विकासन्युज

चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जीत, ५४ हजार ४०२ मतसहित आफ्नै पुराना रेकर्ड तोडे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक भारी मतसहित निर्वाचित भएका छन् । उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् । लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्। तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए ।   

दैलेख १ मा कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख । दैलेख क्षेत्र नं-१ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको  अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । यसैगरी, दैलेख क्षेत्र नं-२ मा पनि मतगणना  जारी रहेको छ। निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार सो क्षेत्रमा नेकपा (एमाले) का लक्ष्मी प्रसाद पोखरेलले अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले पछ्याइरहेका छन् ।

काठमाडौं ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । काठमाडौं  ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन् ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए । 

रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन् । नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् ।  निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।

धनुषा–३ बाट रास्वपाका मनिष झा निर्वाचित

महेन्द्रनगर । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार झा ४३ हजार ९८८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ३४९ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले) की उम्मेदवार जुलीकुमारी महतोले नौ हजार ६९७ मत प्राप्त गरेकी छन् ।  निर्वाचित भएपछि झाले मतदाताले दिएको विश्वासलाई कायम राख्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न प्रतिबद्ध रहने प्रतिक्रिया दिए । उनले निर्वाचनमा साथ दिने मतदाता, समर्थक तथा निर्वाचन प्रक्रियामा खटिएका सम्पूर्णप्रति धन्यवाद व्यक्तसमेत गरे ।   

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे ।  प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन् ।   

रास्वपाका उम्मेदवार वीना गुरुङ विजयी

लेखनाथ । गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन् । समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन् ।  वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिए  । कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी भएकी हुन् ।    

मोरङ–६ मा शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित

मोरङ । मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए ।  उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै  नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९०  मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी रहेका छन् ।