रास्वपाको महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका उम्मेदवारहरूको प्रारम्भिक सूची शुक्रबार सार्वजनिक गरेको हो । पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेपछि अब पार्टीको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढेको हो । उम्मेदवारी दाबी, छानबिन र फिर्ताको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशित गरी मतदान गराइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्धारित कार्यतालिकाअनुसार अगाडि बढाइएको छ । उनले उम्मेदवारमाथिको दाबी–विरोध टुंग्याएर अन्तिम सूची सार्वजनिक गरेपछि मतदान सुरु हुने जानकारी दिए । महिलातर्फको उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यसअघि उक्त पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । सबैभन्दा धेरै प्रतिस्पर्धा भने महामन्त्री पदमा देखिएको छ । एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य गरी १० जनाले उम्मेदवारी दिएका छन् । महामन्त्री पदका उम्मेदवार खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपनि आयोगको लिस्टबाट उनको नाम हटिसकेको छैन । खुला सह–महामन्त्रीका दुई पदका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त प्रतिस्पर्धामा छन् । यस्तै, महिलातर्फको सह–महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् । यसअघि पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सभापति पदमा रवि लामिछाने पनि निर्विरोध चयन भइसकेकाले अब महाधिवेशनको ध्यान बाँकी पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता, छानबिन तथा दाबी–विरोधसम्बन्धी प्रक्रिया सम्पन्न गरेपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्दै बन्दसत्रमा मतदान गराउने तयारी गरेको जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट रास्वपाले आफ्नो नयाँ केन्द्रीय पदाधिकारी टोलीलाई पूर्णता दिनेछ ।
नेपालमै पहिलोपटक विराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालन
काठमाडौं । नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लक्ष्य राख्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको स्कुल अफ नर्सिङको उद्घाटन संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन् । कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ । साथै, आधुनिक प्रविधियुक्त कक्षाकोठा र प्रशिक्षण केन्द्रसमेत निर्माण गरिएका छन् । विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन-आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीमा उपचार गर्नुअघि आवश्यक उपचार प्रक्रिया र सीपको अभ्यास गर्न सक्नेछन् । त्यसैगरी, क्लिनिकल स्किल्स ट्रेनिङ, नर्सिङ प्रक्रिया, क्रिटिकल केयर सिमुलेसन, समुदाय स्वास्थ्य सेवा तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुग्नेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा अस्पतालको सेवा गुणस्तरसमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा गिरी
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ । गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने छ । त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छ भने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् । यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । रासस
रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध हुने निश्चित भएको हो। श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुका साथै वाग्लेको प्रस्तावकका रूपमा समेत समर्थन जनाएका छन्। यससँगै उपसभापति पदमा अब वाग्ले एक्लो उम्मेदवार बनेका छन्। यद्यपि, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली तथा निर्विरोध निर्वाचित पदाधिकारीहरूको औपचारिक सूची भने सार्वजनिक गरिसकेको छैन। आयोगबाट औपचारिक घोषणा भएपछि वाग्लेको निर्विरोध निर्वाचनले कानुनी मान्यता पाउनेछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेकाले अन्य पदका लागि भने निर्वाचनको तयारी भइरहेको छ।
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन २७ अन्य सवारी नियम पालना नगरेका एक हजार ७०० जनालाई कारबाही गरिएको हो ।
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान, ६ पदमा निर्वाचन हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनको प्रक्रिया अघि बढाएको हो। यस चरणमा ६ वटा पदका लागि मात्र निर्वाचन हुनेछ। तीमध्ये खुला उपसभापति, महिला उपसभापति, खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन्। महाधिवेशनबाट सभापति पदमा यसअघि नै निर्विरोध चयन भइसकेको अवस्थामा बाँकी पदाधिकारी टुंग्याउन निर्वाचन हुन लागेको हो। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
असार २६ गतेदेखि पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् । एकीकृत कारोबारका लागि डाटा माइग्रेसनलगायत प्राविधिक कार्य गर्नुपर्ने भएकाले असार २५ गते एक दिनका लागि दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ । मर्जरपछि समृद्धि फाइनान्सको अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य सम्भावित दायित्व पोखरा फाइनान्सले व्यहोर्नेछ । दुवै संस्था १:१ सेयर स्वाप अनुपातमा गाभिने भएकाले दुवै कम्पनीका सेयरधनीले समान अनुपातमा सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ । मर्जपछि सात सदस्यीय सञ्चालक समिति गठन हुनेछ । समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन् । हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने स्रोतको भनाइ छ । यस्तै, मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ ।