पोखराबाट दुबई उडान दिगो बनाउने कसरत, व्यवसायीसँग फ्लाइ दुबईको छलफल
काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा-दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए । पोखरा-दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनको भनाइ छ । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताए । सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए । पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबईको पोखरा-दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताए । रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो । पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ । फ्लाइ दुबईको टोलीले केही समयअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने आसमा पर्यटन व्यवसायी छन् । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । झन्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।
‘ए रुपा’बाट भाइरल बनेका प्रहरी हवल्दार
शेरबहादुर सिंह काठमाडौं । पाँच महिना अघि बजारमा आएको- ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत चर्चित छ । सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर ‘ए रुपा’ बोलको कुमाउनी प्याटनको गीतमात्रै नभएर उहाँका हरेक गीतले सुदूरका देउडा पारखीहरूको मन जितिरहेका छन् । उक्त गीत बजारमा आउँदा केही समय भाइरल भएको थियो । युट्युबमा ‘ए रुपा’ बोलको गीतले ५४ लाख भ्युज पाएको औजीको भनाइ छ । बेलाबखत लोकप्रिय देउडा गीतहरू बजारमा ल्याएर सामाजिक सञ्जालदेखि युट्युब, टिकटक लगायतमा बजार तताउने गीत ल्याउँदै आएका देउडा गायक औजीको परिचय देउडा गायकमा मात्रै सीमित छैन । औजी नेपाल प्रहरी सङ्गठनका प्रहरी सहायक हबल्दार हुन् । १७ वर्ष जागिर पार गरिसकेका औजीले आफ्नो प्रहरीको जिम्मेवारीसँगै साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिइरहेको बताउँछन् । ‘स्कुल पढ्दा देखि नै देउडा गायनमा औधी रुचि भएकाले बैतडीमा विद्यालयहरूको जिल्लास्तरीय गायनमा पनि प्रथम भएको थिएँ,’ उनले सुनाए । बैतडीको पञ्चेश्वरी गाउँपालिका-६ बिजुलमा जन्मिएका औजी २०६३ सालदेखि सुदूरपश्चिमको देउडा गाउन थालेका हुन् । ‘गाउँबाट एसएलसी पास गरेर २०६६ सालमा प्रहरी जवानमा भर्ना हुनुअघि दुईवटा गीत बजारमा ल्याइसकेको थिएँ,’ हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत औजीले भने, ‘ड्युटी सकेर ब्यारेक पस्यो, फुर्सद भयो कि गायन, नयाँ सृजनामा समय खर्चिने बानी भइसक्यो ।’ वि.सं २०६३ मा किशोरावस्थामै बैतडीबाट महेन्द्रनगर झरेर औजीले ‘घर छुट्यो, घरबार टुट्यो देउडा’ बोलको पहिलो गीत रेकर्ड गराएको बताए । पछिल्लो समय महेन्द्रनगरका कलाकार मासुम विष्टको लय र शब्द सङ्कलन तथा गायक औजीको ‘ए रुपा’ बोलको गीत सुदूरपश्चिममा मात्रै नभएर भारतको सीमावर्ती कुमाउ, पिथौरागढ र गडवाल क्षेत्रमा पनि चर्चित छ । हाल भीमदत्त नगरपालिका-५ सुकासाल बस्दै आएका औजीले सुदूरपश्चिममा एक सयभन्दा बढी गीतमा स्वर दिइसकेको बताए । औजीका दर्जनभन्दा बढी गीत अहिले पनि सुदूरपश्चिममा चर्चित छन् । ‘लागूऔषधसम्बन्धी सचेतना तथा प्रहरीका पनि गीतहरू ल्याएको छु, चलिरहेका छन् । ड्युटीपछिको मेरो गायन यात्रालाई प्रहरी सङ्गठन र घरपरिवारले साथ दिएकाले हर्षित छु,’ उनले भने । ‘प्रहरीलाई खबर गरौँ’ हरघडी आउँछ प्रहरी, सेवा गर्न आउँछ प्रहरी’ ‘घटना र दुर्घटना विपद् भएमा हरक्षण तयारी छौँ फोन गरौँ सयमा’ बोलको प्रहरीको गीत तीन वर्षअघि बजारमा औजीले ल्याएका थिए । यहाँ प्रहरीले गर्ने सचेतनामूलक कार्यक्रममा गायनमा पनि औजीले सचेतनामूलक प्रस्तुत दिने गरेका छन् । ‘मेरो पहिलो गीत ‘घर छुट्यो घरबार टुट्यो’ त्यो बेला सुदूरपश्चिमका रेडियो एफएमहरूमा पनि निकै बज्थ्यो,’ औजीले भने, ‘अहिले पनि पहिलो गीत ओझेलमा छैन, दर्शक श्रोताले मन पराएकै छन् ।’ सुदूरपश्चिमका अर्का परिचित देउडा गायक महेशकुमार औजी गायक शेरीराम औजीका साङ्गीतिक क्षेत्रका एक प्रेरणा हुन् । ‘महेश औजी नाताले पनि दाई पर्नुहुन्छ । घरका सबै सदस्यहरूले पनि मेरो गायनको यात्रालाई प्रोत्साहन गरिरहन्छन्,’ उनले भने । उनले सुदूरका नौवटै जिल्लाको कला, संस्कृति पर्यटकीय गन्तव्य समेटिएको देउडा गीत ‘मेरी माया शीतलु छायाँ’ सुदूरपश्चिममा अर्को लोकप्रिय देउडा गीत हो । प्रहरीको ड्युटी सकेर फुर्सदमा गीतसङ्गीतकै दुनियाँमा समय खर्चिने औजी बिदाका बेला सुदूरपश्चिममा हुने मेला महोत्सवमा पनि स्टेज प्रस्तुति दिने गर्छन् । ‘ड्युटी मेरो पहिलो प्राथमिकता हो । गीतसङ्गीतलाई पनि निरन्तरता दिने योजनासहित साङ्गीतिक क्षेत्रलाई पनि सँगै लगेको छु,’ उनले भने । उनले देउडा गीतहरू स्रोता दर्शकहरूले निकै मन पराएकै कारण देउडा गायनमा गरेको लगानीको प्रतिफल राम्रै आइरहेको बताए । ‘यहाँसँगै भारतीय सीमावर्ती क्षेत्रबाट पनि साङ्गीतिक प्रस्तुतिका लागि बोलावट हुन्छ । समय मिलेमात्रै प्रस्तुतिका लागि जाने गरेको छु,’ उनले भने । रासस
छाडा पशु छाड्नेलाई कारबाही, ५ सय पशु नियन्त्रणमा लिई ७ लाख जरिवाना
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशु चौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशु चौपायाका कारण मानवीय जोखिम बढेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले ५ सयभन्दा बढी छाडा पशु चौपाया नियन्त्रणमा लिई ७ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन गरेको छ । छाडा पशुबाट मानिसमा हुने जोखिम तथा प्लास्टिकजन्य फोहोरका कारण पशुमा पर्ने असर कम गर्न आइतबार जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले आयोजना गरेको छलफल तथा अन्तरक्रियामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुर धाममा छाडा पशु चौपायाको समस्या चुनौतीपूर्ण बन्दै गएकाले छाडा चौपाया नियन्त्रणका लागि कडा कदम चालेको बताए । पशु सडकमा छाड्ने व्यक्तिलाई उपमहानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले पछिल्लो समय छाडा पशु नियन्त्रणमा लिई छाड्ने व्यक्तिबाट ७ लाख रुपैयाँ जरिवाना सङ्कलन भएको बताए । प्रमुख साहका अनुसार छाडा पशु नियन्त्रणमा लिई वडा नं १२ मा रहेको पशु गौशालामा करिब ५ सयभन्दा बढी पशु चौपाया राखिएका छन् । नियमको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले छाडा पशु नियन्त्रणको काम स्थानीय तहले मात्र गर्न नसक्ने भएकाले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारणको साझा सहकार्य आवश्यक रहेको बताए । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जयकुमार यादवले छाडा पशु व्यवस्थापनलाई केवल स्थानीय तहको विषयका रूपमा नभई सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र पशु कल्याणसँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । उनले प्लास्टिकजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनका कारण पशुहरूको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै प्लास्टिकको प्रयोग न्यूनीकरण र उचित फोहर व्यवस्थापनमा जोड दिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनुषाका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले प्लास्टिक अहिले मानव जीवनको अभिन्न अङ्ग बने पनि यसको जथाभावी प्रयोग र व्यवस्थापनका कारण पशुहरू सबैभन्दा बढी प्रभावित भइरहेको बताए । सडकमा फालिएका प्लास्टिकका झोला र अन्य फोहोरसँगै खाद्यवस्तु खाँदा गाईवस्तुलगायत पशुको पेटमा प्लास्टिक जम्मा हुने, त्यसले पाचन प्रणालीमा समस्या सृजना गर्ने, उत्पादन क्षमता घट्ने तथा कतिपय अवस्थामा पशुको मृत्यु नै हुने अवस्था देखिएको उनले जानकारी दिए ।
आज रातिसम्म देशका धेरै ठाउँमा वर्षा, केही क्षेत्रमा भारी पानीको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा
काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै सनसनीपूर्ण रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए । खेल अतिरिक्त समयमा जाने अनुमान भइरहेका बेला उनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यससँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याएका छन् । ब्राजिलले खेलको इन्ज्युरी नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि त्यसअघि नर्वेले बनाएको अग्रता जोगाउन सफल भयो । नेयमार दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलले खेलभर बलमा नियन्त्रण राखे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । नर्वेका गोलरक्षक ओर्यान न्यालान्डले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे । यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल भने लगातार छैटौं विश्वकपमा युरोपेली टोलीसँग नकआउट चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
