विकासन्युज

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।      केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ ।  केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।  

ज्ञान उदासलाई देवकुमारी थापा स्मृति पुरस्कार

विराटनगर । देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ ।  विसं २०१८ देखि साहित्य सेवामा निरन्तर सक्रिय उदासका सातवटा कविता सङ्ग्रह प्रकाशित छन् ।  यो सम्मान विसं २०६८ देखि प्रदान गर्न थालिएको हो, जुन यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर पुनजस्ता वरिष्ठ व्यक्तित्वहरूले प्राप्त गरिसकेका छन् ।      त्यसैगरी, गुठीले २५ हजार रुपैयाँ राशिको बबरसिंह थापा स्मृति सम्मान चलचित्र निर्देशक सङ्गीता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । श्रेष्ठले ‘कथा काठमाडौं’जस्ता चलचित्र र ७० भन्दा बढी ‘म्युजिक भिडियो’को निर्देशन गरेका छन् ।    

बिहीबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रूपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यसैगरी चाँदीको मूल्य तोलामा ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।  

रूसका परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनाललाई दिए बधाई

काठमाडौं । रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । यहाँस्थित रुसी राजदूतावासका अनुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी  लाभरोभले बुधबार एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् । दुई देशबीचको दीर्घकालीन सम्बन्धको चर्चा गर्दै उनले रूस र नेपालबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको सन्देशमा उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री लाभारोभले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा सहकार्य प्रवर्द्धन गर्न मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।  सन्देशमा रूसी परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनालको सुस्वास्थ्य तथा कार्यकालको सफलताको कामना पनि गरेका छन् ।    

आर्थिक गणना वैशाख २ गतेदेखि

सिरहा । सिरहामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ ।   जिल्ला तथ्याङ्क कार्यालयले बुधबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको हो ।  प्रमुख तथ्याङ्क अधिकृत विमल यादवका अनुसार यो गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ ।   आर्थिक विकासको वस्तुगत अवस्था चित्रण गर्ने उद्देश्यले देशभरि नै सञ्चालन हुन लागेको यो कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ, प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण सङ्कलन गरिनेछ ।  गणनाका क्रममा ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका प्रमुख आर्थिक क्रियाकलापलाई समेटिने अधिकृत यादवले जानकारी दिए । जिल्लाभर ६० जना गणक परिचालन गरिने जनाइएको छ ।   

ललितपुर महानगरले सञ्चालनमा ल्यायो ‘वातावरण भ्यान’

काठमाडौं । ललितपुर महानगरपालिकाले वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको छ । महानगरले बिहीबार एक कार्यक्रमबीच  ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको हो । महानगरका मेयर चिरीबाबु महर्जनले उक्त भ्यानको उद्घाटन गरेका हुन् । यो भ्यानमार्फत विभिन्न वडामा पुगेर फोहोर वर्गीकरण, पुनःप्रयोग  र वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै विद्यालय तथा समुदाय स्तरमा वातावरणमैत्री व्यवहार प्रवर्द्धन गर्ने उद्देश्य समेत रहेको महानगरले जनाएको छ । महानगरका अनुसार ‘वातावरण भ्यान’ले स्थानीय बासिन्दालाई घरमै फोहोर छुट्याउने अभ्यासतर्फ प्रेरित गर्नुका साथै दिगो सहरी व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।   

नयाँ वर्षमा सेगवे ई११०एल स्कुटर पुनः नेपाली बजारमा

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर अफरसहित पुनः नेपाली बजारमा उपलब्ध गराइएको छ । नेपाली बजारमा लोकप्रिय बनेको उक्त मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ मूल्यमा बिक्री सुरु गरिएको हो । सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले सार्वजनिक गरेको अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग प्राप्त गर्नेछन् । साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) समेत समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो २५ ग्राहकका लागि ‘अर्ली बर्ड’ छुटसमेत घोषणा गरिएको छ, जसअन्तर्गत खरिद गरिने मोडेलअनुसार अधिकतम रु. ४१ हजारसम्म बचत गर्न सकिनेछ । दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको सेगवे ई११०एलमा २४०० वाट क्षमताको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क उत्पादन गर्छ । स्कुटरको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ भने १५ डिग्रीभन्दा बढी उकालो सहज रूपमा पार गर्न सक्षम रहेको कम्पनीको दाबी छ । ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्री प्रयोग गरिएको यस स्कुटरले एकपटक चार्ज गर्दा ६० देखि ११० किलोमिटरसम्म यात्रा गर्न सक्छ । २७ लिटर बुट स्पेस तथा रिभर्स मोडले सहरभित्रको प्रयोगलाई थप सहज बनाएको छ । राइडिङ अनुभव सुधार गर्न हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम, एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेक जडान गरिएको छ । १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण विभिन्न सडक अवस्थाका लागि स्कुटर उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसमा जीपीएस ट्र्याकिङ, रिमोट एक्सेस, एन्टी–थेफ्ट सिस्टम, क्रुज कन्ट्रोल तथा रिजनरेटिभ ब्रेकिङजस्ता स्मार्ट फिचरहरू समावेश छन् । साथै इलेक्ट्रोनिक सिट लक, म्याट्रिक्स एलईडी हेडलाइट, रियर इन्डिकेटर, बीएमएस ५.० सिस्टम र आईपीएक्स–४ रेटिङले सुरक्षा र प्रयोग सुविधा थप मजबुत बनाएको छ ।

