विकासन्युज

ब्रोकर व्यवसायीसँग सेबोन अध्यक्ष भट्टले भने- पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउँछु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सेबोन पुगेर अध्यक्ष भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको अवसरमा उनले यस्तो बताएका हुन् । भट्टले सरकारको बजेट तथा नीति–कार्यक्रमअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल गरिने बताए । पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो । उनले बजारमा सुशासन, पारदर्शिता, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताए । सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव, सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा सरकारको बजेटमा समेटिएका पुँजी बजारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरण विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा पनि छलफल भएको थियो । एसोसिएसनले डा. भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने र मुलुकको आर्थिक विकासमा पुँजी बजारको योगदान बढाउने विश्वास व्यक्त गरेको छ ।

नेपालीले घुमघाममै खर्चिए ४ खर्ब ५९ अर्ब, स्वदेशमै ३ खर्ब ९५ अर्ब

काठमाडौं । नेपालीहरूले एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य पर्यटनमा गरी कुल ४ खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ अनुुसार नेपालीले सो खर्च गरेका हुन् । यसमध्ये सबैभन्दा ठूलो हिस्सा स्वदेशभित्रको यात्रामा खर्च भएको देखिएको छ । तथ्यांकअनुसार नेपालीहरुले स्वदेशमै ३ खर्ब ९५ अर्ब र विदेश यात्रामा ६३ अर्ब ६४ करोड खर्च गरेका छन् । त्यसैगरी वाह्य पर्यटनअन्तर्गत रात विताउने भ्रमणमा ४७ अर्व ९७ करोड रुपैयाँ तथा सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । उद्देश्यगत रूपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत खर्च भएको छ, जुन सवैभन्दा उच्च हिस्सा हो । स्वयंसेवा, बसाइँसराइ तथा अन्य प्रयोजनका भ्रमणमा खर्चको हिस्सा ०.८ प्रतिशत मात्र रहेको छ ।  खर्चका शीर्षकहरूमध्ये किनमेलमा २६ प्रतिशत खर्च भएको छ, जुन सवैभन्दा बढी हिस्सा हो। साहसिक गतिविधिमा खर्चको हिस्सा ०.०४ प्रतिशत मात्र रहेको छ । यातायात खर्चमध्ये ६८.७ प्रतिशत सार्वजनिक सवारी साधनमा खर्च हुने गरेको देखिन्छ, जसले सार्वजनिक यातायात आन्तरिक पर्यटनको प्रमुख माध्यम रहेको तथ्यांकले स्पष्ट पारेको छ । तथ्यांकअनुसार  प्रति भ्रमण औसत खर्च ११ हजार ९२२ रुपैयाँ रहेको छ । स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा प्रति भ्रमण औसत खर्च २३ हजार ५१६ रुपैयाँ रहेको छ ।  तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ नेपालमा आन्तरिक पर्यटनको अवस्था, भ्रमणको उद्देश्य, खर्चको ढाँचा तथा पर्यटन क्षेत्रको आर्थिक योगदान मापन गर्ने उद्देश्यले  पहिलो राष्ट्रियस्तरको विस्तृत सर्वेक्षण हो । सर्वेक्षणअनुसार नेपालमा रहेका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ । यस्ता घरपरिवारलाई ‘पर्यटक घरपरिवार’ का रूपमा वर्गीकरण गरिएको छ । पर्यटक घरपरिवारमध्ये ३३.३ प्रतिशतले वर्षमा एक पटक, ३२.२ प्रतिशतले दुई पटक तथा ३४.५ प्रतिशतले तीन वा सोभन्दा बढी पटक भ्रमण गरेको देखिएको छ । सर्वेक्षणले युवा पुस्ता, विशेष गरी जेनेरेसन अल्फा र जेनेरेसन जेड, अन्य उमेर समूहको तुलनामा बढी पटक भ्रमण गर्ने गरेको देखाएको छ । उमेर बढ्दै जाँदा भ्रमणको आवृत्ति क्रमशः घट्दै गएको पाइन्छ ।  बाह्य पर्यटनको अवस्था २०८१ असोजदेखि २०८२ भदौसम्म नेपाली वासिन्दाले कुल २ लाख ९३ हजार सोही दिन फर्किने तथा ६ लाख २० हजार रात विताउने वाह्य भ्रमण गरेका छन् ।  सोही दिन फर्किने बाह्य भ्रमणको मुख्य उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ६३.९ प्रतिशत रहेको छ । रात विताउने बाह्य भ्रमणमा किनमेल ४०.३ प्रतिशत तथा धार्मिक उद्देश्य १९.६ प्रतिशत प्रमुख रहेको देखिन्छ । त्यस्तै बाह्य भ्रमणको मौसमी वितरण हेर्दा कार्तिकदेखि पुससम्मको दोस्रो सिजनमा सबैभन्दा बढी भ्रमण हुने गरेको देखिएको छ । यस अवधिमा सोही दिन फर्किने भ्रमणको ५०.२ प्रतिशत तथा रात बिताउने भ्रमणको ३२.८ प्रतिशत हिस्सा रहेको छ । वाह्य भ्रमणमा प्रति भ्रमण सहभागी सदस्यको औसत संख्या १.