विकासन्युज

गाडीमा सिट मिलाइदिने १० विचौलिया पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले १० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पूर्व जाने गाडीमा सिट मिलाइदिने भन्दै यात्रु तानातान गरेर हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।  धनुषा घर भएका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखा घर भएका ३२ वर्षीय प्रकाश सिवाकोटी, २६ वर्षीय खड्कबहादुर तामाङ, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलक कुमार थापा, डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा रहेका छन् ।  कोटेश्वरबाट जनकपुर र महोत्तरी लगायतका स्थानमा जाने ईभी माइक्रो र सुमोमा उनीहरूले कमिसन लिएर यात्रु चढाउने र यात्रुलाई हैरानी दिने गरेको आरोप छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी सुवेदीले बताए ।

डिजो ओटीटीले बढायो दायरा, नेपाली सामग्री विश्व बजारमा

काठमाडौं । नेपालमा डिजिटल मनोरञ्जन क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘डिजो ओटीटी’ले आफ्नो सेवा विस्तारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको जनाएको छ । कम्पनीले आधिकारिक रूपमा विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै डिजिटल सामग्री वितरणमा नयाँ उपलब्धि हासिल गरेको हो । डिजिटल प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद तथा विविध मनोरञ्जन सामग्री दर्शकमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको कम्पनीले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्य लिएको जनाएको छ । डिजो ओटीटी ‘डिजहोम डिजिटल प्रा.लि.’ अन्तर्गत सञ्चालनमा रहेको प्लेटफर्म हो। कम्पनीले नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत आवश्यक अनुमति प्राप्त गरी कानुनी रूपमा सेवा सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरणका लागि आवश्यक मापदण्ड पूरा गर्दै यसले नेपाली डिजिटल मनोरञ्जन उद्योगलाई विश्व बजारसँग जोड्ने आधार तयार गरेको छ । आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव तथा गुणस्तरीय सामग्रीमार्फत दर्शकलाई विश्वस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

