विकासन्युज

डोटीबाट कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका दीपकबहादुर धामी, लाई ७८७ मतको झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले कुल १४,८९७ मत प्राप्त गरेका छन् भने धामीले १४,११० मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३,२६० मत प्राप्त गरेका छन् ।   

लोकतन्त्रको सुन्दरता प्रत्येको मतको लागानीमा हुन्छः विराजभक्त श्रेष्ठ

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विराजभक्त श्रेष्ठले लोकतन्त्रको महत्त्व र सुन्दरता प्रत्येक मतको लगानीमा हुने बताएका छन । श्रेष्ठ काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन् । ‘लोकतन्त्रको महत्व र सुन्दरता, हरेक मतको लगानीमा गाँसिएको हुन्छ। यो ऐतिहासिक जीत म एक्लो विराजको होइन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मलाई विश्वास गर्ने हरेक मत, साथ दिने हरेक पाइला, हौसला राख्ने हरेक शब्द, आड दिने हरेक काँधको विजय हो ।’ ‘अब आउने दिनमा सबैको साथ, सुझाव, चेतावनी र सम्भावनालाई आत्मसात गरि अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।  ‘तपाईंको लगानी खेर जाने छैन,’ उनले अगाडि भनेका छन् । श्रेष्ठ २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।

बाग्लुङमा पनि रास्वपाको क्लिन स्विप, पूराना दलको गढ भत्कियो

काठमाडौं । बागलुङका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । बाग्लुङ–१ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् ।  खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए । यस्तै, बाग्लुङकै निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् । यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएका थिए । यो पूराना दलको गढका रुपमा पनि चिनिन्छ । तर, रास्वपाले पूराना दलको गढ भत्काएको हो । 

बागलुङ–२ मा रास्वपाका शर्मा विजयी

ढोरपाटन । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनले १२ हजार ६४७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेकी छन् । 

बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायमै राखेका छन् । ताजा मतपरिणामअनुसार भण्डारीले ६ हजार २९९ मत प्राप्त गरेका छन् । भण्डारीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले ५ हजार ८८९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार १८९ मत पाएका छन् ।  नेकपाका परमानन्द भट्टले २ हजार ४५५ र राप्रपाका भुपेन चन्दले ४५७ मत प्राप्त गरेका छन् । यो मत परिणाम २१ हजार ७७९ मत गन्दाको हो । प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

ललितपुर–१ रास्वपाका महर्जन विजयी

पाटन । ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।  प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् । यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बनेका थिए ।  

ललितपुर-१ मा रास्वपाका महर्जनले २०७९ को बदला लिए, को हुन् उनी ?

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरालाई २३ हजार ३७३ मत पाउँदै पराजित गरेका हुन् । कांग्रेसका जबराले १३ हजार ५२० मत मात्रै पाए भने नेकपा एमालेका चेतनाग सञ्जलले ६ हजार ५४६ मत पाए ।  ४७ वर्षीय महर्जन ललितपुर महालक्ष्मी नगरपालिका, सिद्धिरोडका स्थायी बासिन्दा हुन् । उनी मंगलमान महर्जनका छोरा हुन् । बुद्धरत्नले रत्नराज्य क्याम्पसबाट बीएसम्मको औपचारिक शिक्षा लिएका छन् । राजनीतिमा आउनुअघि विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ । रास्वपाबाट स्थानीयस्तरमा सक्रिय रहेका बुद्धरत्न २०७९ को चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले ८ हजार ६६६ मत ल्याएका थिए ।  

२८ वर्षको उमेरमा पूर्वअर्थमन्त्रीलाई हराएर संसदमा सुलभ

काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल विजयी भएका छन् । प्रतिनिधसभा निर्वाचनमा उनी ५६ हजार ५५० मत पाएर विजयी भएकाहुन् । उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै पाए भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ९ हजार ३९२ मत पाए ।  २८ वर्षीय खरेल अधिवक्ता हुन् । कानूनको विद्यार्थी रहेका उनले सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरुमा बहस र पैरवी गर्दै आएका थिए ।  उनले केपी शर्मा ओलीद्वारा गरिएको असंवैधानिक संसद विघटनको विरुद्ध कानुनको विद्यार्थी र सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गर्दै राष्ट्रिय तहमा व्यापक चर्चा कमाएका थिए । राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरुद्धमा दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरू विरुद्ध निर्वाचन आयोगद्वारा गरिएको अधिकार मिचाइ र जरिवाना कारबाही विरुद्ध बहस गर्दै उनले कानुनी हस्तक्षेपमार्फत न्यायको संरक्षण गरेका थिए ।  उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हाबी कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए । शैक्षिक उत्कृष्टताको मानक स्थापित गर्दै उनी विश्वविख्यात हार्वर्ड, मिचिगन र यूसी बर्केली विश्वविद्यालयहरूमा एलएलएमका लागि छनोटमा परे । उनले मिचिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर हासिल गरेका छन् ।