कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद साउन ३ गतेसम्म थप

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यको समयावधि साउन ३ गतेसम्म थप गरेको छ ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले यसअघि असार २० गतेसम्म कायम गरिएको समयसीमा थप गर्ने निर्णय गरेको हो ।

वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य जारी रहेकाले सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समयावधि साउन ३ गतेसम्म थप गरिएको पार्टीले जनाएको छ ।

बैठकले क्रियाशील सदस्यता अद्यावधिक र वितरणका क्रममा कुनै समस्या वा गुनासो प्राप्त भएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने निर्णय पनि गरेको छ ।

त्यस्तो सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आवश्यक छानबिन गरी क्रियाशील सदस्यता अद्यावधिक तथा व्यवस्थापनको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।
 

Share News