ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा

हालान्डले गरे २ गोल

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै सनसनीपूर्ण रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक खेलमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए । खेल अतिरिक्त समयमा जाने अनुमान भइरहेका बेला उनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यससँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्याएका छन् ।

ब्राजिलले खेलको इन्ज्युरी नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि त्यसअघि नर्वेले बनाएको अग्रता जोगाउन सफल भयो । नेयमार दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलले खेलभर बलमा नियन्त्रण राखे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । नर्वेका गोलरक्षक ओर्यान न्यालान्डले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे ।

यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिल भने लगातार छैटौं विश्वकपमा युरोपेली टोलीसँग नकआउट चरणमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Share News