विकासन्युज

धनकुटामा श्रम संस्कृतिका उम्मेदवार सानबहादुर राईको अग्रता कायमै

धनकुटा । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै  छ । आज साँझ ५ः३० बजेसम्मको गणनामा श्रम संस्कृति पार्टीको अग्रता ८५० रहे पनि राति ८ः०० बजेको मत परिणामअनुसार उक्त मत अन्तर घटेर १६७ मतमा झरेको हो ।  हालसम्म गणना भएको ११ हजार ८८० मतमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले तीन हजार ९७२ र एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले तीन हजार ७०५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश राईले दुई हजार २३८, रास्वपाका दिनेश भण्डारीले ५५६, राप्रपाले ११६ तथा जसपा नेपालले १११ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए । हालसम्म ८३५ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभाका लागि तीन स्वत्रन्त्र र १४ दलसहित जम्मा १७ जनाको सहभागिता रहेको छ ।  

कुलमानले राजुनाथलाई दिए बधाई, नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा काठमाडौं-३ का उम्मेदवार कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् । शुक्रबार पराजित भएपछि सामाजिक सञ्जालमा धारणा राख्दै उनले पाण्डेलाई बधाई दिएका हुन् । ‘यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गरेका भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ । चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि  सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।  उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्नुपर्ने बताएका छन् ।   

सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत

सोलुखुम्बु । सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५ बजेदेखि मतगणना सुरु गरिएको हो । जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका सङ्कलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुआत लिखुपिके गाउँपालिकाबाट गरिएको छ । उक्त गाउँपालिकामा कुल दुई हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता कायम भएकामा ४१ हजार ४०१ मत खसेको थियो । मतदान गर्नेमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष मतदाता रहेका छन् ।  भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले गणनामा ढिलाइ भएको थियो ।  

दार्चुलाको व्यास १ र २ को मतगणना सकियो, कांग्रेस  ५३ मतले अगाडि

खलङ्गा । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी (रुख) अग्रस्थानमा रहेका छन् । जोशीले कुल ३९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गणेश सिंह ठगुन्ना (सूर्य) ले ३३९ मत प्राप्त गरेका छन् । जोशी ठगुन्नाभन्दा ५३ मतले अगाडि रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्त (घण्टी) ले ६६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण दत्त जोशी (तारा) ले ९ मत प्राप्त गरेका छन् । अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।  

काठमाडौंको सुरक्षा कमाण्डपछि संसदीय यात्रामा, कुलमानलाई हराएर राखे रेकर्ड

काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने ।  यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनले करिब डेढ दशकभन्दा बढी समय सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा सेवा दिएका छन् । उनको कार्यशैली कडा अनुशासन, निर्णय क्षमता र प्रशासनिक नेतृत्वका कारण चर्चित छ ।  पाण्डे काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख बनेपछि उनी सार्वजनिक रूपमा धेरै चर्चामा आए । विशेष गरेर उनी बालेनसँग नजिक भएपछि चर्चामा आएका थिए ।  उनले सार्वजनिक स्थानमा अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण, महानगरका नियम कार्यान्वयन जस्ता कामहरूको नेतृत्व गरेका थिए । सामाखुसी घर भएका उनले शैक्षिक योग्यता स्नातकोत्तर पास रहेको छ । 

काठमाडौं–३ मा राजु पाण्डे विजयी, पराजित भए कुलमान

काठमाडौं । काठमाडौं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने ।  यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए ।

मोरङ ६ मा रास्वपाकी उम्मेदवार आचार्यले बढाइन् मत

काठमाडौं । मोरङ-६ मा रास्वपाकी उम्मेदवार रुबीना आचार्यले २२ हजार ४०७ मत प्राप्त गरेकी छन् ।  उनी कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला भन्दा १७ हजार मतले अगाडि छिन् । नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ५ हजार २२७ मत प्राप्त गरेका छन् ।  एमालेका उम्मेदवारले भने ३ हजार ९६८ मत प्राप्त गरेका छन् ।

कांग्रेसले निकाल्यो दोस्रो जित, मनाङमा टेकबहादुर गुरुङ विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाइन् ।  यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको दोस्रो जित हो । कांग्रेसले मुस्ताङमा पनि जितेको छ ।