काठमाडौं । स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर–२०२६ आयोजना गर्न द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच रणनीतिक साझेदारी भएको छ ।
दुवै संस्थाबीच भएको समझदारीले नेपाली स्टार्टअप तथा नवप्रवर्तनकारी युवा उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै देशमा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार क्यान महासंघले ‘स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर–२०२६’ को रणनीतिक आयोजना साझेदारको भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं सीईओ चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
दुवै संस्थाले यो सहकार्यलाई केवल प्रतिस्पर्धामा सीमित नभई देशभर रहेका नवप्रवर्तनकारी सोच भएका युवालाई व्यावसायिक रूपमा अघि बढाउने अभियानका रूपमा लिएका छन् । साझेदारीअन्तर्गत सातै प्रदेशका सम्भावनायुक्त स्टार्टअप पहिचान गर्न प्रतियोगिता सञ्चालन गरिने, उद्योगका अनुभवी व्यक्तिसँग मेन्टरसिपको व्यवस्था गरिने तथा स्वदेशी र विदेशी लगानीकर्तासँग जोड्ने पहल गरिने जनाइएको छ ।
ग्रुप सीईओ राजन कँडेलले नेपालको आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य आधार भएको उल्लेख गर्दै यस सहकार्यले नेपाली स्टार्टअपलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसर प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म उपलब्ध गराउने बताए । यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सहकार्यले नेपाली प्रविधि उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
पेगासस टेक भेन्चर्सले आयोजना गर्ने स्टार्टअप वर्ल्डकप विश्वका ६० भन्दा बढी देशमा सञ्चालन हुने विश्वकै प्रतिष्ठित स्टार्टअप प्रतिस्पर्धामध्ये एक हो । नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यहाँ विजेताले १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) बराबरको लगानी पुरस्कार प्राप्त गर्ने अवसर पनि हुनेछ ।
आयोजकका अनुसार यस कार्यक्रमले नेपाली स्टार्टअपलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुका साथै डिजिटल अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र ‘ब्रान्ड नेपाल’लाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।