विकासन्युज

मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न निर्वाचनको शनिबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएका छन् ।   निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका  महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।  त्यस्तै  नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गरेका छन् ।  सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो ।  विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।  

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी, १५ क्षेत्रमा रास्वपा उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएको छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् ।      आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा  सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौं १ मा रन्जु न्यौपाने, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके  १ मा सुरेशकुमार चौरी विजयी भएकाे निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।  नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ । मनाङ  १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख  १ मा बासना थापा विजयी भएका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।  नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व  १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसकेका छन् । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् ।      श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि रहेका छन् ।   

प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : १०२ स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्राप्त मतपरिणाम अनुसार, आज विहान ६ बजेसम्म  नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अगाडि छन् । त्यस्तै श्रम संस्कृति पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा एक जना स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् ।   आयोगकाअनुसार हालसम्म  २० स्थानको नतिजा घोषणा गरिएकामा रास्वपा १५, नेपाली कांग्रेस ३, एमाले १ र नेपाली कम्युनिष्ट पार्टीका  उम्मेदवारले एक स्थानमा विजयी हाँसिल गरेका छन्  ।  

कालिकोटमा महेन्द्र शाही विजयी, नेकपाको दोस्रो जित

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनरसार ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । नेकपाको यो दोस्रो जित हो । यसअघि नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले पूर्वी रुकुमबाट जित हासिल गरेका थिए ।   

सर्लाही क्षेत्र नं ४ मा रास्वपाका सिंहको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन् ।     निर्वाचन आयोगका अनुसार सिंहले ६ हजार २६४ मत ल्याएका छ भने नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले तीन हजार ६७१ मत प्राप्त गरेका छन् ।      नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ८९४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रजनीस रायले ३७७ र जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गरेका हुन् ।  

रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । उनले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । मतगणनाको सुरुदेखि नै अग्रता कायम गरेका आचार्य अन्ततः विजयी बनेका हुन् । यो आचार्यको तेस्रो जित हो । उनी यसअघि २०७४ र २०७९ सालमा पनि रसुवा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् । हिजो सम्पन्न मतदानमा रसुवामा ६०.६१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा कुल २५ हजार १ सय ३६ मत खसेको हो । रसुवा जिल्लामा कुल ४१ हजार ४ सय ७१ मतदाता रहेका छन् ।

हुम्लामा मत गणना सुरु

सिमकोट । हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपछि ७ः४५ मा सुरु हुने भनिएको मत गणना करिब १ घण्टा १५ मिनेट पछि ९ः५ मा सुरु गरिएको हो ।      जिल्लाका विभिन्न मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिकाहरू सुरक्षा व्यवस्थासहित सदरमुकाम सिमकोटमा ल्याइएपछि मतगणना प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रहरूबाट केही मतपेटिका हेलिकोप्टरमार्फत ल्याइएको थियो ।      मत गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उम्मेदवारका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा पारदर्शी रूपमा मत गणना भइरहेको बताइएको छ ।      प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रचण्ड भन्छन् : म बाहेक अरु नेताले जित्ने देख्दिनँ, रास्वपाले मेरो सुझाव लिएर सरकार बनाउँछ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाहेक अरु नेताले जित्ने स्थिति नदेखिएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अब संसदमा सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरे । मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी उनको छ । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका अन्य स्थापित शीर्ष नेताहरू यसपटकको प्रतिस्पर्धामा पाखा लाग्ने अवस्था आएको बताए । युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै देशलाई स्थिरता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको उनले बताए ।  ‘रास्वपाले मसँगै सल्लाह र सुझाव लिएर मात्र सरकार बनाउनेछ,’ उनले भने ।