रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध हुने निश्चित भएको हो।

श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुका साथै वाग्लेको प्रस्तावकका रूपमा समेत समर्थन जनाएका छन्। यससँगै उपसभापति पदमा अब वाग्ले एक्लो उम्मेदवार बनेका छन्।

यद्यपि, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली तथा निर्विरोध निर्वाचित पदाधिकारीहरूको औपचारिक सूची भने सार्वजनिक गरिसकेको छैन। आयोगबाट औपचारिक घोषणा भएपछि वाग्लेको निर्विरोध निर्वाचनले कानुनी मान्यता पाउनेछ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेकाले अन्य पदका लागि भने निर्वाचनको तयारी भइरहेको छ।

Share News