काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीले राहदानी विभाग अगाडि पार्किङ गरेको मोटरसाइकल धनीलाई तीन-चार मिनेट पर्खेको बताएका छन् ।
बिहीबार दिउँसो राहदानी विभागको गेट अगाडि पार्किङ गरेर राखेका गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले व्हील लक लगाएको थियो । नगर प्रहरीले व्हील लक लगाएको भन्दै नेपालीले मोटरसाइकलबाट पेट्रोले निकालेर आत्मदाह प्रयास गरेका थिए ।
‘फुटपथाम नियमित रुपमा राखेका सवारीसाधनलाई महानगरपालिकाले कारबाही गर्ने गरेको छ,’ उनले विकासन्युजसँग भने, ‘व्हील लगाउँदैमा यत्रो दुःखद घट्ना घट्छ भन्ने थाहा पाएको भए सायद लगाउँदैन थियौँ होला । हामीले यस्तो खालको घट्ना घट्छ भनेर कल्पना पनि गरेका थिएनौँ ।'
प्रहरीले तीन-चार मिनेटसम्म मोटरसाइकल चालकको खोजी गरेको उनले बताए । चालक सम्पर्कमा नआएपछि नगर प्रहरीले लक लगाएको उनको भनाइ छ ।
गम्भीर अवस्थामा उपचाररत रहेका नेपालीलाई केही सहयोग तथा राहतको व्यवस्था गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,’ हामीले कानुनको पालना गरेका हौँ । कल्पनाभन्दा बाहिरको घटना भयो । यो घट्नाले हामी दुःखी छौ ।'
प्रहरीले एकै पटक लक नलगाउने उनले प्रस्ट पारे । चालकको खोजी गर्ने वा सिट्टी फुक्ने गरेको उनले उल्लेख गरे ।
नगर प्रहरीले ऐन नियमको पालना मात्र गरेको जोशीको भनाइ छ । महानगरपालिका भित्र फुटपाथमा सानादेखि ठूला सवारीसाधन पार्किङ गर्न नपाइने व्यवस्था रहेको छ।
नगर प्रहरीले मात्र नभइ ट्राफिक प्रहरीले पनि व्हील लक लगाउने गरेको जोशीले बताए । प्रहरीले कानुनको पालना नगर्ने भए सहर कुरुप तथा अस्तव्यस्थ रहन जाने उनले उल्लेख गरे ।
‘नगर प्रहरीले कानुनको पालना मात्र गरेको हो,’ उनले अगाडि थपे ।
महानगरपालिकाले फुटपाथमा मोटरसाइकल पार्किङ गरेमा १ हजार, चार चक्के सवारीसाधन पार्किङ गरेमा २५ सय रुपैयाँ, ट्रक पार्किङ गरेमा ३५ सय रुपैयाँ र १६ चक्के सवारीसाधन पार्किङ गरेमा ५ हजार जरिवाना लिने गरेको छ ।
काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई सम्पर्क गर्दा हुन सकेन । महानगरभित्र घटना घटेकाले महानगरले यस विषयमा छलफल चलाएको छ । मोटरसाइकलमा क-कसले पार्किङ गरेको हो त्यसमा विषयमा छानबिन हुने गरेको छलफल चलेको महानगरका एक कर्मचारीले बताएका छन् ।
यो समाचार तयार पार्दासम्म नगरसभा चलिरहेको छ । उनले सभा पश्चात आत्मदाह गरेको व्यक्तिका विषयमा पुनः छलफल हुने बताए ।
नेपाली राइड सेयरिङको चालक रहेको खुलेको छ । नेपालीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अनलाइन प्लेटफार्ममार्फत मोटरसाइकबाट यात्रु ओसारपोसारको काम गर्दै आएका थिए ।
मुगुको सोरु गाउँपालिका-१ घर भएका भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।
घटनालगत्तै प्रहरीले उनको उद्धार गरी उनको वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनी हलुका बोल्न सक्ने अवस्थामा भए पनि अवस्था गम्भीर रहेको छ । शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।