विकासन्युज

किस्ता नतिर्नेलाई सञ्चय कोषको चेतावनी, चैतभित्र नबुझाए असुली प्रक्रिया अघि बढाइने

काठमाडौं । कर्मचारी सञ्चय कोषले घरजग्गा धितोमा आधारित विभिन्न सापटी लिएका तर किस्ता नियमित नगरेका सञ्चयकर्तालाई तोकिएको समयभित्र रकम बुझाउन आग्रह गरेको छ । कोषको सञ्चयकर्ता कर्जा विभाग लगनखेल तथा विभिन्न शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी (साबिक सरल चक्र कर्जा) र जग्गा खरिद सापटी लिएका ऋणीले आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको किस्ता रकम चैत मसान्तभित्र बुझाउनुपर्ने जनाएको छ । कोषले नियमित रूपमा त्रैमासिक किस्ता बुझाउने ऋणीलाई ब्याजदरमा ०.२५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर, किस्ता नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता कर्जा असुली विनियम, २०७१ अनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । किस्ता भुक्तानीका लागि कनेक्ट आईपीएस, कोषको मोबाइल एप, विभिन्न बैंकका मोबाइल बैंकिङ सेवा तथा कोषको वेबसाइटमार्फत अनलाइन प्रणाली प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । साथै, तोकिएका बैंक खातामार्फत रकम जम्मा गरी भौचर इमेलमार्फत पठाउन पनि सकिने कोषले जनाएको छ । कोषले केवाईसी अद्यावधिक नगरेका सञ्चयकर्तालाई नजिकको कार्यालयमा उपस्थित भई यथाशीघ्र केवाईसी अपडेट गर्न अनुरोध गरेको छ । कर्मचारी सञ्चय कोषले सबै ऋणी सञ्चयकर्तालाई समयमै किस्ता बुझाई थप जरिवाना र कारबाहीबाट बच्न आग्रह गरेको छ । 

