्बन्ध जति राम्रो भयो त्यति धेरै फाइदा नेपाललाई हुन्छ । कतिपयलाई लाग्ला कि भारत र बंगलादेशको सम्बन्ध बिग्रिएमा वा उनीहरू बीच तनाव बढेमा नेपालले फाइदा लिनसक्छ । तर यो एकदमै गलत र आत्मघाती सोच हो। यदि भारत र बंगलादेशको सम्बन्धमा अविश्वास पैदा भयो भने भारतले आफ्नो सुरक्षाको कारण देखाउँदै चिकेन नेक वा सिलिगुडी करिडोरमा कडाइ गर्नसक्छ । यस्तो अवस्थामा नेपालले बंगलादेशमा बिजुली बेच्ने जुन सपना देखेको छ वा उनीहरूको मोंगला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर समुन्द्रसम्म पुग्ने सोचेको छ ती सबै कुरा धरापमा पर्न सक्छन् । हाम्रो भूराजनीतिक यथार्थ के हो भने नेपाल भूपरिवेष्टितबाट भूजडित बन्दै समुन्द्रसम्मको पहुँच र ऊर्जा व्यापारको विविधिकरण गर्न चाहन्छ र यसका लागि ढाका र दिल्लीबीचको सम्बन्ध पानी र दुध जस्तै कसिलो हुनु अपरिहार्य छ । नेपालले बंगलादेशको मोंगला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्ने होस् वा आफ्नो जलविद्युत बंगलादेशको बजारमा बेच्ने त्यसको एकमात्र मार्ग भारतीय भूमि नै हो । बीबीआईएन जस्तो संरचानाले क्षेत्रीय यातायात र पारवहनलाई पनि मद्दत गर्नेछ । सम्झौता भएर पनि निस्क्रिय जस्तै रहेको यो संरचनालाई बंगलादेशको नयाँ सरकारले प्राथमिकतामा राख्नसक्छ । यसको सक्रियताले नेपालमा पर्यटनको बजारलाई सहयोग पुग्नेछ । नेपालको समृद्धिको एउटा सपना तब मात्र जीवन्त हुन्छ जब छिमेकका दुई ठूला खम्बाहरू भारत र बंगलादेश एकै लयमा हिँड्छन् । दलहरूको मौनता र कुटनीतिक अपरिपक्वता बंगलादेशमा नयाँ सरकार नयाँ प्राथमिकताको कुरा गरे पनि हामीले एक गल्ति गरिरहेका छौं। बंगलादेशको शान्ति र स्थिरतामा हामीले समृद्धि देखे पनि त्यहाका जनताले दिएको नयाँ र स्पष्ट जनादेशलाई नेपालका प्रमुख राजनीतिक दलहरूले अहिलेसम्म औपचारिक रूपमा सम्मान गरेको वा बधाई दिएको पाइएन । हामी आफैं पनि निर्वाचनको संघारमा छौं र हाम्रा दलहरू बहुमत ल्याएर सरकार चलाउने एजेण्डा फलाकिरहेका छन् । तर भोलि चुनाव जितेर सरकारमा पुगेपछि यिनै दलले ऊर्जा व्यापार वा पारवहनका लागि बंगलादेशसँग द्विपक्षीय हितको कुरा गर्नुपर्ने हुन्छ । छिमेकीको घरमा आएको यत्रो परिवर्तनलाई सम्मान गर्न नसक्नु वा बधाई दिन समेत कञ्जुस्याइँ गर्नुले हाम्रो कुटनीतिक अपरिपक्वता छर्लङ्ग पारेको छ । हामीले यो पनि हेर्नुपर्छ कि हामीभन्दा चिसो सम्बन्ध भएको र सरकार परिवर्तनले सबैभन्दा ठूलो धक्का लागेको भारतले समेत नयाँ जनादेश र नेतृत्वसँग सम्बन्ध अगाडि बढाउन कत्रो गरमजोशी देखाइसक्यो । दिल्लीले ढाकालाई न्यानोपन दिन खोजिरहँदा भूगोल नजोडिए पनि मन र सम्बन्ध जोडिएको हाम्रो जस्तो नजिकको मित्रले बंगलादेशको परिवर्तनलाई यसरी बेवास्ता गर्नु