२ जना रहेको छ, जसले अधिकांश भ्रमण व्यक्तिगत रूपमा हुने गरेको संकेत गर्दछ। भारततर्फ गरिने सोही दिन फर्किने भ्रमणमा कुल खर्चको ७०.७ प्रतिशत किनमेलमा खर्च हुने गरेको देखिएको छ । प्रदेशगत रूपमा मधेश प्रदेशवाट भारततर्फ हुने यस्ता भ्रमणको संख्या सवैभन्दा बढी रहेको पाइएको छ ।  पर्यटन स्याटलाइट लेखाको ढाँचाअनुसार नेपालमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्व ७ अर्थ १७ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ । यस उपभोगका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट कुल ३ खर्ब ३१ अर्व ८४ करोड रुपैयाँ बरावरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ । उत्पादन प्रक्रियामा १ खर्व ८७ अर्व ३४ करोड रुपैयाँ बराबरको मध्यवर्ती उपभोग कटाउँदा कुल पर्यटन मूल्य अभिवृद्धि१ खर्च ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। सर्वेक्षणका नतिजाअनुसार आन्तरिक पर्यटनले आर्थिक वर्ष सन् २०२४/२५ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्व ५४ अवसँग तुलना गर्दा २.६५ प्रतिशत योगदान पुन्याएको अनुमान गरिएको छ । आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालमा आन्तरिक पर्यटनको व्यापकता, सामाजिक महत्त्व तथा आर्थिक योगदानलाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको छ। आधाभन्दा बढी घरपरिवार पर्यटन गतिविधिमा सहभागी हुनु, पर्यटन क्षेत्रमा ४ खर्व रुपैयाँभन्दा बढी उपभोग सिर्जना हुनु तथा कुल गार्हस्थ्य उत्पादनमा २.६५ प्रतिशत योगदान रहनु आन्तरिक पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ बनेको स्पष्ट संकेत हो ।  ४७.६ प्रतिशतले कुनै प्रकारको पर्यटकीय भ्रमण गरेनन्  तथ्याकअनुसार ३२ लाख ८९ हजार (४७.६ प्रतिशत) घरपरिवारले कुनै पनि प्रकारको पर्यटकीय भ्रमण नगरेको पाइएको छ । प्रति एक हजार घरपरिवारमा ५२३ पर्यटक घरपरिवार तथा ४७७ गैर–पर्यटक घरपरिवार रहेको देखिन्छ। यसले नेपालका आधाभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको संकेत गर्दछ । पर्यटक घरपरिवारको औसत सदस्य संख्या राष्ट्रिय स्तरमा ३.९४ रहेको छ। ग्रामीण क्षेत्रमा यो संख्या ४.०२ रहेको छ भने सहरी क्षेत्रमा ३.८७ रहेको छ । यसले ग्रामीण क्षेत्रका पर्यटक घरपरिवारमा परिवारको आकार तुलनात्मक रूपमा ठूलो रहेको देखाउँछ ।  आन्तरिक पर्यटनको उद्देश्य, अवधि तथा गन्तव्य सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ३२.६ प्रतिशत रहेको छ । त्यसपछि स्वास्थ्य उपचार तथा साथीभाइ र आफन्त भेटघाटको हिस्सा समान रूपमा २०.१ प्रतिशत रहेको छ। रात विताउने आन्तरिक भ्रमणको सन्दर्भमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ। यसले नेपालमा सामाजिक तथा पारिवारिक सम्बन्ध आन्तरिक पर्यटनको प्रमुख प्रेरक शक्ति रहेको संकेत गर्दछ। रात विताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको देखिएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ अवधि ८.१८ दिन रहेको छ। मधेश प्रदेशमा पनि औसत बसाइ अवधि ८.१८ दिन नै रहेको देखिन्छ। भ्रमण आवृत्तिको दृष्टिले गण्डकी प्रदेश सवैभन्दा अगाडि रहेको छ जहाँ बार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ। सुदूरपश्चिम प्रदेशमा भने यो संख्या ३.३२ पटक रहेको छ। भ्रमणको उद्देश्यअनुसार शिक्षा तथा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ (औसत ९.१६ दिन) रहेको छ। तीर्थयात्रा तथा किनमेलसम्बन्धी भ्रमणहरू अपेक्षाकृत छोटो अवधिका हुने गरेका छन्। वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यावसायिक भ्रमण सबैभन्दा बढी (औसत ६.९ पटक) हुने गरेका छन् भने विद तथा मनोरञ्जनसम्बन्धी भ्रमणको औसत आवृत्ति ३.०२ पटक रहेको छ। रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन तथा कास्की रहेका छन्। मनोरञ्जन तर विदा मनाउने उद्देश्यले गरिने भ्रमणमा कास्की जिल्ला सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ ।  पर्यटकको जनसांख्यिकीय विशेषता पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ । जेनेरेसन जेड (१३–२८ वर्ष) को हिस्सा २६ प्रतिशत रहेको छ। त्यसपछि जेनेरेसन अल्फा तथा विटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत तथा जेनेरेसन (२९–४४ वर्ष) को हिस्सा २२.० प्रतिशत रहेको छ ।