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा

काठमाडौं ।  ग्लोबल टेक जाएन्ट जेडटिईले नयाँ गेमिङ्ग फ्ल्यागशिप स्मार्टफोन जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन हो ।  जेडटिईको हाइ पर्फर्मेन्स नुबिया रेड म्याजिक सिरिजअन्तर्गत पर्ने यो गेमिङ्ग स्मार्टफोन नेपालमा तीव्र रूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले उत्कृष्ट पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले प्रविधि र लामो समय टिक्ने ब्याट्री क्षमता प्रदान गर्दछ । यस गेमिङ्ग फोनको आगमनसँगै विश्वव्यापी रूपमा परिचित रेड म्याजिक गेमिङ्ग ब्रान्ड नेपालमा पहिलो पल्ट औपचारिक रुपमा प्रवेश गरेको छ । जेडटिईको नुबिया लाइन-अप अन्तर्गतको प्रिमियम गेमिङ्ग सब-ब्रान्ड रेड म्याजिकले एड्भान्स्ड कुलिङ सिस्टम, हाइ  रिफ्रेस रेट डिस्प्ले र पर्फर्मेन्स-केन्द्रित इन्जिनियरिङ सहित विशेष रूपमा तयार गरिएका गेमिङ्ग स्मार्टफोनहरू प्रदान गर्दै ई–स्पोर्ट्स र मोबाइल गेमिङ्ग क्षेत्रमा बलियो विश्वव्यापी प्रतिष्ठा निर्माण गरेको छ। नेपाली बजारमा यस गेमिङ्ग फोनको प्रवेशले ब्रान्डको विश्वव्यापी विस्तार रणनीतिलाई मात्र प्रतिबिम्बित नगरी नेपालमा विकास भइरहेको गेमिङ्ग इको-सिस्टमको परिपक्वतालाई पनि देखाएको छ, जहाँ गेमरहरु परम्परागत स्मार्टफोन भन्दा पनि विशेष गरी गेम खेल्नकै लागि बनेको गेमिङ्ग फोनको खोजीमा छन् । अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन भनिएको जेडटिई रेड म्याजिक ११ प्रोले हाइ पर्फर्मेन्स चाहने गेमरहरूका लागि हार्डवेयर र सफ्टवेयरको शक्तिशाली संयोजन प्रस्तुत गर्दछ । स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भएको यस गेमिङ्ग  स्मार्टफोनले हेभी प्रयोग गर्नुपर्ने अवस्थाहरूमा पनि सहज मल्टिटास्किङ र अत्यन्त स्मूथ गेम प्ले सुनिश्चित गर्दछ । नेपालमा तीव्र रूपमा विस्तार भइरहेको मोबाइल गेमिङ्ग इकोसिस्टमको लागि यस जेडटिई रेड म्याजिक ११ प्रो गेमरहरुको निर्विकल्प छनोट हुने कम्पनिले विश्वास लिएको छ । फ्लुइड भिजुअल र हाइ रेस्पोन्सिभनेसको लागि जेडटिई रेड म्याजिक ११ प्रोमा १४४ हर्ट्जको रिफ्रेस रेट सहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ । तीव्र गतिका गेमिङ्ग टाइटलहरू र भिडियो स्ट्रिमिङको प्रयोग गरिरहनुपर्ने नेपालका गेमर तथा कन्टेन्ट कन्ज्यूमरहरूका लागि यस्तो उच्च रिफ्रेस रेट विशेष गरी अत्यन्त उपयोगी छ । यसमा भएको थ्री डि अल्ट्रा सोनीक इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सरले सिमलेस एक्सेस प्रदान गर्दछ भने २३० ग्रामको हल्का तौलले प्रिमियम अनुभव र फंक्सनालीटी दुवै प्रदान गर्दछ । ९५.३५ स्क्रिन-टु-बडी रेसियो भएकोले इमर्सिभ एज-टु-एज अनुभव प्रदान गर्दछ । यस फोनमा आइपी ६८ वाटर रेसिस्टेन्स पनि रहेको छ ।  ८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सहितको ७५०० एमएएचको शक्तिशाली ब्याट्रीले बारम्बार चार्ज गर्नुपर्ने झन्झट बिना लामो समयसम्म फोन प्रयोग गर्न सकिन्छ, जुन दिनभरि गेमिङ्ग, स्ट्रिमिङ र सञ्चारका लागि स्मार्टफोनमा निर्भर रहने नेपाली प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्वपुर्ण सुविधा रहेको छ । ब्लुटुथ ५.४ सपोर्ट तथा अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूले समग्र प्रयोग अनुभवलाई अझ सुदृढ बनाएको छ । लिक्विड इन्जेक्टेड कूलिंग मास्टर गरिएकोले पर्फर्मेन्समा कुनै ल्याग हुँदैन । एडभान्सड कूलिंग आर्किटेक्चरमा १३११६ mm२ भेपर च्याम्बर समावेश भएकोले  जतिसुकै कडा गेम भए पनि खेल्न सहज हुन्छ । डबल साइडेड हिट कण्डक्सनले  ५०५ ताप बाहिर निस्किने भएकोले फोन तातिने समस्या हुदैन । ब्लुटुथ ५.४ सपोर्ट र अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूको साथ यस स्मार्टफोनले समग्र प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउने दाबी कम्पनिले गरेको छ । क्यामराको कुरा गर्दा जेडटिई रेड म्याजिक ११ प्रोमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सर सहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसले विभिन्न परिस्थितिहरूमा उच्च गुणस्तरीय तस्बिरहरु खिच्न सक्छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले स्पष्ट सेल्फी र भिडियो कलको सुविधा प्रदान गर्दै सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरहरु र दैनिक प्रयोगकर्ताहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्दछ । लन्चमा बोल्दै जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले भने, 'नेपालमा रेड म्याजिक सिरिजको आगमन हाम्रो विश्वव्यापी गेमिङ्ग रणनीतिमा एक महत्वपूर्ण कदम हो । रेड म्याजिकले गेमिङ्ग स्मार्टफोन  सिरिजमा निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको छ, र हामी विश्वस्त छौँ कि रेड म्याजिक ११ प्रोले हाई पर्फर्मेन्स र एडभान्स टेक्नोलोजी खोज्ने नेपाली प्रयोगकर्ता गेमरहरूमा सशक्त रूपमा प्रभाव पार्नेछ। नेपाल एक गतिशील र तीव्र रूपमा वृद्घि भइरहेको बजार हो, र हामी यसको डिजिटल विकासलाई साथ दिन हाम्रो सबैभन्दा एडभान्स्ड प्रविधिहरू ल्याउन प्रतिबद्ध छौँ ।' त्यस्तै शंकर ग्रुप एवम् जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले भने, 'नेपालमा पहिलोपटक जेडटिई रेड म्याजिक ११ प्रो औपचारिक रूपमा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौँ । हाई पर्फर्मेन्स युक्त गेमिङ्ग स्मार्टफोनको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा, जेडटिई रेड म्याजिक ११ प्रो नेपाली गेमरहरूको अपेक्षा पूरा गर्नेछ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ । यो लन्चले विश्वव्यापी रूपमा परिचित र प्रविधिगत रूपमा एडभान्स्ड उत्पादनहरू नेपाली बजारमा ल्याउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।' १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध रेड म्याजिक ११ प्रोको मूल्य रु १,६४,९९९ निर्धारण गरिएको छ र यो नेपालभर आधिकारिक वितरकहरू शंकर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत उपलब्ध हुनेछ। शून्य प्रतिशत किस्ता योजनामार्फत पनि स्मार्टफोन उपलब्ध भएकाले  गेमरहरुलाई प्रिमियम गेमिङ्ग अनुभवमा अपग्रेड गर्न अझ सहज हुने भएको छ । लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूले रु ५,००० क्यास ब्याकसँगै रु २०,००० बराबरको रेड म्याजिक गेमिङ्ग कन्सोल निःशुल्क प्राप्त गर्न सक्नेछन् । रेड म्याजिक ११ प्रोको लन्चसँगै जेडटिईले नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै प्रयोगकर्ता-केन्द्रित एडभान्स्ड प्रविधिहरू बजारमा ल्याइरहेको छ । कम्पनीले नेपालका मोबाइल-फर्स्ट पुस्ताको आजको आवश्यकताहरूलाई समर्थन गर्दै डिजिटल जीवनशैलीलाई सुदृढ बनाउने अत्याधुनिक प्रविधिहरू प्रदान गर्न निरन्तर ध्यान केन्द्रित गरिरहेको छ ।