टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा संगीता पहाडीसहित सबैलाई उन्मुक्ति
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको विशेष अदालतले फैसला गरेको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार (आज) यस्तो फैसला गरेको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीलगायत १८ जना माथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको हो । नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का लगाउँदा साढे ३३ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । ठेक्का सम्झौताको सर्तविपरीत ठेकेदारलाई बढी रकम दिएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
बाइकमा ह्विल लक गरेकै कारण गणेशले आत्मदाहको प्रयास गरेका हुन् ?
काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीले राहदानी विभाग अगाडि पार्किङ गरेको मोटरसाइकल धनीलाई तीन-चार मिनेट पर्खेको बताएका छन् । बिहीबार दिउँसो राहदानी विभागको गेट अगाडि पार्किङ गरेर राखेका गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले व्हील लक लगाएको थियो । नगर प्रहरीले व्हील लक लगाएको भन्दै नेपालीले मोटरसाइकलबाट पेट्रोले निकालेर आत्मदाह प्रयास गरेका थिए । ‘फुटपथाम नियमित रुपमा राखेका सवारीसाधनलाई महानगरपालिकाले कारबाही गर्ने गरेको छ,’ उनले विकासन्युजसँग भने, ‘व्हील लगाउँदैमा यत्रो दुःखद घट्ना घट्छ भन्ने थाहा पाएको भए सायद लगाउँदैन थियौँ होला । हामीले यस्तो खालको घट्ना घट्छ भनेर कल्पना पनि गरेका थिएनौँ ।' प्रहरीले तीन-चार मिनेटसम्म मोटरसाइकल चालकको खोजी गरेको उनले बताए । चालक सम्पर्कमा नआएपछि नगर प्रहरीले लक लगाएको उनको भनाइ छ । गम्भीर अवस्थामा उपचाररत रहेका नेपालीलाई केही सहयोग तथा राहतको व्यवस्था गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,’ हामीले कानुनको पालना गरेका हौँ । कल्पनाभन्दा बाहिरको घटना भयो । यो घट्नाले हामी दुःखी छौ ।' प्रहरीले एकै पटक लक नलगाउने उनले प्रस्ट पारे । चालकको खोजी गर्ने वा सिट्टी फुक्ने गरेको उनले उल्लेख गरे । नगर प्रहरीले ऐन नियमको पालना मात्र गरेको जोशीको भनाइ छ । महानगरपालिका भित्र फुटपाथमा सानादेखि ठूला सवारीसाधन पार्किङ गर्न नपाइने व्यवस्था रहेको छ। नगर प्रहरीले मात्र नभइ ट्राफिक प्रहरीले पनि व्हील लक लगाउने गरेको जोशीले बताए । प्रहरीले कानुनको पालना नगर्ने भए सहर कुरुप तथा अस्तव्यस्थ रहन जाने उनले उल्लेख गरे । ‘नगर प्रहरीले कानुनको पालना मात्र गरेको हो,’ उनले अगाडि थपे । महानगरपालिकाले फुटपाथमा मोटरसाइकल पार्किङ गरेमा १ हजार, चार चक्के सवारीसाधन पार्किङ गरेमा २५ सय रुपैयाँ, ट्रक पार्किङ गरेमा ३५ सय रुपैयाँ र १६ चक्के सवारीसाधन पार्किङ गरेमा ५ हजार जरिवाना लिने गरेको छ । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई सम्पर्क गर्दा हुन सकेन । महानगरभित्र घटना घटेकाले महानगरले यस विषयमा छलफल चलाएको छ । मोटरसाइकलमा क-कसले पार्किङ गरेको हो त्यसमा विषयमा छानबिन हुने गरेको छलफल चलेको महानगरका एक कर्मचारीले बताएका छन् । यो समाचार तयार पार्दासम्म नगरसभा चलिरहेको छ । उनले सभा पश्चात आत्मदाह गरेको व्यक्तिका विषयमा पुनः छलफल हुने बताए । नेपाली राइड सेयरिङको चालक रहेको खुलेको छ । नेपालीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अनलाइन प्लेटफार्ममार्फत मोटरसाइकबाट यात्रु ओसारपोसारको काम गर्दै आएका थिए । मुगुको सोरु गाउँपालिका-१ घर भएका भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै प्रहरीले उनको उद्धार गरी उनको वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी हलुका बोल्न सक्ने अवस्थामा भए पनि अवस्था गम्भीर रहेको छ । शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ६ खर्ब २६ अर्ब पुग्दा बजार हिस्सा ७.५९ प्रतिशत
काठमाडौं । मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो ५ वर्षमा व्यावसायिक विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । चुनौतीपूर्ण आर्थिक परिवेशका बीच बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यावसायिक आधारलाई थप सुदृढ बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए । उनका अनुसार अघिल्लो आवमा ५ खर्ब तीन अर्ब रुपैयाँ रहेको निक्षेप यस आवको हालसम्म छ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा करिब १२३ अर्ब रुपैयाँ अर्थात् करिब २४ प्रतिशतले बढी रहेको छ । यस अवधिमा त्यस बैंकको निक्षेप समग्र बैंकिङ उद्योगको हिस्सामा ७.