काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत सङ्कलित फारामहरूको कोडिङ, इडिटिङ र तथ्याङ्क प्रविष्टी कार्यका लागि करार सेवामा १८० जना जनशक्ति करारमा भर्ना गर्ने भएको छ । कार्यालयले कोडर ६० जना र डाटा इन्ट्री अपरेटर १२० जना करारमा भर्ना गर्न लागेको हो ।
दुवै पदमा करार अवधि बढीमा चार महिनाको रहनेछ । कोडर पदका लागि स्नातक तह उत्तीर्ण र डाटा इन्ट्री अपरेटरका लागि १०+२ वा सो सरह उत्तीर्ण योग्यता तोकिएको छ । कोडरको सेवा सुविधा कार्यसम्पादनमा आधारित प्रति प्रश्नावली ४ रुपैयाँ र डाटा इन्ट्री अपरेटरको प्रति स्ट्रोक ४ पैसा निर्धारण गरिएको छ ।
कार्यालयका अनुसार इच्छुकले १५ दिन अर्थात् साउन ४ गतेभित्र दरखास्त फाराम भरी राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा बुझाउनुपर्नेछ । दरखास्त फाराम राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट तथा आर्थिक गणनाको पोर्टलमार्फत डाउनलोड गर्न सकिनेछ ।
कार्यालयले म्याद नाघी वा रीत नपुगी आएका दरखास्त उपर कुनै कारबाही नगरिने जनाएको छ । सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत उम्मेदवार छनोट गरिनेछ भने सम्बन्धित कामको अनुभव भएकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।