क्यामेराको आँखाबाट उम्किएनन् चालक, एक वर्षमा ३८ हजारभन्दा बढी कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ । सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ । कार्यालयका अनुसार प्रविधिमार्फत निगरानी बढाएपछि कारबाहीमा पर्ने सवारी चालकको सङ्ख्या उल्लेख्य बढेको छ । कार्यालयले एक वर्षमा कुल ३८ हजार ७७८ जना चालकलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ‘चालकले सिटबेल्ट लगाएको छ वा छैन, सवारी चलाउँदै मोबाइल फोन प्रयोग गरेको छ वा छैन, धूमपान गरेको छ वा छैन भन्ने विवरणसमेत क्यामेराले रेकर्ड राख्छ’, उनले भने,‘चालकले ट्राफिक नियम उल्लङ्घन गरेको पुष्टि भएपछि सम्बन्धित चालकलाई कानुनअनुसार कारबाही गरेका छौं ।’ ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने सवारी चालकलाई उक्त क्यामेरामार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारबाही गरिँदै आइएको छ । साथै एएनपिआर क्यामेराले सवारीसाधनको नम्बर प्लेट मात्र होइन, चालकको गतिविधिसमेत निगरानी गर्ने गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार २०८२ वैशाखदेखि २०८३ असार २० गतेसम्म एएनपिआर क्यामेराको सहायताले १५ हजार ९५४ जना चालकलाई कारबाही गरिएको छ । त्यस्तै, सोही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट २२ हजार ८२४ जना चालकलाई जरिवानासहित कारबाही गरिएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनका अनुसार कुनै सवारी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका सवारीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कारबाही गर्न सहज भएको छ । उनले भने, ‘दुर्घटना गराउने सवारी चालक भागे पनि उक्त सवारीको रङ, नम्बर प्लेट वा अन्य विवरणका आधारमा सम्बन्धित सवारी धनीसम्म पुगेर आवश्यक कानुनी कारबाही गर्ने गरेका छौं ।’
हरित अभियानमा नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरम
काठमाडौं । वातावरण संरक्षण र शहरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंक लिमिटेडले संयुक्त रूपमा टोखा नगरपालिका-२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेका छन् । वृक्षारोपण कार्यक्रम नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेको ‘नबिल ग्रीन वीक’ अभियानको एक महत्वपूर्ण गतिविधिका रूपमा आयोजना गरिएको हो । अभियानको उद्देश्य जलवायु परिवर्तन न्यूनीकरण, हरित वातावरण प्रवर्द्धन तथा दिगो विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’का संयोजक बासु गौतमसहित फोरमका पदाधिकारी, बैंकका कर्मचारी, ग्रीन भोलेन्टियर्स र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले वातावरण संरक्षण आजको विश्वको साझा प्राथमिकता भएको उल्लेख गर्दै बैंकले आफ्ना संस्थागत गतिविधिलाई संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग जोडेर अघि बढाइरहेको बताए । उनले ‘नबिल ग्रीन वीक’ जस्ता अभियानले हरियाली वातावरण विस्तार गर्नुका साथै आगामी पुस्तालाई स्वच्छ र स्वस्थ पर्यावरण हस्तान्तरण गर्ने लक्ष्य बोकेको स्पष्ट पारे । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक बासु गौतमले वातावरण संरक्षण अभियानमा सहकार्य गरेकोमा नबिल बैंक र स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै रोपिएका २०० एभोकाडोका बिरुवाले शहरी हरियाली विस्तारका साथै भविष्यमा स्थानीय समुदायलाई वातावरणीय र आर्थिक रूपमा समेत लाभ पुग्ने विश्वास व्यक्त गरे । आयोजकका अनुसार वृक्षारोपण अभियानले वातावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो र हरित समाज निर्माणमा सामुदायिक सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद साउन ३ गतेसम्म थप
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यको समयावधि साउन ३ गतेसम्म थप गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले यसअघि असार २० गतेसम्म कायम गरिएको समयसीमा थप गर्ने निर्णय गरेको हो । वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य जारी रहेकाले सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समयावधि साउन ३ गतेसम्म थप गरिएको पार्टीले जनाएको छ । बैठकले क्रियाशील सदस्यता अद्यावधिक र वितरणका क्रममा कुनै समस्या वा गुनासो प्राप्त भएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने निर्णय पनि गरेको छ । त्यस्तो सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक छानबिन गरी क्रियाशील सदस्यता अद्यावधिक तथा व्यवस्थापनको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।