काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको लाभ पाउन नसकेको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन् ।
पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरको उच्च बिन्दुबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गर्दै नेपालमा भने अझै पुरानै महँगो दर कायम रहनु अस्वाभाविक भएको बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्ताले पाउनुपर्ने भए पनि नेपालमा त्यस्तो अवस्था नदेखिएको टिप्पणी गरे । 'यति ठूलो परिमाणमा मूल्य घटिसक्दा पनि उपभोक्ताले राहत नपाउनु दुःखद् हो,' उनले भने ।
आयल निगमले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले मूल्य समायोजनमा समय लाग्ने तर्क गर्दै आएको उल्लेख गर्दै पौडेलले त्यसलाई पर्याप्त आधार मान्न नसकिने बताए । उनका अनुसार कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समयको अन्तर र प्रशोधन खर्चको प्रभाव रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागतमा समेत प्रभाव पार्ने निश्चित छ ।
पौडेलले वास्तविक लागत र मूल्य घट्ने अवस्थाबारे स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक कारण देखाएर मूल्य नघटाउनु पारदर्शिताविपरीत भएको आरोप लगाए । उनले यसले सरकार र निगमभित्र सुशासन तथा व्यवस्थापकीय क्षमतामाथि समेत प्रश्न उठाएको बताए ।
नेपालमा लागू रहेको स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा इन्धनको मूल्य समायोजन गरिनुपर्ने उल्लेख गर्दै पौडेलले मूल्य बढ्दा तत्काल लागू हुने तर घट्दा ढिलाइ हुने प्रवृत्ति स्वीकार्य नभएको बताए ।
'घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर निगमलाई साथ दिने, तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा राहत नपाउने अवस्था न्यायोचित हुन सक्दैन,' उनले भने ।
पौडेलले पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र उपभोक्तामुखी बनाउन सरकारसँग माग गरेका छन् ।