होटल तथा रिसोर्टलाई आईपीओ ल्याउन सकस, २ वर्षदेखि सेबोनमै अड्किए फाइल

काठमाडौं । होटल र पर्यटन व्यवसाय क्षेत्रसँग सम्बन्धित झण्डै एक दर्जन होटल तथा रिर्सोटहरू सेयर निष्कासनका लागि लामो अवधिदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पर्खिरहेका छन् । एपेक्स हस्पिटालिटी, अकामा होटल, ठमेल प्लाजा होटल एण्ड स्वीट्स (रामाडा एन्कोर), वर्णवास म्युजिएम होटल, नगरकोट रिर्सोट, होटल सव्रिनालगायत झण्डै एक दर्जन होटल तथा रिर्सोट आइपिओ निष्काशनको लागि २/३ वर्षदेखि पर्खिरहेका हुन् । बोर्डले ती होटल तथा रिर्सोटलाई आईपीओ निष्कासनका लागि अनुमति दिनुको साटोमा थप कागजात, पुनः आवेदन तथा कम्प्लाइन्स प्रतिवेदन माग गरेको देखिएको छ । एपेक्स हस्पिटालिटीले प्रतिसेयर २२ लाख ५०  हजार कित्ता सेयर निष्कासनको लागि २०८० असार २२ गते आवेदन दिएको थियो ।  कम्पनीले कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । बोर्डले २०८२ चैत्रमा पत्रको जवाफ दिँदै कम्पनीसँग थप कागजात तथा कम्प्लायन्स प्रतिवेदन माग गरेको छ । अकामा होटलले २०८१ असार २६ गते ४२ लाख ८५ हजार ८०० कित्ता सेयर निष्कासनको बोर्डमा निवेदन दिएको थियो । होटलले ४२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । बोर्डले २०८२ असारमा कम्पनीलाई इस्यु साइज कुल चुक्ता पुँजीको २० प्रतिशत पुर्‍याउने सम्बन्धमा थप विवरण उपलब्ध गराउन भन्दै जवाफ दिएको देखिन्छ । त्यस्तै, थमेल प्लाजा होटल एन्ड सुइट्सले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८१ कात्तिक २१ गते आवेदन दिएको थियो । २२ करोड ५० लाख रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । नियामक बोर्डले २०८२ चैत्र ८ गते कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी रहेकाले पुनः आवेदन तथा कम्प्लायन्स प्रतिवेदन माग गरिएको देखिन्छ । वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि २०८१ मंसिर १९ गते आवेदन दिएको थियो । ३९ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई बोर्डले इस्यु साइज चुक्ता पुँजीको ३६ प्रतिशत पुर्‍याउने विषयमा अद्यावधिक विवरण पेश गर्न भनिएको छ । त्यसैगरी, नगरकोट रिसोर्टले १५ लाख कित्ता सेयर निष्कासनका लागि २०८२ साउन १५ गते आवेदन दिएको छ । १५ करोड रुपैयाँ बराबरको आईपीओका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । होटल सब्रिनाले ४७ लाख ४ हजार कित्ता सेयर निष्कासनका लागि २०८२ भदौ १६ गते आवेदन दिएको छ ।  ४७ करोड ४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि आवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८२ मंसिर ३ गते अद्यावधिक विवरणसहित कम्प्लायन्स प्रतिवेदन बुझाएको छ । स्वर्णिम होटल (होलिडे इन एक्सप्रेस)ले ३८ लाख कित्ता सेयर निष्कासनका लागि २०८२ भदौ १६ गते आवेदन दिएको थियो । ३८ करोड रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले २०८२ भदौ २८ गते कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । त्यसैगरी, होटल इच्छाले ३५ लाख कित्ता सेयर निष्कासनको लागि बोर्डमा २०८२ माघ २० गते आवेदन दिएको थियो । ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ । उक्त होटलले पनि बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । अतिथि रिसोर्ट एन्ड स्पाले १६ लाख २५ हजार कित्ता सेयर निष्कासनको लागि बोर्डमा २०८२ माघ २० गते आवेदन दिएको थियो । १६ करोड २५ लाख रुपैयाँ उक्त आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी, एसियन होटलले ४२ लाख कित्तम सेयर निष्कासनको लागि २०८२ माघ २० गते बोर्डमा अनुमति मागेको थियो । कम्पनीले ४२ करोड रुपैयाँ बराबरको सेयर निष्कासनको लागि बोर्डमा अनुमति मागेको हो । उक्त सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त कम्पनीले बोर्डको पत्रअनुसार कम्प्लायन्स प्रतिवेदन पेश गरेको छ । होटल पार्क ल्यान्डले १५ लाख कित्ता सेयर निष्कासनको लागि २०८२ फागुन ५ गते आवेदन दिएको थियो । १५ करोड रुपैयाँ बराबरको उक्त आईपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । बुढानीलकण्ठ हेरिटेजले ४९ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि २०८२ चैत्र १६ गते बोर्डमा आवेदन दिएको थियो । ४९ करोड रुपैयाँ बराबरको उक्त आईपीओको लागि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । यही वर्ष अर्थात २०८३ वैशाख १ गते डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले १६ लाख कित्ता आईपीओ निष्कासनको लागि आवेदन दिएको छ । कम्पनीले १६ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । आईपीओ निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । केटीएम हस्पिटालिटीले पनि २०८३ वैशाख १ गते १५ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको लागि बोर्डमा अनुमति मागेको छ । १५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओको लागि बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ। 

टक्सार पिखुवा र याम्बालिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अकंको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७०० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा र याम्बालिङ हाइड्रोपावरेको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।    सोमबार ३५३ कम्पनीको ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोपन फर्मास्युटिकल्सको भएको छ । सोपनको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एनआरएन इन्फाइस्ट्रक्चरको ३० करोड, १०.२५ प्रतिशत एनबीबीएलको २८ करोड, स्वाबलम्बनको २० करोड र आँखु खोलाको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   