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र धेरै अपेक्षा

एकराज पाठक काठमाडौं । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसदको भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसदले नै मुलुकको कार्यकारिणी सरकार निर्माण गर्दछ र त्यही सरकारले देश र जनताका लागि काम गर्छ । यसकारण मुलुकको संसद् र सरकार दुवैले जनताको आशा, अपेक्षा र आकाङ्क्षाको प्रतिनिधित्व गर्नुपर्दछ । हालै सम्पन्न निर्वाचनमार्फत प्रतिनिधिसभामा उल्लेख्य सङ्ख्यामा युवा तथा नयाँ अनुहार जनताका प्रतिनिधिका रूपमा छानिएका छन् । विगतको संसद्मा प्रतिनिधित्व गर्ने अनुहारसँग तुलना गर्ने हो भने हालको प्रतिनिधित्व खासमा नाति पुस्तामा सरेको छ । केही दिनअघि संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराइरहेको दृश्यबाट त्यस्तै देखिन्थ्यो । यो नयाँ ऊर्जा, नयाँ सोच र नवीन ‘एजेन्डा’ बोकेको उमेर पनि हो र यसले जनताको भावना र चाहनाको पनि प्रतिनिधित्व गर्दछ । नयाँ जनादेशसहित अब बस्न लागेको संसदको अधिवेशन केवल औपचारिक बैठकमा मात्र सीमित नभएर देशको दिशा निर्धारण गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो । युवा संसदहरूको उपस्थितिले यो अधिवेशन अझ परिणाममुखी, उत्तरदायी र जनमुखी हुनुपर्छ । सुशासनको स्थापना र भ्रष्टाचार नियन्त्रण वर्तमान सरकार र संसदको पहिलो प्राथमिकता हो । हुन त यो यसअघिका सरकार र संसदको पनि प्राथमिकताकै विषय हो, तर हिजो ती प्राथमिकता केवल भाषणमा  सीमित रहे । त्यसैकारण परिणाम पनि निस्किएन । वर्तमान संसद् र सरकार जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको हो । सो आन्दोलनको पहिलो र प्राथमिक ‘एजेन्डा’ भनेकै सुशासन र भ्रष्टाचारको अन्त्य हो । यसकारण पनि भ्रष्टाचारविरुद्ध कडा नीति, कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनका उपायहरू यो संसदले तय गर्नुपर्छ । सार्वजनिक निकायहरूको पारदर्शिता बढाउने र जिम्मेवार बनाउने विषयमा संसदले ठोस भूमिका खेल्नुपर्छ । संसद् सबै राजनीतिक दलहरूका आवाज र योजना मुखरित हुने थलो हो । विपक्षी दलहरूले अघि सार्ने योजना र उनीहरूले राख्ने गुनासा पनि पहिले संसदमै आउँछन् र संसदको बाटो भएरै सरकार समक्ष पुग्ने गर्दछन् । यसकारण पनि यस विषयमा संसद् अझ बढी जागरूक र चनाखो हुनुपर्ने अवस्था छ । यो उद्देश्य प्राप्तिका लागि सबैभन्दा पहिले नयाँ संसदले जनताको विश्वास जित्न पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिनुपर्दछ । हिजोका दिनमा संसद् प्रतिको जनताको बुझाइ र भोगाइमा व्यापक परिवर्तन ल्याउनु जरुरी छ । विगतको त्यो निराशा र अविश्वासलाई चिर्न संसदले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्दै प्रत्येक निर्णय र गतिविधि जनउत्तरदायी र जनमुखी बनाउन आवश्यक छ । संसदका छलफलहरू पनि केवल संसदीय व्यवस्थाको निरन्तरता र शब्दजालले भरिएका लम्बेतान बहस मात्र नभएर सार्थक, तथ्यपरक र जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित हुनु जरुरी छ । जनतालाई दिनुपर्ने ‘डेलिभरी’का विषमा केन्द्रित नीति तथा कानुन निर्माण अबको संसदको मुख्य आकर्षण हुनेछ । यस विषयमा यो संसदले नवीनता र व्यावहारिकता थप्ने अपेक्षा जनताको छ । युवा संसदहरूको आगमनले सूचना प्रविधिको विकास, नवप्रवर्तनसहितको उद्यमशीलता, रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य सेवाको विस्तार जस्ता क्षेत्रमा नयाँ सोचले प्रवेश पाउने अपेक्षा छ । देशका विद्यमान समस्या जस्तै बेरोजगारी, गरिबी, भ्रष्टाचार र असमानताको समाधानतर्फ केन्द्रित एजेन्डा पनि संसदले सुरुमै तय गर्नुपर्दछ । संसद्मा एउटै पार्टीको बहुमत नरहेको धेरै समय भयो, जसकारण मुलुकमा राजनीतिक स्थिरता छैन । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट मात्र होइन दुई तिहाइ नजिकको जनमत हासिल गरेकाले यो जनमतको सम्मान गर्दै हिजोका दिनमा संसदभित्र देखिने गरेका दलहरूबीचका शक्ति सङ्घर्ष एवं संसदकै गरिमा घटाउने खालका क्रियाकलापहरू हुन दिने छैन । यसकारण राष्ट्रिय हितका मुद्दाहरूमा संसदले साझा समझदारी कायम गर्दै सहकार्यको संस्कृति विकास गर्ने अपेक्षा छ । बहस र आलोचना त संसद्मा हुन्छ नै, त्यो पनि आवश्यकताको सिद्धान्तका आधारमा होस् र विकास र समृद्धिको मार्गमा संसदीय कारबाही अघि बढोस् भन्ने आशा सबै नेपाली जनताले राखेका छन् ।  हिजोका दिनमा सांसदहरूले जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सकेनन् । उनीहरू चुनाव जितेर राजधानी फर्किएपछि प्रायः गाउँ फर्किएनन् । यो कसैप्रतिको आरोप नभएर प्रतिनिधिसभाको गत निर्वाचनमा जनताले नै मत माग्न जाने उम्मेदवारहरूसँग गरेको गुनासो हो । वर्तमान संसदका प्रतिनिधिहरूले कम्तीमा पनि आफ्ना मतदाताको आवाज बन्नुपर्ने दायित्वलाई नभुलून् र नियमित रूपमा जनतासँग संवाद गरी समाधानका प्रयास गरून् । यो जनताको अपेक्षा हो र यसले लोकतन्त्रलाई अझ सशक्त पनि बनाउनेछ । विकास निर्माण होस् या अन्य कुनै अग्रगामी योजना तर्जुमा, सबैभन्दा जटिलता र समस्या देखाउने गरिएको विषय कानुनको अभाव हो । धेरै काम कानुनको अभावले रोकिएका र कतिपय योजनाको ढिलाइमा कानुन नै बाधक देखिने गरेको विगतमा धेरै सुनिएको हो । यसकारण पनि यी सबै बाधा-व्यवधानहरूको अध्ययन गरी प्रभावकारी कानुन निर्माण संसदको यो अधिवेशनको प्राथमिकतामा पर्नुपर्दछ । यो अधिवेशनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित कानुनहरूलाई प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सुशासनका क्षेत्रमा सुधार ल्याउने विधेयकहरू ल्याएर छिटो पारित गर्नुपर्ने आवश्यकता छ । सरकारको कामको निगरानी त संसदको मुख्य काम हो नै । संसदले नै सरकारलाई कामयाबी र जवाफदेही बनाउनु पर्दछ । मन्त्रीहरूलाई कामका विषयहरूमा प्रश्न गर्ने, कामको प्रगति माग्ने र समीक्षा गर्ने अनि आवश्यक निर्देशन दिने कार्य पनि संसदको हो । त्यसैले यस काममा पनि संसद् सक्रिय हुनु जरुरी छ । यसैगरी, आर्थिक विकास र बजेट तयारीको दिशामा पनि यो संसद् थप सक्रिय हुनुपर्दछ । खासमा सरकारले सुशासन र विकासका कामहरू दिने र सेवाको ‘डेलिभरी’ दिने काम बजेटमार्फत गर्नुपर्ने हुन्छ । यसकारण देशको आर्थिक अवस्था सुधार गर्न दीर्घकालीन योजना, लगानीमैत्री वातावरण, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित छलफललाई संसद्ले थप सिर्जनात्मक र प्रभावकारी बनाउनुपर्ने हुन्छ । यो पनि वर्तमान संसद्को आगामी बजेटका लागि एक प्रकारको स्पष्ट मार्गदर्शन हो । कतिपय पुराना राम्रा योजना तथा कार्यक्रमलाई निरन्तरता दिए पनि यो सरकारले कामको ‘मोडालिटी’ भने नयाँ नै प्रस्तुत गर्नुपर्ने छ । युवामैत्री र नवीन एजेन्डा नै वर्तमान सरकारले अघि बढाउनुपर्दछ । यसका लागि आवश्यक पर्ने नियम, कानुनमा यो संसदले ध्यान दिनुपर्ने हुन्छ । नयाँ सांसदहरूले ‘स्टार्टअप’, ‘डिजिटल’ अर्थतन्त्र, प्रविधि, नवप्रवर्तन जस्ता विषयमा विशेष प्राथमिकता दिनुपर्छ र यसका लागि आवश्यक कानुन निर्माणमा जुट्नुपर्दछ । खासमा यसले नै मुलुकलाई आधुनिक विकासतर्फ अघि बढाउन मद्दत गर्नेछ । राष्ट्रिय एकताका साथै मुलुकको निकासका लागि आवश्यक पर्ने सहकार्यको वातावरण निर्माण गर्ने थलो संसद् हो । संसदीय प्रजातन्त्रमा संसद् विपक्षीहरूको सत्ता हो भनिन्छ । विपक्षी दलहरूले आफ्ना कुरा सदनमै राख्छन् र सरकारको ध्यानाकर्षण गराउँछन् । सरकारले पनि विपक्षीहरूको मागको तथा जनताका आवाजको जवाफ सदनमै दिनुपर्दछ । त्यसैले दलहरूबीच सहकार्यको भावना विकास गर्दै राष्ट्रिय हितका मुद्दामा एकजुट भएर काम गर्न यो संसद्को अभिभारा गहन हुन आउँछ । विगतमा संसद् अवरोधको शृङ्खला हामीले निकै लामो देख्दै आएका छौँ । संसद् अवरोध हुने बहाना विपक्षीहरूले खोजी नै रहेका हुन्छन् । यसलाई पनि सरकारले समयमै सम्बोधन गर्नुपर्दछ । संसद्लाई सिधै जनतासँग जोड्नका लागि संवाद र सहकार्य जरुरी छ । सरकारले पनि संसदलाई बिजनेस दिनुपर्ने हुन्छ अनि संसदले सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्दछ । संसद्मा मन्त्रीको उपस्थिति जरुरी छ र आफ्नो मन्त्रालयका बारेमा संसद्मा उठेका प्रश्नहरूको जवाफ पनि मन्त्रीहरूले त्यहीँ नै दिँदा प्रभावकारी हुन्छ । यसका लागि अधिवेशनका छलफलहरू पनि जनताले चासो राख्ने र जनजीविकासँग जोडिने विषयमा केन्द्रित हुनुपर्छ । सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका मुद्दाहरू उठाउने र समाधान खोज्ने प्रयास यही थलोबाट गर्नुपर्छ । अन्यथा यो संसद् पनि हिजोका जस्तो निस्प्रभावी र जनताको आकर्षण हुन नसकेको संसदका रूपमा हुन आउनेछ । संसद् केवल नीति र कानुन बनाउने मात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन भए- नभएको अनुगमन गर्ने पनि निकाय हो । यस कार्यका लागि प्रभावकारी संसदीय संयन्त्र आवश्यक छ र त्यसैम आधारमा संसदको काम-कारबाहीका साथै संसदले निर्माण गरेका कानुन, नीति नियमहरूको कार्यान्वयनको अवस्थालाई बलियो बनाउनु पर्दछ । यसरी यो संसद् अधिवेशनले खासमा काम गर्ने संसद् एवं कामयाबी संसद्को सन्देश दिन सक्नुपर्दछ । यसले थोरै बहस र धेरै परिणामलाई प्राथमिकतामा राख्नुपर्छ । जस्तो कि बजेट छलफलका क्रममा आउने एक रुपैयाँ घटाइयोस् भन्ने जस्ता प्रस्तावहरूमा दिनहुँ छलफल हुने, तर पछि त्यो प्रस्ताव फेल हुने जस्ता नाटकीय कार्यसूचीमा अलमलिएर समय बर्बाद गर्ने जस्ता काम यो संसद्मा हुनुहुँदैन । यस्तै कामहरूका साथै नाराबाजी तथा सानातिना दलीय मागहरूमा पनि संसद् अवरुद्ध गर्ने जस्ता कारण हिजोका दिनमा संसदप्रति जनताको धारणा सकारात्मक छैन । यसलाई चिर्नका लागि पनि आगामी संसद् अधिवेशनले जनअपेक्षाअनुसार काम गरेर संसद्प्रति जनविश्वास आर्जन गर्ने र मजबुत बनाउने काममा ठूलो योगदान दिन सक्दछ । हालको संसद्मा जसरी युवा र सिर्जनशील उमेर समूहकाहरूको बाहुल्यता छ, ठीक त्यसैगरी सिर्जनात्मक काम गर्न सक्यो भने नेपालको संसदीय मूल्यमान्यतामा यो संसदको कामकारबाही नयाँ मानक पनि बन्नसक्छ ।  यदि यसो हुन सक्यो भने अबको संसदले दीर्घकालीन दृष्टिकोणका साथ देशको समृद्धि र सुशासनतर्फ मुलुकलाई मार्गनिर्देश गर्न सक्दछ । नयाँ पुस्ताको नेतृत्वले पुराना कमजोरीहरूलाई सुधार्दै सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गर्न सकेमा मुलुकको यो संसद् साँच्चिकै नयाँ सोच, नयाँ ‘एजेन्डा’ र नयाँ दिशा बोकेको संस्थाका रूपमा सुपरिचित र स्थापित हुनेछ । यसका लागि नयाँ सांसदहरूको ऊर्जा, प्रतिबद्धता र जनमुखी कार्यशैली आवश्यक छ । संसद्लाई प्रभावकारी, विश्वासिलो र परिणाममुखी बनाउन अबको संसद् हिजोको जस्तो निरर्थक बहस मात्र गर्ने नभई देश र जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने दिशामा अघि बढ्न सक्दछ । आजदेखि सुरु हुन लागेको संसद् अधिवेशनबाट नेपाली जनताले यही अपेक्षा गरिरहेका छन् । रासस

बल, बुद्धि र शक्तिका प्रतीक हनुमान जन्मजयन्ती मनाइँदै, सङ्कटबाट मुक्ति दिलाउने

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान रामभक्त थिए भनिन्छ । भगवान रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ ।   भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसमरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रका रूपमा चिनिन्छन् ।   पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ ।  मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।

प्रधानमन्त्री बालेनलाई रूसी प्रधानमन्त्रीको बधाई, सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौं । बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाउँदै रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई दिएका हुन् । सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस-नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ । रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा सफल कार्यकालको कामना गरेका छन् ।

प्रतिपक्षीहरूले भने- गुण र दोषका आधारमा सरकारलाई समर्थन र आलोचना गर्छाैं

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उहाँहरूले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावनाले नभई देश र जनताको समृद्धि तथा कल्याणका लागि मिलेर काम गर्ने बताए ।  उनले भने, ‘प्रतिपक्षमा रहेर सरकारका  कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छौं । असल कामका लागि रचनात्मक सल्लाह र सुझाव दिन्छौँ । असल काममा पनि विरोध गर्ने शैली अब कसैले पनि अपनाउनु हुन्न ।’ प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जवाफदेही भएर प्रस्तुत हुने धारणा व्यक्त गरे ।  उनले भने, ‘विगतमा सरकार र पार्टी चलाउँदा कहीँ कतै कमजोरी भएको छ, त्यस आधारमा यस पटक मतदाताले केही हदसम्म दण्ड पनि दिएका छन्, त्यसलाई स्वीकार्नुपर्छ । कांग्रेसले आफूलाई सुधार गर्दै समयसापेक्ष तुल्याउनुपर्छ । जनताले दिएको जनादेशअनुसार जवाफदेहिता र जिम्मेवारीपूर्वक परिपक्व र परिस्कृत ढङ्गले सदनमा प्रस्तुत हुन्छौं ।’ नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए ।  ‘किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कृत र सुदृढ तुल्याउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनलगायत विषयलाई आगामी अधिवेशनमा महत्त्वका साथ उठाइनेछ,’ उनले भने ।  आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव सङ्घीय संसदका पूर्वमहासचिव डा. भरतराज गौतमले वर्तमान सरकार र संसदले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका योजना बनाउन सुझाव दिए ।  ‘हाम्रा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न सकिने पक्षलाई ध्यानमा दिँदै आगामी बजेटमार्फत विकास र आर्थिक ‘एजेन्डा’लाई बढी प्राथमिकता दिएर अघि बढ्नुपर्छ । आर्थिक विकास नभई अन्य क्षेत्रमा त्यति धेरै सफलता प्राप्त गर्न सकिन्न,’ उनले भने ।  प्रतिनिधिसभा सदस्यका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । 

निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुँदै

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।  संसदका बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । सङ्घीय संसद् अन्तर्गतको माथिल्लो सभा (राष्ट्रिय सभा) को बैठक भने  सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्नेछ । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपति समक्ष बुझाएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने छन् ।  बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।  आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन् ।  बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोद प्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्ने छन् । 

आजदेखि एसइई सुरू, जापानसहित देशभर ५ लाख १२ हजार विद्यार्थी परीक्षा दिँदै

काठमाडौं । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ । चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ । परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगि सक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ । परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ । परीक्षा भएकै दिन परीक्षक र संपरीक्षकलाई बुझाइने, परीक्षणमा लापरबाही गरेको पाइएमा लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउने, अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सामूहिक अनुगमन निषेध यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ  । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

कोशी, बागमती र गण्डकीमा वर्षा हुँदै, दिउँसो पनि पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह पनि गरेको छ ।