विकासन्युज

नेपालमै पहिलोपटक बाँदरका लागि ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण

काठमाडौं । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट-बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो ।  वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए ।  ‘नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो । सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न यो संरचना निर्माण गरेका हौँ । यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ,’ उनले भने ।  सूचना अधिकारी खनालका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षणसँगै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । यसअघि आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ भने जुन २०२६ सम्म समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन् । सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई जोड दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा पनि वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको इन्जिनियर खनालले बताए । 

एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पाराग्वेमाथि कठिन १–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । फिलाडेल्फियास्थित फिलाडेल्फिया स्टेडियममा अत्यधिक गर्मीबीच सम्पन्न खेलमा दुवै टोलीबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सशक्त फ्रान्सलाई पाराग्वेले अनुशासित र आक्रामक रक्षात्मक खेलमार्फत लामो समयसम्म रोकिराखेको थियो । निर्णायक गोल ७०औं मिनेटमा आयो । फ्रान्सका युवा खेलाडी डिजिरे डुवेमाथि पेनाल्टी क्षेत्रमा फाउल भएपछि भीएआरको समीक्षापश्चात फ्रान्सले पेनाल्टी पायो । कप्तान केलियन एम्बाप्पेले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पाराग्वेले बराबरी गोलका लागि दबाब बढाए पनि फ्रान्सेली गोलरक्षक माइक माइग्नाँको उत्कृष्ट बचाउ र फ्रान्सको सुदृढ रक्षापंक्तिका कारण खेलमा फर्किन सकेन ।  अन्तिम समयमा केही रोमाञ्चक अवसर सिर्जना भए पनि फ्रान्सले एक गोलको अग्रता जोगाउँदै अन्तिम सिटीसम्म कायम राख्यो । जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ पुगेको पाराग्वेको ऐतिहासिक यात्रा यससँगै समाप्त भएको छ भने फ्रान्स उपाधितर्फको आफ्नो अभियानलाई निरन्तरता दिन सफल भएको छ । यस जितसँगै फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग भेट पक्का गरेको छ ।  साथै एम्बाप्पेको यो गोल विश्वकप २०२६ मा उनको सातौं गोल बनेको छ, जसले उनलाई गोल्डेन बुटको दौडमा थप मजबुत बनाएको छ ।

क्यानडालाई ३-० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडौं । सहआयोजक क्यानडालाई ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा मोरक्कोलाई जित दिलाउन अज्जेदिन ओउनाहीले दुई गोल गरे भने सुफियान रहिमीले एक गोल थपे । खेलको ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि ८२औं मिनेटमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल थपेपछि मोरक्को ३-० को सहज जितसहित अन्तिम आठमा पुगेको हो । खेलमा क्यानडाले मोरक्कोभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेन । बल पोसेसनमा भने मोरक्को हाबी रह्यो । सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । यसअघि उसले सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । साथै, दुई पटक विश्वकप क्वार्टरफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकी टोलीसमेत बनेको छ । पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडा भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । क्यानडा विश्वकपबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना भने कायम छ ।

देशभर मनसुन सक्रिय, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्ने तथा कोशी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि साधारणतया बादल लाग्ने सम्भावना छ । हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बादल लाग्ने छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कोरला सडक सरकारको उच्च प्राथमिकतामा छः मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले छुसाङ-घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने बताए । शनिबार कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक योजनाको कार्यालयमा भएको छलफलमा मन्त्री लम्सालले कोरला सडकलाई बजेटको अभाव हुन नदिने बताए ।  कोरला सडक योजनाको निरीक्षण गर्दै मन्त्री लम्साल शुक्रबार मुस्ताङको लेतमा बसेका थिए । कोरला सडकको प्रगति बुझ्न तथा सडकको अनुगमन गर्न गएका मन्त्री लम्सालले उत्तर-दक्षिण जोड्ने कोरला सडकलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘यो साल कोरलानाकासम्मको सडकका लागि अस्फाल्ड कालोपत्रको ठेक्का खोल्नुपर्छ, हामीले के गर्नुपर्छ गर्छौं,’ मन्त्री लम्सालले भने, ‘वातावरणीय परीक्षण गरिएको छैन भने गर्नुहोला, कहाँ समस्या छ ,त्यसको सहजीकरण हामी गर्छौं ।’ कोरला सडक कालोपत्र गर्न कहाँ समस्या भइरहेको छ, त्यसको समाधानका लागि सम्बन्धित निकायलाई मन्त्रालयमा बोलाएर निष्कर्ष निकालिने उनको भनाइ छ । कोरलानाकासम्म कालोपत्र विस्तार गर्न सम्बन्धित पालिकाहरूको सहयोग भइसकेकाले अल्झिनुपर्ने कुनै ठाउँ नरहेको मन्त्री लम्सालले बताए । मन्त्री लम्साले कोरला सडकका लागि सडक तथा पुलपुलेसालगायत सबै आवश्यक पूर्वाधारको ठेक्का ‘टेन्डर’ खोलेर यो साल नै कालीगण्डकी करिडोर सडक अन्तर्गतको कोरला सडकलाई ‘कम्प्लिट’ गर्नुपर्ने उल्लेख गरे । ‘तपाईंहरू ढुक्कले काम गर्नुस्, टेन्डर खोल्नुपर्ने भए खोल्नुस्, बजेट छैन भनेर रोकिनु पर्दैन,’ मन्त्री लम्सालले आयोजनालाई निर्देशन दिँदै भने, ‘काम नगर्ने निर्माण व्यवसायको ठेक्का रद्द गर्नुस् र काम गरिरहेकालाई छिटोछरितो काम गर्ने वातावरण मिलाउनुस् ।’ कोरला सडकअन्तर्गत म्याग्दी खण्डको निरीक्षण गरेका मन्त्री लम्सालले उक्त सडकका सडक ‘एलाइमेन्ट’ परिवर्तन गर्नुपर्ने हो वा दिगो पूर्वाधार बनाउनुपर्ने त्यसको निक्र्योल गर्न आयोजना कार्यालयलाई निर्देशन दिए । आयोजनालाई सडक खन्ने उपकरणहरू समस्या भएमा त्यसको व्यवस्था मिलाइने मन्त्री लम्सालले उल्लेख गरे ।

