काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूको बैठक शुक्रबारका लागि बोलाएका छन् ।
खड्काको निजी निवासमा बस्ने बैठकमा सातै प्रदेशमा हालै सम्पन्न प्रदेश भेलाको समीक्षा गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ ।
देउवा समूहका एक पूर्वपदाधिकारीका अनुसार प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भइसकेकाले अब राष्ट्रियस्तरको भेला आयोजना गर्ने तयारीलाई अगाडि बढाउने विषय बैठकको मुख्य एजेन्डा हुनेछ । यसका साथै आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने विषयमा समेत नेताहरूबीच छलफल हुने बताइएको छ ।
बैठकमा १५औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्ने, राष्ट्रिय भेला आयोजना गर्ने, प्रदेश भेलाबाट आएका सुझाव तथा निष्कर्षको समीक्षा गर्ने र संस्थापनइतर पक्षको साझा रणनीति तय गर्ने विषयमा निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।
कांग्रेसभित्र महाधिवेशनको तयारी क्रमशः तीव्र बन्दै गइरहेका बेला संस्थापनइतर पक्षले देशव्यापी रूपमा संगठन विस्तार र कार्यकर्तासँगको संवादलाई प्राथमिकतामा राख्दै आएको छ । सातै प्रदेशमा सम्पन्न भेलामार्फत प्राप्त सुझावलाई समेटेर अब राष्ट्रिय भेलामार्फत साझा धारणा निर्माण गर्ने तयारी गरिएको नेताहरूको भनाइ छ ।
आगामी महाधिवेशनलाई लक्षित गर्दै संस्थापनइतर पक्षले आफ्नो संगठनात्मक संरचना थप मजबुत बनाउने र नेतृत्व चयनको रणनीतिलाई व्यवस्थित ढङ्गले अघि बढाउने तयारी गरिरहेको सन्दर्भमा शुक्रबारको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको कांग्रेस का एक नेताले बताए ।