रास्वपाको महाधिवेशन एक दिन लम्बिन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा पछाडि धकेलिँदै गएपछि महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने संकेत देखिएको छ । सोमबार बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिन सक्ने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले कार्यक्रम प्रभावित हुन सक्ने विषयमा महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल गरिएको थियो । ‘बन्दसत्र ढिला भएर हामी आत्तिएका छैनौं । यसलाई स्वाभाविक रूपमा लिएका छौं । यस्ता सम्भावनाका कारण महाधिवेशन एक दिन लम्बिन सक्छ भन्ने विषयमा अस्ति केन्द्रीय समितिको बैठकमै चर्चा भएको थियो । त्यसैले हामी मानसिक रूपमा तयार छौं,’ झाले भने । रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यक्रम रहे पनि प्रतिनिधि व्यवस्थापन, दाबी–विरोध तथा नेतृत्व चयनसम्बन्धी आन्तरिक छलफलका कारण निर्धारित समयमा कार्यक्रम अगाडि बढ्न सकेको छैन । यसैबीच, महाधिवेशन प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको रास्वपाले जनाएको छ । प्रवक्ता झाले सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि दर्ता भएको जानकारी प्राप्त भएको बताए । प्रतिनिधिको संख्या बढेसँगै व्यवस्थापन र प्रक्रियागत काममा थप समय लागेको उनको भनाइ छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । महाधिवेशनको कार्यसूची प्रभावित भए पनि नेतृत्व भने प्रक्रिया सम्पन्न गरेर मात्रै कार्यक्रम टुंग्याउने तयारीमा रहेको छ ।

प्रधानमन्त्रीले हात्ती प्रजनन केन्द्रको गरे निरीक्षण

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको सोमबार निरीक्षण गरेका छन् ।  प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् । 

३० अर्बका कार आयात, २५ अर्बभन्दा बढी राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात् साउन देखि जेठसम्ममा नेपालमा कुल १५ हजार ४६६ युनिट कार, जीप र भ्यान आयात भएको छ । भन्सार विभागका अनुसार यस वर्ष पेट्रोलियम र विद्युतीय (ईभी) दुवै गरी समग्र कार आयातमा गत वर्षको तुलनामा साढे १० प्रतिशत (१ हजार ७८६) युनिटले गिरावट आएको हो ।  गत वर्षको जेठ मसान्तसम्म कुल १७ हजार २७२ युनिट सवारी साधन भित्रिएका थिए । चालु आवको ११ महिनामा कुल ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात हुँदा सरकारले २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत वर्ष सोही अवधिमा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएका थिए। विगतका वर्षहरूमा ईभीको दबदबा रहे पनि चालु आवको ११ महिनामा विद्युतीय कार आयातमा १९.२७ प्रतिशतले गिरावट आएको छ ।  गत वर्ष यस अवधिमा १३ हजार ४९२ युनिट ईभी कार भित्रिएकोमा चालु वर्ष घटेर १० हजार ८९२ युनिटमा सीमित भएको छ ।  चालु आवमा कुल २५ अर्ब ६८ करोड रुपैयाँ बराबरका ईभी भित्रिएका छन् । जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व पाएको छ । विगतका वर्षहरूमा बजेट अगाडि वैदेशिक मुद्रा र नीतिगत परिवर्तनको डरले ठूलो संख्यामा गाडी आयात हुने गरे पनि यसपालि त्यसो नहुँदा समग्र तथ्यांक घटेको हो । यद्यपि, जेठ महिनामा मात्रै २ हजार युनिट ईभी आयात भएका छन् । व्यवसायीहरूका अनुसार गत वर्ष जेठमा भित्रिएका ३ हजारभन्दा बढी ईभीहरू अझै पूर्ण रूपमा बिक्री भइसकेका छैनन् । क्षमताका आधारमा चालु आवमा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ३५७ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ७९८ युनिट र २०१ किलोवाट माथिका १० युनिट ईभी भित्रिएका छन् भने ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएका छन् । यसैगरी, चालु वर्षमा ईभीको आयात सुस्ताउँदा पेट्रोल कार (आइस) को मागमा भने उत्साहजनक सुधार देखिएको छ । ११ महिनाको अवधिमा पेट्रोल कारको आयात २१.६२ प्रतिशतले बढेर ४ हजार ५७४ युनिट पुगेको छ ।  जुन गत वर्ष सोही अवधिमा ३ हजार ७६१ युनिट मात्र थियो । बजारमा पेट्रोल गाडीको माग बढे पनि पछिल्लो समय इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयातको गति केही सुस्ताएको छ ।  नेपालको पेट्रोल कार बजारमा हुन्डाईको वर्चस्व देखिएको छ । आयात भएका कुल पेट्रोल कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल (खुला पार्टपूर्जा) रहेका छन् ।

