पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त विजयी
काठमाडौं । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापा–५ मा बालेन ३९ हजार मतसहित अगाडि, ओलीलाई ठूलो अन्तरले पछि पार्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बालेन २९ हजारभन्दा बढी मतले अग्रस्थानमा रहेका छन् । उनले ३९ हजार २८४ मत प्राप्त गर्दा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत पाएका छन् । अन्य उम्मेदवारले चार अंकको मत जोड्न सकेका छैनन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा हालसम्म ६२ हजार १ सय मत गणना भइसकेको छ । जसमध्ये ५९ हजार ५५१ मत सदर भएका छन् भने २ हजार ५४९ मत बदर भएको जनाइएको छ ।
पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी
पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन् । पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमिएका थिए ।
भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पछि पार्दै रन्जित निर्वाचित भएका हुन्। रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाएका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।
काठमाडौं–४ मा रास्वपाका बम निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनले २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याएका छन् । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए ।
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहेका छन् । निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चार हजार ४३१ मतले पछाडि पारेका छन् । सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले छ हजार ९५२ मत पाएका छन् । क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले छ हजार ७४२ मतका साथ पछ्याइरहेका छन् । क्षेत्र नं २ मा रास्वपा उम्मेदवार रबिन महतो २८ हजार ९९१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले ६ हजार ७५ मत ल्याएका छन् । सर्लाही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी (कार्की)ले २४ हजार १८६ मत ल्याई अगाडि छिन् । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६३४ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजकुमार देवकोटाले ३ हजार ३३७ मत ल्याएका छन् ।
भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री निर्वाचित
काठमाडौं । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धि रहेका नेकपा एमालेका उम्मेदवार रहेका महेश बस्नेतले आठ हजार तीन सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका उम्मेदवार कवीर रानाले ७ हजार तीन सय २१ मत प्राप्त गरेको छन् ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरे । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।