सम्पादक समाजको भट्टेडाँडामा पत्रकार पदयात्रा

काठमाडौं । सम्पादक समाज नेपालको अभियान 'नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता' अन्तर्गत पदयात्रा सम्पन्न भएको छ । शनिबार ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौर-देउराली हुँदै बागमती गाउँपालिकामा पर्ने नेपालको हवाई उड्डयन सुरक्षाका लागि महत्वपूर्ण भट्टेडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म 'पत्रकार पदयात्रा' सम्पन्न भएको हो । करिब १०० जना पत्रकारको सहभागिता रहेको पदयात्रा टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए। सम्पादक समाज नेपालका अनुसार पदयात्राको उद्देश्य आम नागरिकका अपेक्षा र भावना नजिकबाट बुझ्ने, ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमार्फत स्थानीयको आयआर्जनमा टेवा पु¥याउने तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सञ्चारकर्मीलाई थप जिम्मेवार र संवेदनशील बनाउने रहेको छ । सम्पादक समाज नेपालले विगत चार वर्षदेखि पत्रकारिता, पर्यटन प्रवद्र्धन र वातावरणीय सचेतनालाई जोड्दै नियमित रूपमा “पत्रकार पदयात्रा“ आयोजना गर्दै आएको छ । यसअघि समाजले नुवाकोटको सुइरेचौर र लौके झरना तथा सिन्धुपाल्चोकको गुफाडाँडामा समेत पत्रकार पदयात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ ।

दैलेखमा भेटियो ११२ अर्ब घनमिटर ग्यास, नेपालमै युरिया मल उत्पादनको ढोका खुल्यो

काठमाडौं । दैलेखको जलजले क्षेत्रमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको तथ्य प्रारम्भिक अध्ययनबाट पुष्टि भएको सरकारले जनाएको छ । सरकारले यसलाई नेपालको ऊर्जा र कृषि क्षेत्रको भविष्य बदल्न सक्ने ऐतिहासिक सम्भावनाका रूपमा प्रस्तुत गरेको छ । सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदनअनुसार उक्त ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपालमै २०० मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ । साथै, दैनिक २ हजार २०० टन युरिया मल उत्पादन गर्ने आधारसमेत तयार भएको उल्लेख गरिएको छ । यसले वर्षौंदेखि किसानले भोग्दै आएको रासायनिक मल अभाव समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । प्रतिवेदनमा प्राकृतिक ग्यासबाट सवारीसाधनमा प्रयोग हुने सीएनजी र घरायसी तथा औद्योगिक प्रयोजनका लागि पीएनजी  उत्पादनको समेत उच्च सम्भावना रहेको उल्लेख छ । यसबाट आयातित इन्धनमा निर्भरता घटाउन र ऊर्जा सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ । यद्यपि, परियोजनाको सफल कार्यान्वयनका लागि ठूलो लगानी, अत्याधुनिक प्रविधि र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रमुख चुनौतीका रूपमा रहेको सरकारको भनाइ छ । सरकारले परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने, आवश्यक प्राविधिक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने तथा प्राकृतिक ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ । यदि यो परियोजना सफलतापूर्वक कार्यान्वयनमा गएमा नेपालले ऊर्जा उत्पादन, रासायनिक मल उत्पादन तथा स्वच्छ इन्धनको क्षेत्रमा आत्मनिर्भरतातर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नेपाली सेनाबाट परीक्षण उत्पादन

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ । उद्योग सञ्चालनको प्रारम्भिक चरणअन्तर्गत नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम भइरहेको सरकारको भनाइ छ । सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार सरकारको निर्णयसँगै अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत निकासा भइसकेको छ । सरकारले २०८३ असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसयता उद्योगको उत्पादन क्षमता परीक्षण गर्ने कार्य अघि बढाइएको र सञ्चालनको आधार तयार पारिएको सचिव राउतले बताए । त्यसैगरी, बन्द तथा रुग्ण अवस्थामा रहेका सात सरकारी उद्योगको सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (ड्यु डिलिजेन्स) भइरहेको उनले जानकारी दिए। उक्त प्रतिवेदन आएपछि ती उद्योग सञ्चालन गर्ने मोडालिटी सरकारले तय गर्ने उनको भनाइ छ । यसैबीच, मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका चुनढुङ्गा तथा रातो माटो खानीको म्याद सकिएको लाइसेन्स नवीकरण गर्ने निर्णयसमेत गरिसकेको सचिव राउतले बताए । यस निर्णयले उद्योग सञ्चालनलाई सहज बनाउने विश्वास गरिएको छ । सरकारले बन्द उद्योगहरू पुनर्जीवित गर्दै स्वदेशी उत्पादन र रोजगारी विस्तार गर्ने लक्ष्यका साथ आवश्यक नीतिगत तथा प्रशासनिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।