सार्वजनिक गाडीको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले घटाएको छ । विभागले इन्धनको मूल्य घटाएसँगै गाडी भाडा पनि घटाएको हो ।  यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी सबैका हकमा यो गिरावट लागू हुनेछ । उपत्यका तथा अन्तर जिल्लामा भने भाडा घटेको छैन । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको हो ।  विभागले यात्रुवाहक सवारी साधनको २ प्रतिशत घटी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २ प्रतिशत घटी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी २ प्रतिशत घटी हुने किसिमले भाडा घटाएको छ । यो नयाँ भाडा दर असार १८ गतेदेखि लागू हुने विभागले जनाएको छ । 

सम्पत्ति शुद्धीकरण विभागलाई राजनीतिक प्रतिशोधको औजार बनाइयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विगतमा राजनीतिक प्रतिशोधको कुसंस्कार बसाइएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताएका छन् ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्पती शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  उनले विगतमा विभागमा उजुरी थुपारेर राजनीतिक प्रतिशोधका आधारमा मन नपरेको मान्छेलाई दुःख दिने काम गरिएको बताए । भविष्यमा आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा छुट्टै प्राधिकरण गठन गर्ने विषयमा समेत छलफल अगाडि बढाउनुपर्ने बताए । सम्पती शुद्धीकरण विभाग हाल प्रधानमन्त्री कार्यालय मातहत नभई अर्थमन्त्रालय मातहत रहेको समेत स्पष्ट पारे । उनले भने, ‘माननीयज्यूहरुमा एउटा भ्रम पाए मैले सम्पती शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय छ, अख्तियारअन्तर्गत दिनुपर्छ भन्नुभयो । पहिला यो विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको थियो । र व्यापक रुपमा उजुरी संकलन गरेर पोलिटिकल हर्यासमेन्टको कुसंस्कार बसाइएको थियो ।’ अर्थमन्त्री वाग्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता र अभियोजन गर्ने अधिकार रहेको उल्लेख गर्दै हाल १३ वटा निकायले यस्तो मुद्दा चलाउन सक्ने कानुनी व्यवस्था रहेको बताए । मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्नुपर्ने अर्जेन्सीको कारण सरकारले विधेयक ल्याएको दाबी गरे ।  

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

काठमाडौं । बिहीबार बसेको बैठकले महत्वपूर्ण ९ निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेल अनुसार सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।  सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए । उनका अनुसार सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।  यसैगरी शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने र कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  यस्तै, सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ । 

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त, सुरक्षण मुन्द्रण केन्द्रमा ढुङ्गाना

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।  यस्तै, बिहीबारको बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना लाई नियुक्त गरेको बताइएको छ ।    

अपडेट : कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनास्थल एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धारका ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

देउवा समूहको बैठक शुक्रबार, राष्ट्रिय भेलाको विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूको बैठक शुक्रबारका लागि बोलाएका छन् । खड्काको निजी निवासमा बस्ने बैठकमा सातै प्रदेशमा हालै सम्पन्न प्रदेश भेलाको समीक्षा गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ । देउवा समूहका एक पूर्वपदाधिकारीका अनुसार प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भइसकेकाले अब राष्ट्रियस्तरको भेला आयोजना गर्ने तयारीलाई अगाडि बढाउने विषय बैठकको मुख्य एजेन्डा हुनेछ । यसका साथै आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने विषयमा समेत नेताहरूबीच छलफल हुने बताइएको छ । बैठकमा १५औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्ने, राष्ट्रिय भेला आयोजना गर्ने, प्रदेश भेलाबाट आएका सुझाव तथा निष्कर्षको समीक्षा गर्ने र संस्थापनइतर पक्षको साझा रणनीति तय गर्ने विषयमा निर्णय हुन सक्ने नेताहरूले बताएका छन् । कांग्रेसभित्र महाधिवेशनको तयारी क्रमशः तीव्र बन्दै गइरहेका बेला संस्थापनइतर पक्षले देशव्यापी रूपमा संगठन विस्तार र कार्यकर्तासँगको संवादलाई प्राथमिकतामा राख्दै आएको छ । सातै प्रदेशमा सम्पन्न भेलामार्फत प्राप्त सुझावलाई समेटेर अब राष्ट्रिय भेलामार्फत साझा धारणा निर्माण गर्ने तयारी गरिएको नेताहरूको भनाइ छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै संस्थापनइतर पक्षले आफ्नो संगठनात्मक संरचना थप मजबुत बनाउने र नेतृत्व चयनको रणनीतिलाई व्यवस्थित ढङ्गले अघि बढाउने तयारी गरिरहेको सन्दर्भमा शुक्रबारको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको कांग्रेस का एक नेताले बताए ।