५९ प्रतिशत पुगेको छ । बैंकले यस आवको चैत मसान्तसम्म रु तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । प्रमुख कार्यकारी अधिकृत खनाललका अनुसार आव २०७८/७९ मा बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२/८३ चैत मसान्तसम्म आइपुग्दा ५.७४ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । बैंकले पछिल्लो समय समग्र बैकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ । समग्र अर्थतन्त्रमा कर्जाको मागमा उत्साह नभएको हालको अवस्थामा पनि बैंकले समग्र बैंकिङ उद्योगको तुलनामा उच्च कर्जा वृद्धि गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले वार्षिक १३.२६ प्रतिशतको कर्जा वृद्धि गर्दै कुल तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिए । उनले भने, ‘सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जा वृद्धि २७७ अर्ब रुपैयाँ भई ७.४३ प्रतिशतको वार्षिक कर्जा वृद्धि गरी कुल ५२ खर्ब ५१ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।’ बैंकको व्यवसाय वृद्धि सँगसँगै शेयर मूल्यमा पनि वाणिज्य बैंकले सुधार गरिरहेको छ । विसं २०८२ चैत मसान्तमा बैंकको किताबी मूल्य बढेर ३५१/९८ प्रति शेयर पुगेको र प्रतिशेयर आम्दानी २३/५५ पुगेको बैंकले जनाएको छ । समयसापेक्ष ग्राहकको मागबमोजिम परिस्कृत रुपमा सेवा प्रवाह र सुविधा प्रदान गर्दै आएको सो बैंकले गत चैत मसान्तसम्म दुई अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । चैत मसान्तसम्म समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले निष्क्रिय कर्जा कम गर्ने सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहेकामा त्यस बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत रहनु बैंकका लागि सकारात्मक पक्ष रहेको बताए । खराब कर्जालाई निरन्तर घटाउँदै लैजाने बैंक व्यवस्थापनले रणनीतिक योजना बनाई कार्य गरिरहको उनले स्पष्ट पारे । बैंकले सातै प्रदेश, ७७ जिल्लामा ३१६ शाखा कार्यालय, ३३४ एटिएम, एक लाख ४७ हजार क्युआर मर्चेन्ट र २० लाख ६२ हजार रुपैयाँ मोबाइल बैंकिङ प्रयोगकर्तासहित मुलुकको ग्रामीणदेखि सहरी क्षेत्रसम्म ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । वर्तमान आर्थिक परिवेश, न्यून कर्जा माग तथा बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीकै अवस्थामा पनि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको साख मूल्याङ्कनले बैंकको संस्थागत साखलाई ‘ए’ प्लसमा पुनःपुष्टि गर्नुले आफूलाई थप हौसला बढाएको प्रमुख कार्यकारी अधिकृत खनालले बताए । देशको सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंकका रुपमा सो बैंक राष्ट्रियस्तरमा पुरस्कृत भइसकेको छ ।
रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन
काठमाडौं । सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ्ने भएको छ । सोही क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि प्रतिष्ठानका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको थियो । त्यसैअन्तर्गत सरकारले रु ५० करोड विनियोजन गरी टे टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पूर्वाधार निर्माण कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते अनलाइन मार्फत शिलान्यास गरेपछि सुरु गर्ने घोषणा भए पनि पर्यावरण प्रभाव मूल्याङ्कन रिपोर्ट (इआईए) नहुँदा काम रोकिएको थियो । हाल उक्त इआईए रिपोर्ट स्वीकृत भएपछि बजेट उपलब्ध गराइ टेन्डर प्रक्रिया अगाडि बढाइएको छ । निर्माण सम्पन्न भए राजविराजमा प्रतिष्ठित स्वास्थ्य अध्ययन तथा सेवा केन्द्रको सञ्चालनले सो क्षेत्रको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ । १६ पुस २०७५ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्दा नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको थियो ।
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।
बजार सुधारमा सक्रिय सेबोन, आगामी साता मार्गचित्र सार्वजनिक गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार विकाससम्बन्धी विस्तृत मार्गचित्र सार्वजनिक गर्ने भएको छ । धितोपत्र बजारमा पछिल्लो समय देखिएका समस्या तथा लगानीकर्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले बजार सुधार र लगानीकर्ता हित संरक्षणका लागि आवश्यक गृहकार्य अघि बढाइसकेको र आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित मार्गचित्र सार्वजनिक गर्ने जनाएको हो । सेबोनका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा बजारमा देखिएका समस्या समाधान, लगानीकर्ताको हकहित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले बोर्डले विभिन्न नीतिगत तथा नियामकीय सुधारका काम अघि बढाएको उल्लेख छ । बोर्डका अनुसार अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनलगायत बजारसम्बन्धी विषयमा दिइएका निर्देशनहरू तोकिएको समयमै कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यसैगरी, धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन प्रणालीलाई थप व्यवस्थित बनाउन विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावलीलगायत अन्य कानुनी तथा नियामकीय व्यवस्थाको समसामयिक पुनरावलोकनको काम सुरु भइसकेको बोर्डले जनाएको छ । साथै, सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका व्यवस्थामा समेत आवश्यक सुधार गरिने उल्लेख गरिएको छ । सेबोनले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उल्लेख गर्दै बजारमा फैलिने हल्ला, बहकाउ र अफवाहको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेको छ। बोर्डले आफ्नो अध्ययन, विश्लेषण र जोखिम वहन क्षमतालाई ध्यानमा राखेर मात्र सुझबुझपूर्ण लगानी निर्णय लिनसमेत अनुरोध गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा सचिवविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति तथा पदोन्नति लिएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौं तहमा कार्यरत हिरालाल काफ्लेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार अर्जुनचौपारी गाउँपालिका–२ का वडा सचिवसमेत रहेका काफ्लेले अध्ययन नै नगरी भारतको आसामस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन आसामबाट सन् १९९८ मा एसएलसी सरहको एचएसएलसी (रिपिटर्स) परीक्षा उत्तीर्ण गरेको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । उक्त प्रमाणपत्रका आधारमा उनले २०५७ सालमा तत्कालीन अर्जुनचौपारी गाउँ विकास समितिमा कार्यालय सहायक पदमा अस्थायी नियुक्ति लिएको, त्यसपछि विभिन्न चरणमा स्थायी नियुक्ति, पदोन्नति र तहवृद्धि हुँदै २०७९ सालमा सहायकस्तर पाँचौं तहमा पुगेको अख्तियारको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगका अनुसार नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा नियुक्ति, पदोन्नति तथा आफूले नपाउने ओहदा, लाभ र सुविधा लिएको ठहर गर्दै उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । अख्तियारले काफ्लेलाई भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्थाअनुसार सजायको मागदाबी गरेको जनाएको छ ।
नेपाली स्टार्टअपलाई विश्व मञ्चमा पुर्याउन द ब्रिटिश कलेज र क्यान महासंघको सहकार्य
काठमाडौं । स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर–२०२६ आयोजना गर्न द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच रणनीतिक साझेदारी भएको छ । दुवै संस्थाबीच भएको समझदारीले नेपाली स्टार्टअप तथा नवप्रवर्तनकारी युवा उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै देशमा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार क्यान महासंघले ‘स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर–२०२६’ को रणनीतिक आयोजना साझेदारको भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं सीईओ चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यो सहकार्यलाई केवल प्रतिस्पर्धामा सीमित नभई देशभर रहेका नवप्रवर्तनकारी सोच भएका युवालाई व्यावसायिक रूपमा अघि बढाउने अभियानका रूपमा लिएका छन् । साझेदारीअन्तर्गत सातै प्रदेशका सम्भावनायुक्त स्टार्टअप पहिचान गर्न प्रतियोगिता सञ्चालन गरिने, उद्योगका अनुभवी व्यक्तिसँग मेन्टरसिपको व्यवस्था गरिने तथा स्वदेशी र विदेशी लगानीकर्तासँग जोड्ने पहल गरिने जनाइएको छ । ग्रुप सीईओ राजन कँडेलले नेपालको आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य आधार भएको उल्लेख गर्दै यस सहकार्यले नेपाली स्टार्टअपलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसर प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म उपलब्ध गराउने बताए । यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सहकार्यले नेपाली प्रविधि उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । पेगासस टेक भेन्चर्सले आयोजना गर्ने स्टार्टअप वर्ल्डकप विश्वका ६० भन्दा बढी देशमा सञ्चालन हुने विश्वकै प्रतिष्ठित स्टार्टअप प्रतिस्पर्धामध्ये एक हो । नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यहाँ विजेताले १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) बराबरको लगानी पुरस्कार प्राप्त गर्ने अवसर पनि हुनेछ । आयोजकका अनुसार यस कार्यक्रमले नेपाली स्टार्टअपलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुका साथै डिजिटल अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र ‘ब्रान्ड नेपाल’लाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।