मतदानमा बैंकरको पनि उत्साहपूर्ण सहभागिता, कुन सीईओले कहाँबाट खसाले मत ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) देशभर मतदान भइरहेको छ । ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दलका उम्मेदवारले ६१ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन् । यस प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। आयोगका अनुसार देशभर उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसैबीच विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले मतदान गरिसकेको जानकारी दिए । कोइराला झापा क्षेत्र नम्बर-१ भद्रपुरका मतदाता हुन् । उनले भद्रपुर नगरपालिकास्थित भगवती प्रावि मतदान स्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । नबिल बैंकका सीईओ मनोज ज्ञवालीले काठमाडौंको क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले टोखा नगरपालिकास्थित फैमालचुली मतदानस्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा शान्तपूर्ण वातावरणमा मतदान भइरहेको उनको भनाइ छ । ‘सबै अनुशासित भएर लाइन लागेर मतदान गरिरहनु भएको छ । चुनावमा तिक्तताको वातावरण केही छैन । फरक-फरक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सौहार्द रूपमा मत मागिराख्नु भएको देखिन्छ । अहिले पनि मतदानस्थलमै छु,’ उनले भने । एनएमबि बैंकका सीईओ गोविन्द घिमिरे भक्तपुर क्षेत्र नम्बर-२ का मतदाता हुन् । उनले मध्यपुर ठिमी नगरपालिकास्थित युनिक स्कुलमा रहेको मतदानस्थलबाट मत खसालेको जानकारी दिए । उत्साहपूर्ण माहोलमा मतदान भइरहेको उनको भनाइ छ । नेपाल बैंकका सीईओ तीलकराज पाण्डेय काठमाडौं क्षेत्र नम्बर-१ का मतदाता हुन् । उनले नेपाल दूरसञ्चार कम्पनीको तालिम केन्द्र बबरमहलस्थित मतदान स्थलबाट आफ्नो मताधिकार प्रयोग गरेको बताए । मतदानस्थलमा शान्त भएर मतदाताहरूले मतदान गरिरहनु भएको उनले बताए । उनले भने, ‘सबै मतदाताहरू परिवक्क भएर हो कि अत्यन्तै सिभिलाइजेन देखिनु हुन्छ ।’ कुमारी बैंकका सीईओ रामचन्द्र खनाल काठमाडौं क्षेत्र नम्बर-७ का मतदाता हुन् । उनले नागार्जुन नगरपालिका-१ स्थित बालविकास मावि मतदानस्थलबाट मतदान गरेको जानकारी दिए । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले बिहानै बुढानीलकण्ठ नगरपालिकास्थित भद्रकाली प्राथमिक विद्यालयको मतदान स्थलमा पुगेर मतदान गरेको जानकारी दिए । यस्तै, प्रभु बैंकका सीईओ सुनम शर्माले काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुन् । उनले पनि आफूले मतदान गरिसकेको जानकारी दिए । सानिमा बैंकका सीईओ पवनकुमार आचार्यले ललितपुर क्षेत्र नम्बर-३ मतदाता हुन् । उनले लगनखेलस्थित महालक्ष्मी मन्दिर मतदानस्थलबाट मतदान गरेको बताए । ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले पनि मतदान गरिसकेको जानकारी दिए ।
कुन नेताले कहाँबाट गरे मतदान ?
काठमाडौं । आज देशभर प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान अहिले जारी छ । देशभर शान्तिपूर्वक वातावरणमा भइरहेको निर्वाचनमा विभिन्न नेताहरूले आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । कतिपय नेताहरूले मतदान गरिसकेका छन् भने कतिपय नेताहरू मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ । कसले कहाँबाट गरे मतदान ? सुशीला कार्की प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् । कार्कीले काठमाडौं–५ स्थित धापासी फैमाल्चुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् । ओमप्रकाश अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । उनले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेका हुन् । ललितपुर ३ स्थित सानेपाका बासिन्दा गृहमन्त्री अर्यालले सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । गगनकुमार थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं-४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं-४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि थापा सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं-४ छाडेर सर्लाही-४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ । केपी शर्मा ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । ओली झापा क्षेज्ञ नम्बर ५ बाट उम्मेदवार छन् । पुष्पकमल दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । उनले आफैलाई भने मत दिन पाएनन् । प्रचण्ड रुकुम–पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । सोही मतदान केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मतदान गरेका छन् । माधवकुमार नेपाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ बाट मतदान गरेका छन् । उनले गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवार समेत छन् । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्। ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । नेता पोखरेलले बिहान ८ बजे टोखा नगरपालिका वडा नम्बर ६ स्थित हात्तीचोक बुथमा मतदान गरेका हुन् । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महांकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसालिसकेपछि उनले मतपेटिकामा ढोगेका थिए । बालेन्द्र शाह रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिका-९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन् । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै झापा–५ को उम्मेदवार बनाएको छ । रामवरण यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । उनले धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ स्थित बिपी कोइराला मावि, सपहीमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका हुन् । विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् । झलनाथ खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ रम्फोकको राष्ट्रिय आविमा मतदान गरेका छन् । यसअघि यही क्षेत्रबाट निर्वाचनमा उठ्दै आएका पूर्वप्रधानमन्त्री खनाल यसपटको निर्वाचनमा भने उम्मेदवार होइनन् । बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । आज बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । घिसिङ काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् । हर्क राई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले मतदान गरेका छन् । राइले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुलमा पुगेर उनले मतदान गरेका हुन् । धरान उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका राईले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । जनार्दन शर्मा प्रगतिशिल लोकतान्त्रीक पार्टीका जनार्दन शर्माले रुकुम–पश्चिमबाट मतदान गरेको छन् । उनले यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनी रुकुम–पश्चिममा उम्मेदवार पनि हुन् । वर्षमान पुन नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् । उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका हुन् । पुन यसअघि पनि रोल्पा क्षेत्र १ बाट विजयी भएका थिए । राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरबाट मतदान गरेका छन् । भक्तपुर नगरपालिका–५ स्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । शंकर पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा सदस्यका लागि मतदान गरेका छन् । उनले आज बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेका हुन् । विप्लव विगतमा चुनाव बहिस्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् । मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए । सुहाङ नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतदान गरेका छन् । उनले इलामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय एमाले नेता कार्यकर्तासहित माला टीका लगाएर नेम्वाङ मतदान केन्द्र पुगेका थिए । बुवा सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा सुहाङ इलाम–२ बाट निर्वाचित भएका थिए । विष्णु पौडेल काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा उनले गरेका हुन् । उनी रुपन्देही- २ का उम्मेदवारसमेत हुन् । शेरबहादुर देउवा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले भने यो वर्ष मतदान गरेनन् । हरेक निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बन्दै आएका उनी यो वर्ष भने उम्मेदवार छैनन् । देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने भए पनि यसपटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्नबाट वञ्चित भएका हुन् ।
केपी शर्मा ओलीले गरे मतदान
काठमाडौं । केपी शर्मा ओलीले बिहीबार मतदान गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले भक्तपुर-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् । ओली झापा जिल्ला-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ ।