नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ
काठमाडौं । नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश बंसल, सचिवमा दीपक कुमार फैजू , कोषाध्यक्षमा नरेश कुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोज कुमार गुप्ता चयन भएका छन्। सदस्यहरूमा पवन कुमार अग्रवाल, राजेश कुमार हरिलालका, पवन कुमार कलवार, रवि कुमार गुप्ता, गौरव सिंघानिया चयन भएको संघले जनाएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले खाद्य तथा किराना व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न संघ सक्रिय रहने बताए । उनले देशभरका व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यवसायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । अधिवेशनमा सहभागी व्यवसायीहरूले बजार व्यवस्थापन, आपूर्ति प्रणाली, कर नीति तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै नयाँ कार्यसमितिले व्यवसायीहरूको हित संरक्षण र संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
परराष्ट्र मन्त्रालयका १०० दिन : आर्थिक कूटनीति र नागरिक सुरक्षामा केन्द्रित
काठमाडौं । वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ । परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरुबाट प्रदान गरिने सेवालाई थप सरल, सहज, प्रभावकारी, प्रविधि एवम् सेवाग्राही मैत्री बनाउने कार्यमा प्रभावकारी कदमहरू चालिएको र उपलब्धिहरू पनि हासिल भएका मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले पनि यस अवधिमा सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गका साथै अन्य विभिन्न उपलब्धि हासिल गरेको छ । मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलरलगायत सेवा प्रदान गर्न ‘मोफा मित्र’ नामक एप तयार गरी सञ्चालनमा ल्याएको छ । यसैगरी, कन्सुलर सेवा विभागको कन्सुलर तथा कानुनी परामर्श सेवाको ‘अनलाइन’ सेवा हालसम्म सबै जिल्ला तथा ५३७ स्थानीय तहसम्म विस्तार गरिएको छ । पोर्चुगलमा रहेका नेपालीमध्ये करिब दुई हजार जनाको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा ‘कन्सुलर’ प्रमाणीकरणको छाप कीर्ते पाइएकाले उनीहरूलाई त्यहाँको अस्थायी आवासीय अनुमतिपत्र दिन समस्या भएको थियो । त्यस सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले आ–आफ्ना समकक्षीसँग सो बारेमा कुराकानी गरेपश्चात् उक्त समस्या समाधान भएको छ । दक्षिण पूर्वी एसियामा अनलाइन ‘स्क्यामिङ्ग’मा ठगीमा परेका ८१९ जनालाई यस अवधिमा परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ । यसैगरी, नेपालको निरन्तर कूटनीतिक पहलमा युएई सरकारले युएईमा थुनामा रहेका १२८ जना नेपाली नागरिकलाई गत वैशाख २ गते तथा साउदी अरब सरकारले थुनामा रहेका ३३ जना नेपाली नागरिकलाई यही असार १६ मा क्षमादान दिएको थियो । नेपाली चियाको भारत निर्यात सहजताका लागि भारतको विदेश मन्त्रालय र अन्य निकायसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले संवादमार्फत समाधान गरेको छ । त्यस्तै, पश्चिम एसियामा तनावको अवस्थामा उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा रहेका नेपाली नागरिकको सुरक्षालाई केन्द्रमा राखी विभिन्न काम गरिएको छ । मन्त्रालयमा २४ घण्टे आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको छ । उक्त क्षेत्रमा समस्यामा परेका एक हजार ४७ जनालाई नेपाल फिर्ता ल्याइएको छ । राहदानीमा नयाँ प्रणालीको सुरुआत राहदानीको नयाँ प्रणाली यही असार २९ बाट सुरु हुने र सोको तयारी मन्त्रालय र राहदानी विभागबाट करिब पूरा भएको छ । राहदानी सेवालाई थप सरल र सहज बनाउन नेपाली नियोग नभएका मुलुकमा राहदानी वितरण गर्न घुम्ती सेवा सञ्चालन गरिएको छ । राहदानी सेवा सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पुर्याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा यही असार १९ गते एक सम्झौता सम्पन्न र सोही दिनबाट उक्त सम्झौता लागू भएको छ । जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ । काठमाडौंस्थित राजदूत/नियोग प्रमुखहरूले गत ८ अप्रिलका दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई सामूहिक शिष्टाचार भेट गर्नुभएको थियो । साथै, युरोपियन युनियन र केही राजदूत/नियोग प्रमुखहरूले पनि प्रधानमन्त्री शाहलाई २६ मेमा सामूहिक शिष्टाचार भेटघाट गर्नुभएको थियो । उक्त दुवै समारोहको मन्त्रालयबाट समन्वय गरिएको थियो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा नेपाल सरकारको समृद्धि हासिल गर्ने नीतिमा योगदान पुर्याउने उद्देश्यले विभिन्न देशसँगको सम्बन्धलाई सुदृढ बनाउँदै आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउन देशगत रणनीतिहरूलाई प्राथमिकतामा राखी काम भइरहेको मन्त्रालयले जनाएको छ । यसबाट द्विपक्षीय लाभका क्षेत्रहरू पहिचान गरी काम गरिने आधार तय गरिँदैछ । आर्थिक समृद्धिसम्बन्धी सरकारको नीतिअनुरूप परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको छ । यस अवधिमा विकास कूटनीतिमार्फत तीव्रतर आर्थिक तथा सामाजिक विकास हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत व्यवस्थाहरू अवलम्बन गरिएको छ । निर्यात व्यापार, वैदेशिक सहायता, लगानी तथा पर्यटन प्रवद्र्धन, सूचना प्रविधि विकासलगायत क्षेत्रहरूमा देशको दीर्घकालीन राष्ट्रिय हितअनुकूल परिचालन गरिएको छ । यसका साथै, विदेशस्थित नेपाली नियोगहरूबाट आर्थिक कूटनीतिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । देशगत रणनीतिमा आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखिएको छ । अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति सम्बन्धमा नेपाल सरकारले अतिकम विकसित मुलुकबाट हुने निर्धारित स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढाएको छ । यसअघि नेपाल आगामी २४ नोभेम्बर २०२६ मा स्तरोन्नति हुने तय भए पनि पछिल्ला राष्ट्रिय तथा अन्तरराष्ट्रिय आर्थिक–राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै उक्त स्तरोन्नतिलाई आगामी नोभेम्बर २०२९ सम्मका लागि पछाडि सार्न १३ मे २०२६ मा परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिका अध्यक्षलाई औपचारिक रूपमा पत्राचार गर्नुभएको थियो । त्यस्तै, लामो समयदेखि सुल्झन बाँकी रहेका भूतपूर्व ब्रिटिस गोर्खाहरुका मागहरूका सम्बन्धमा बेलायतका रक्षामन्त्री जोन हिलीलगायत उच्च पदाधिकारीसँग गत जेठ २५ गते ‘भर्चुअल’ बैठक गर्नुभएको थियो । यसैगरी, मन्त्री खनालले गत चैत २७ गते मौरिससमा आयोजना भएको नवौँ हिन्द महासागर सम्मेलनमा सहभागिता जनाई भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहरूलाई अन्तरराष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच, कनेक्टिभिटी, क्षेत्रीय सहकार्य र साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता दर्शाएका थिए । द्विपक्षीय परामर्श संयन्त्रका बैठक सम्पन्न यस अवधिमा नेपाल र रोमानिया, नर्वे, स्विट्जरल्याण्ड, इजिप्ट, डेनमार्कलगायत मुलुकका परराष्ट्र मन्त्रालयहरूबीच रहेका द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरू भएका छन् । श्रम गन्तव्य मुलुकसँग आवश्यक सम्झौताहरू सम्पन्न गरी नेपालीको रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने र उनीहरूको हकहितलाई संरक्षण गर्ने कार्यहरू भइरहेका छन् । हालसम्म १३ मुलुकसँग श्रम सम्झौताहरू सम्पन्न पनि भएका छन् । ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र विभिन्न काम विशेषले देशबाहिर रहनुभएका नेपाली नागरिकको सुरक्षा, हकहित तथा अधिकारका विषयहरू हाम्रो प्राथमिकतामा रहेका छन् । नेपालको सौम्य शक्तिलाई अन्तरराष्ट्रिय जगत्मा प्रचारप्रसार गरी नेपालको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठालाई उँचो बनाउन विभिन्न पहलहरू भएका मन्त्रालको प्रगति विवरणमा उल्लेख छ । यसैगरी, नेपालको पूर्वपरराष्ट्र सचिव तथा नेपालका मूर्धन्य कूटनीतिज्ञ यदुनाथ खनालको सम्झनामा हरेक वर्ष परराष्ट्र मन्त्रालयले आयोजना गर्ने यदुनाथ खनाल लेक्चर सिरिजको पाँचौँ संस्करण २९ जुन २०२६ का दिन सम्पन्न गरिएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घद्वारा आरोग्य दिवस घोषणा नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको छ । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा मन्त्रालयले दक्षिणकाली नगरपालिकास्थित हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ आयोजना गरिएको थियो । यसै अवधिमा जर्मनीको हाइडलबर्ग विश्वविद्यालयस्थित साउथ एसिया इन्स्टिच्यूटमा रहेका नेपालका ८०० वर्षअगाडि देखिका ऐतिहासिक हस्तलिखित सामग्रीहरु नेपाल फर्काउने सम्झौतामा २४ अप्रिल २०२६ का दिन एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको छ । त्यस्तै, गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र नेटवर्कलाई नेपालको विकास र समुन्नतिका लागि उपयोग गर्ने उद्देश्यले गैरआवासीय नेपालीसम्बन्धी ऐनलाई परिमार्जन गर्ने विषय प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ । नेपाल आबद्ध रहेका संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था, अन्तरराष्ट्रिय सङ्गठनलगायतसँग नेपालको राष्ट्रिय हितअनुकूल हुनेगरी सरोकारवाला निकायसँगको समन्वयमा नेपालको नेतृत्व, प्रतिनिधित्व तथा आपसी सहयोग र सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने कार्य निरन्तर चलिरहेको छ । परराष्ट्र मन्त्रालयले पहिलो पटक यही असार ३ गतेदेखि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत इन्टर्नसिप फेलोसिप सुरुआत गरेको छ । उक्त कार्यक्रमका लागि एक हजार २७८ प्राप्त आवेदनबाट जम्मा २० जना सहभागी छनोट गरिएको छ । छनोट भएका सहभागीहरूले परराष्ट्र मामिला, आर्थिक कूटनीति, प्रवासी नेपाली (डायस्पोरा)लगायत राष्ट्रिय महत्वका विविध क्षेत्रहरूमा अनुसन्धान गर्ने कार्य सुरु हुन लागेको छ । विभिन्न देशका राजदूतका लागि आवेदन नेपालमा पहिलो पटक राजदूत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विभिन्न मुलुकका लागि नेपाली राजदूत पदका लागि करिब तीन हजार आवेदन प्राप्त भएको छ । यससम्बन्धी आवश्यक कार्य भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनमा विदेशस्थित नेपाली नियोगहरूले अनौपचारिक विप्रेषण तथा हुण्डी नियन्त्रणका लागि सक्रिय रूपमा कामहरू गरिरहेका छन् । यसका लागि विप्रेषण सचेतना कार्यक्रमहरूको सञ्चालन गर्ने, विदेशमा बस्दा आफूले वैध रूपमा कमाएको रकम नेपाल पठाउँदा वा कानुनअनुसार नेपालबाट पैसा विदेश लैजाँदा औपचारिक बैङ्किङ च्यानलको प्रयोग गर्न वेबसाइट तथा सामाजिक सञ्जालमार्फत अनुरोध गर्ने गरिएको छ । यस अवधिमा विदेशी मित्रराष्ट्रहरूबाट १२ भन्दा बढी नेपाल भ्रमणहरू सम्पन्न भएकामा ती भ्रमणको समन्वयलगायत ती अवसरमा भेटघाट र छलफलहरू परराष्ट्र मन्त्रालयबाट सम्पन्न भएका छन् । यी भ्रमणहरूबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको छ ।
एशियन लाइफको २५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । कम्पनीका अनुसार निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ । निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
यी हुन् मन्त्री रावलको नेतृत्वमा १०० दिनमा भएका ४८ काम
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मन्त्री प्रतभिा रावलले मन्त्रालयको नेतृत्व गरेपछि भएका ४८ वटा मुख्य कामहरु सार्वजनिक गरिएको हो । मन्त्रालयले यो अवधिमा भएका कामहरु सार्वजनिक गर्दै २२३ रिक्त तथा निमित्तको भरमा रहेका पालिकामा प्रमुख प्रशासकिय अधिकृत पठाइएको, सहकारीका १७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रकम फिर्ता गरिएको, १५४ जना ऋणीबाट४ करोड ३२ लाख ८२ हजार रुपैयाँ ऋण असुली गरेको उल्लेख गरेको छ । यस्तै, भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण, ६ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्धी सेवाहरुको शुरुवात, वडास्तरबाट डिजिटल सिफारिस गर्ने सफ्टवेयर प्रणाली निर्माण गरी परिक्षणको चरणमा रहेको र कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको उल्लेख गरेको छ । मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याइएको, मालपोत र नापी कार्यालयमा सेवाग्राही बाहेक अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाइएको, तीनवटा प्रदेश (बाग्मती, गण्डकी र मधेस) मा निजामती अस्पतालको सेवा विस्तार, सिंहदरवार परिसरबाट निजामती अस्पतालको सेवा एकाई स्थापना गरी सेवा शुरु, कर्मचारीको सरुवा अनिवार्य अनलाईन प्रणाली मार्फत मात्र र किताबखानाको पूर्ण डिजिटल प्रणाली शुरु गरेर निजामती कर्मचारीको विवरण अनलाइनबाट हेर्न तथा अध्यावधिक गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरेको छ । मन्त्रालयले जग्गा रोका फुकुवा बैङ्कबाटै, मालपोत धाउन नपर्ने व्यवस्था, मेरो कित्ता मोबाइल एप सार्वजनिक नक्सा प्रिन्ट देखि फिल्डबुक उत्तार सम्मका कार्य मोबाइलबाटै गरेर हालसम्म ४ हजार ७७९ संस्थागत प्रयोगकर्ता तयार भई सेवा प्रवाह भईरहेको र रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, सम्पुर्ण जग्गा हक हस्तान्तरण नहुने गरी रोक्का गरेको उल्लेख गरेको छ । यी हुन् ४८ काम
एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एनवाईईएफलाई केवल व्यवसायिक नेटवर्किङमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। श्रेष्ठले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रामा एनवाईईएफले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अब संस्थालाई नेपालको युवा उद्यमशीलताको भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार उद्यमशीलता केवल व्यवसाय सञ्चालनको माध्यम मात्र नभई रोजगारी सिर्जना, नवप्रवर्तन प्रवद्र्धन, सामाजिक समस्या समाधान र दीर्घकालीन आर्थिक समृद्धिको प्रमुख आधार हो । उनले पछिल्ला वर्षहरूमा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीका बाबजुद नेपाली उद्यमीहरूले देखाएको धैर्यता र दृढताको प्रशंसा गर्दै आर्थिक संक्रमणका बेला नयाँ सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढी हुने बताए । साथै युवा उद्यमीहरूलाई परिवर्तनका संवाहक र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नवप्रवर्तन, रोजगारी सिर्जना र निजी क्षेत्रको विस्तारमार्फत नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले युवा उद्यमीमैत्री वातावरण निर्माणका लागि नीति निर्माता र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे । त्यसैगरी, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली युवाको सिर्जनशीलता, प्रविधिमैत्री सोच, विश्वव्यापी दृष्टिकोण र जोखिम उठाउने क्षमता नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण पूँजी भएको बताए । उनले एनवाईईएफसँग उद्यमशीलता, नवप्रवर्तन, वित्तीय पहुँच, मार्गदर्शन र व्यवसायिक सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवद्र्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अनुभव श्रेष्ठ, प्रथम उपाध्यक्ष सन्दीप शर्मा, द्वितीय उपाध्यक्ष सौरभ श्रेष्ठ तथा निवर्तमान अध्यक्ष अप्पा शेर्पासहित सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान सदस्य रहेका छन् । नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको विस्तार तथा देशभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने लक्ष्यका साथ सक्रिय रूपमा काम गर्ने जनाएको छ ।
नकआउट ब्राकेटः यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी
काठमाडौं । विश्वकप २०२६ को फाइनल अब नजिकिँदै गएको छ । अन्त्यहीन जस्तो लागेको समूह चरण समाप्त भएपछि प्रतियोगिता अब पूर्ण रूपमा रोमाञ्चक नकआउट चरणमा प्रवेश गरिसकेको छ । यस क्रममा केही शक्तिशाली टोलीहरू अप्रत्याशित रूपमा बाहिरिएका छन् । जर्मनी र नेदरल्यान्ड्स अपेक्षाकृत चाँडै प्रतियोगिताबाट बाहिरिए भने उदाउँदो शक्ति मोरक्कोले आफ्नो क्षमता प्रमाणित गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिलले आफ्नो यात्रा अघि बढाएको छ भने बलियो फ्रान्स उपाधिको सबैभन्दा दाबेदार टोलीका रूपमा उभिएको छ । मेक्सिको र संयुक्त राज्य अमेरिका अन्तिम १६ मा पुग्न सफल भए । तर सह–आयोजक क्यानडाले भने मोरक्कोसँग ३–० ले पराजित हुँदै त्यही चरणबाट प्रतियोगितालाई बिदाइ गर्यो । इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई र बेल्जियमले सेनेगललाई कठिन संघर्षपछि पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियालाई झिनो अन्तरले हरायो । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा काबो भेर्डेमाथि कठिन जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो । तर विश्वकपको नकआउट चरणमा केवल तत्कालको प्रतिद्वन्द्वीलाई मात्र हेरेर पुग्दैन । फाइनलसम्म पुग्ने सम्भावित यात्राको अनुमान गर्नु पनि प्रतियोगिताको रोमाञ्चक पक्ष हो । त्यसका लागि अप्टा विश्वकप २०२६ ब्राकेट उपयोगी बन्न सक्छ । तल प्रस्तुत गरिएको विश्वकप २०२६ ब्राकेटले नकआउट चरणको सम्पूर्ण संरचना देखाउनुका साथै फाइनलअघि र फाइनलसम्म कुन–कुन टोलीबीच भेट हुन सक्छ भन्ने सम्भावित मार्ग पनि देखाउँछ । यो सबै अप्टा सुपरकम्प्युटरको विश्लेषणमा आधारित छ, जसले बाँकी रहेका सबै टोलीका खेलहरू २५ हजार पटक सिमुलेसन गरेर प्रत्येक चरणमा सफलता हासिल गर्ने सम्भाव्यता (प्रतिशत) गणना गरेको छ । नकआउट चरणका प्रत्येक गोल र खेलको अन्तिम नतिजापछि ब्राकेट तथा अप्टा सुपरकम्प्युटरको सम्भाव्यता प्रतिशत अद्यावधिक हुँदै जानेछ । त्यसैले यसलाई बुकमार्क गरेर विश्वकपको नकआउट चरण अघि बढ्दै जाँदा नियमित रूपमा हेर्न सकिन्छ । सान्दर्भिक सामग्रीहरू : चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
ओलीले चाहेका, बालेनले पाएका
काठमाडौं । गत वैशाख २१ गते सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट हटाइएका देवराज ढुंगाना पुनः सोही जिम्मेवारीमा फर्किएका छन् । मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै ढुंगाना पुनः केन्द्रको नेतृत्वमा नियुक्तमा पुगेका हुन् । ढुंगानालाई पहिलोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ फागुनमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, फागुन २१ को आम निर्वाचनपछि सत्ता परिवर्तन भई राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने क्रममा उनको नियुक्ति खारेज गरिएको थियो । त्यससँगै उनी वैशाख २१ गते पदमुक्त भएका थिए । सरकार परिवर्तनपछि भएका नियुक्तिहरूमा अघिल्लो सरकारबाट नियुक्त भएका अधिकांश पदाधिकारीले पुनः अवसर नपाएको अवस्थामा ढुंगाना भने अपवाद बनेका छन् । उनी पुनः राष्ट्रिय महत्वको संस्थाको नेतृत्वमा फर्किन सफल भएका छन् । यसलाई पछिल्ला राजनीतिक परिवर्तनबीच दुर्लभ पुनर्नियुक्तिका रूपमा समेत हेरिएको छ । ढुंगानाको पुनरागमनले सुरक्षण मुद्रण केन्द्रको नेतृत्वलाई लिएर प्रशासनिक र राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । विशेषगरी सरकार परिवर्तनसँगै हुने नियुक्ति र बर्खास्तीको अभ्यासबीच उनी पुनः सोही पदमा फर्किनुलाई अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । सुरक्षण मुद्रण केन्द्र नागरिकता, राहदानी, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्रलगायत उच्च सुरक्षा आवश्यक पर्ने सरकारी कागजात तथा सामग्रीको मुद्रण र व्यवस्थापनसँग सम्बन्धित राष्ट्रिय महत्वको संस्था हो । यस्तो संवेदनशील निकायको नेतृत्वमा ढुंगानाको पुनर्नियुक्तिले केन्द्रका आगामी योजना तथा सुरक्षा मुद्रणसम्बन्धी परियोजनाहरूमा निरन्तरताको अपेक्षा गरिएको केन्द्रका एक अधिकारीले बताए । ढुंगानाको पुनर्नियुक्तिलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण मानिएको ती अधिकारीले बताए । उनलाई पहिलोपटक ओली नेतृत्वको सरकारले नियुक्त गरेको भए पनि यसपटकको निर्णयले फरक राजनीतिक समीकरणमा पनि उनको निरन्तरता सुनिश्चित गरेको उनको भनाइ रहेको छ । केन्द्रका ती अधिकारीका अनुसार केन्द्रका कर्मचारीहरुले ओलीले चाहेका, बालेनले पाएका ढुंगाना भन्ने टिप्पणीसमेत गर्न थालेका छन् । मोरङ घर भएका ढुंगाना नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । काठमाडौं विश्ववद्यालयबाट एमबीए उत्तीर्ण गरेका उनले यसअघि सुरक्षण मुद्रण केन्द्रमा रहँदा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को छपाइ कार्यलाई अगाडि बढाउन भूमिका खेलेका थिए ।
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
नारायणगढ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।