सर्वथा गलत हो । यो गल्तीलाई समयमै नसच्याउने हो भने भोलि सहकार्यको हात बढाउँदा हामीलाई नै नैतिक संकट पर्नसक्छ । बिमस्टेक, सार्क र बहुपक्षीय कुटनीतिको बाटो अनि भारत अबको दुनियाँमा एक्लै हिँडेर वा दुईपक्षीय सम्बन्धमा मात्र अल्झिएर पार लाग्दैन । दक्षिण एशियामा शक्ति राष्ट्रहरूको खेल बढिरहेको छ । यस्तो बेला हामी जोगिनको लागि र आफ्नो बार्गेनिङ पावर बढाउनको लागि सार्क र बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरूलाई ब्युँताउनुपर्छ र सक्रिय बनाउनुपर्छ । यति मात्र होइन हामीले ग्लोवल साउथ वा साङ्घाई सहयोग संगठन जस्ता धेरै ढोकाहरू वा मल्टी डोर कुटनीति खुल्ला राख्नुपर्छ । हामीसँग जति धेरै विकल्प हुन्छन् र जति धेरै मञ्चमा हामी आफ्ना कुरा राख्नसक्छौं त्यति नै हामी बलियो हुन्छौं । एउटा शक्तिले पेल्न खोज्यो भने अर्को ठाउँमा बोल्ने र सहयोग माग्ने बाटो हुन्छ । यसले कुनैपनि एउटा देशलाई नेपालमाथि मनपरी गर्न दिँदैन । यसको लागि भारतले पनि अब ठूलो दाइको अहङ्कार छोडेर जेठो दाइको जस्तो अभिभावकीय र उदार भुमिका खेल्नुपर्छ । साना छिमेकीलाई साथमा लिएर र उनीहरूको चित्त बुझाएर हिँड्दा नै भारतको पनि भलो हुन्छ । नत्र आफ्नै आँगनमा आगो लाग्दा घर सुरक्षित हुँदैन भन्ने कुरा दिल्लीले पनि बुझ्नुपर्छ । अन्त्यमा मन बदलिए पनि मत नबदलौं अहिले एउटा गम्भीर प्रश्न हाम्रो अगाडि उभिएको छ ‘भोट’ कसलाई दिने केवल सत्ता जित्न खोज्नेलाई कि ‘राजनीति र देशको भविष्य’ जित्न सक्नेलाई यो छुट्याउने बेला आएको छ । हामी भित्र पुराना दलहरूप्रति रिस र कुण्ठा छ । उही पुराना अनुहार र उही घ्यारघ्यार सुनिने भाषणले हामीलाई वाक्क बनाएको छ । हामीलाई एक किसिमको दृष्टि थकान भएको छ । तर यो संगीन घडीमा नेपाली जनताले एकछिन रोकिएर अडिएर र ठण्डा दिमागले सोचेर निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ । भावावेश र आक्रोशलाई एकैछिन रोक्नुपर्ने अवस्था छ । मैले मन बदले पनि मत बदल्दा भोलि देशको अवस्था के हुन्छ र के हुँदैन भन्ने कुराको गहिरो हेक्का राख्नैपर्छ । बंगलादेशका जनताले यही बुद्धिमानी तरिकाले व्यवहारमा उतारे । उनीहरूको मन बदलिएको थियो उनीहरू पनि पुराना अनुहारसँग खुशी थिएनन् होला । तर उनीहरूले मत बदल्दा देश दुर्घटनामा जानसक्छ भन्ने बुझे । मन बदलिए पनि मत नबदलेको कारण आज बंगलादेश फेरि विकासको बाटोमा निस्कने तरखरमा छ । त्यहाँ अब राम्रो नै हुन्छ नराम्रो हुने गुञ्जायस छैन । त्यसैले हामीले पनि भावनामा बगेर होइन विवेक प्रयोग गरेर निर्णय लिनु नै बुद्धिमानी हुनेछ । (लेखक सविन धमला न्युज एजेन्सी नेपालसँग आवद्ध छन् । लेखक धमला समयामयिक राजनीति, नीति पैरवी, विश्लेषण, संसदीय मामिलामा नियमित लेख्दै आएका छन्।)