चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्थनामा मतणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका संकलमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सङखुवासभा निर्वाचन क्षेत्र नं १, गोरखा क्षेत्र नं १, मुगु क्षेत्र नं १ र धनुषा क्षेत्र नं १ मा मतगणना सुरु हुन सकेको छैन । संखुवासभामा मतपेटिका संकलन भएको र सर्वदलीय बैठक बसेर केही समयमै मतगणना प्रारम्भ गर्ने तयारी छ । गोरखा १ मा पनि दुर्गम क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मटपेटिका सदरमुकाम ल्याइएको छ । त्यस्तै मुगुमा पनि मटपेटिका संकलन हुनेबित्तिकै गणना गर्ने तयारी छ । धनुषा निर्वाचन क्षेत्र नं १ भने मतगणनाका विषयमा सर्वदलीय सहमति खोज्ने प्रयास जारी रहेको र केही समयमै गणना प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
मोरङ- ३ मा रास्वपाका कार्कीको अग्रता कायमै
काठमाडौं । मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्की १३ हजार ४३७ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ८ हजार ९६३ मत, श्रम संस्कृतिका अमिर मगरले ७ हजार ३ सय र नेकपा एमालेका इरान राईले २ हजार ८३१ मत प्राप्त गरेका छन् ।
इरानमा अमेरिकी–इजरायली आक्रमणबाट हालसम्म १ हजार ३३२ सर्वसाधारणको मृत्यु
काठमाडौं । संयुक्त राष्ट्र (यूएन) मा इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले २८ फेब्रुअरीदेखि देशमाथि भएका अमेरिकी–इसराइली आक्रमणका कारण हालसम्म १ हजार ३३२ सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन् । शुक्रबार (नेपाली समयअनुसार शनिबार) न्यूयोर्कस्थित यूएन मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै इरवानीले इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार मृत्यु हुनेहरूमा महिला र बालबालिकासमेत रहेको बताए । उनले भने, ‘हजारौं मानिस घाइते भएका छन् र घाइते हुनेको संख्या लगातार बढ्दै गएको छ ।’ इरवानीले विद्यालय, अस्पताल तथा अन्य नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाइएको आरोप पनि लगाए। यता अमेरिकाले भने नागरिक पूर्वाधारलाई लक्षित गरेर आक्रमण गरिएको आरोप अस्वीकार गरेको छ । इरानमा बालिकाहरूको विद्यालयमा भएको आक्रमणबारे अमेरिकाले ‘छानबिन गर्ने’ बताएको छ । उक्त आक्रमणमा १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमा अधिकांश बालिकाहरू रहेका छन् । यसैबीच इसराइलले पनि इरानले आफ्ना सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएको छ ।
रुपन्देही–२ : रास्वपाका सुलभ खरेल भारी मतान्तरले विजयी
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। निर्वाचन आयोगले खरेल विजयी भएको पुष्टि गरेको छ । खरेलले निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका विष्णु पौडेल, लाई ४३,६८९ मतान्तरले पराजित गरेका छन् । उनले कुल ५६,५५० मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै, पौडेलले १२,८६१ मत मात्र पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल रहे, जसले ९,३९२ मत प्राप्त गरे, भने नेकपा (एकीकृत) का सुभाष पाण्डेले १,४०९ मत पाएका छन् ।
कैलाली–१ : रास्वपाकी कोमल ज्ञवाली विजयी, कांग्रेसका जनकराज पराजित
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । निर्वाचन परिणाम अनुसार ज्ञवालीले १७,८६२ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले १२,८६७ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ८,३९२ मत पाएका छन् भने नेकपा एमालेका द्वारिकलाल न्यौपाने चौथो स्थानमा रहे र उनका पक्षमा ४,४९३ मत परेको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।
रास्वपा २८ स्थानमा विजयी, ८९ क्षेत्रमा अगाडि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २८ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ८९ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त, काठमाडौं १ मा रन्जु न्यौपाने, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० मा प्रदीप विष्ट र भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भइसकेका छन् । यस्तै चितवन क्षेत्र नं २ मा रवि लामिछाने, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा वीना गुरुङ, स्याङ्जा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा लेखजङ्ग थापा, रुपन्देही ४ बाट कन्हैया बनिया, बाँके निर्वाचन क्षेत्र नं १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कैलाली १ मा कोमल ज्ञवाली विजयी भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म ३४ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ । नेपाली कांग्रेसले चार क्षेत्रमा जित निकालेको छ । तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं १ मा बासना थापा विजयी भएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् । एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि रहेका छन् । म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भइसकेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि रहेका छन् । दोस्रो पार्टी बन्नका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म कांग्रेस पाँच जितसहित ९ ठाउँमा अगाडि छ भने एमाले दुई जितसहित ९ ठाउँमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई जितसहित १० ठाउँमा अगाडि छ ।
एमाले नेतृत्वको राजीनामाबारे चौतर्फी आवाज उठिरहेको छ, छ्टि्टै निर्णय लिन्छौं : विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभर पार्टीले बेहोरेको पराजयसँगै पार्टीको नेतृत्वबारे अब छिट्टै फरक किसिमको निर्णय लिने बताएका छन् । रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभई पार्टीको नीति र नेतृत्वबारे भएको बताउँदै अब यसबारे छुट्टै निर्णय लिने बताएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएपछि यस्तो बताएका हुन् । निर्वाचनमा जित हार स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै देशभरका उम्मेदवार, नेता कार्यकर्तालाई विचलित नहुने आग्रह गरे । पौडेलले निर्वाचनमा पार्टीले बेहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टी नेतृत्वले नेतृत्वले राजीनामा दिनुपर्ने आवाज चौतर्फीरूपमा उठेको बताउँदै अब यस बारे निर्णय हुने बताएका हुन् ।
बझाङबाट एमालेका ऐनबहादुर महर विजयी
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा बझाङबाट आफ्नो जितको खाता खोलेको छ । बझाङ निर्वाचन क्षेत्रबाट एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । महरले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २६३ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ मत तथा नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन् ।