उम्मेदवार समर्थक जुटाउन व्यस्त रास्वपा महाधिवेशनको व्यवस्थापनमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सार्वजनिक कार्यतालिका प्रभावित भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन नसकेपछि महाधिवेशन व्यवस्थापन र समयपालनबारे प्रश्न उठ्न थालेका छन् । पार्टी नेतृत्वबीच नयाँ नेतृत्व चयनका विषयमा सहमति खोज्ने प्रयास जारी रहेकाले बन्दसत्र निर्धारित समयमा सुरु हुन नसकेको जनाइएको छ । महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूका अनुसार शीर्ष तहमा पदाधिकारी तथा केन्द्रीय सदस्य चयनबारे छलफल लम्बिँदा कार्यतालिका प्रभावित भएको हो । रास्वपाले स्थापना कालदेखि नै अनुशासन, समयपालन र संस्थागत संस्कृतिलाई आफ्नो प्रमुख राजनीतिक विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पहिलो महाधिवेशनकै क्रममा सार्वजनिक गरिएको कार्यतालिका कार्यान्वयन हुन नसक्दा पार्टीभित्र र बाहिर चासो बढेको छ । यसैबीच नेतृत्व चयन प्रक्रियाका लागि उम्मेदवारी दर्ता गर्न चाहने आकांक्षीहरू समर्थक जुटाउन व्यस्त देखिएका छन् । महाधिवेशनको निर्वाचन कार्यविधिअनुसार उम्मेदवार बन्न एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ । यही व्यवस्थाका कारण विभिन्न पदका आकांक्षीहरू प्रतिनिधिहरूसँग भेटघाट र समर्थन जुटाउने अभियानमा सक्रिय भएका छन् । महाधिवेशनस्थल वरपर सोमबार बिहानैदेखि उम्मेदवार बन्न इच्छुक प्रतिनिधिहरू समर्थकको खोजीमा दौडधुप गरिरहेको दृश्य देखिन्थ्यो । देशभरबाट आएका प्रतिनिधिहरूमध्ये धेरैजना एकअर्कासँग प्रत्यक्ष रूपमा परिचित नभएकाले आवश्यक समर्थक जुटाउन अपेक्षाभन्दा बढी समय लागेको पाल्पाका नेता सुमन गैरेको भनाइ छ । कतिपय प्रतिनिधिहरूले समर्थकको संख्या अत्यधिक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार पहिलो महाधिवेशन भएकाले देशभरबाट आएका प्रतिनिधिबीच पर्याप्त चिनजान नभएको अवस्थामा २१ जना समर्थकको व्यवस्था व्यवहारिक नभएको गुनासो गरेका छन् । रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरूबीच उत्साह देखिए पनि कार्यतालिकामा आएको ढिलाइ र उम्मेदवारी प्रक्रियामा देखिएको जटिलताले व्यवस्थापन पक्षमाथि प्रश्न खडा भएको रुपन्देहीका एक प्रतिनिधिले बताए । यद्यपि पार्टी नेतृत्वले सहमतिका आधारमा नेतृत्व चयनलाई प्राथमिकता दिइएकाले केही कार्यक्रम प्रभावित भएको जनाएको छ । नेता लिमा अधिकारीका अनुसार अब केही समयमै बन्दसत्र सुरु हुन्छ । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट नयाँ केन्द्रीय समिति तथा पदाधिकारी चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र नीति सम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।