विकासन्युज

‘हुण्डाई विइन्टर डिलाइट’ योजना शुरु, गाडी खरिदमा विभिन्न आकर्षक प्याकेजहरु

काठमाडौं, १४ पुस । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई विइन्टर डिलाइट’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजनामा ग्राहक वर्गहरुले हरेक हुण्डाई गाडीको खरिदमा आकर्षक प्याकेजका साथ लाभान्वीत हुन अवसर पाउन सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत हरेक हुण्डाई गाडिको खरिदमा ग्राहकले एक शुनिश्चित बचतको प्याकेज पाउने छन् । जस अन्तर्गत आकर्षक नगद छुट, निःशुल्क १ बर्षे बिमा सुबिधा, आकर्षक ब्याजदर, निःशुल्क सडक कर, लोएलटी बोनस एवं एक्स्चेञ्ज बोनस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना पौष १४ गतेदेखि नेपाल अधिराज्यभरि सिमीत अवधिसम्मको लागी लागु हुनेछ । हुण्डाईका १६ शोरुमहरु नेपालको प्रमुख शहरहरुमा रहेका छन् जस अन्तर्गत ३ काठमाडौँ उपत्यका भित्र र १३ उपत्यका बाहिर छन् । जाडो मौसमको शुरुसँगै लक्ष्मी हुण्डाईले आफ्ना ग्राहकहरुलाइ न्यानोपनको अनुभूति दिने उद्देश्यले यो योजना ल्याएकोे ल्याएको हो । यो योजनामार्फत लक्ष्मी इन्टरकन्टिनेन्टलले यस जाडो याममा पनि सर्वसाधारणमा उत्साह जगाउने प्रयास गरेको छ । सदाझै आगामी दिनहरुमा पनि ग्राहकवर्गलाई उच्च सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलको प्रतिबद्घता रहेको छ ।

वाइवाइको उत्पादन अब युरोपमा, युरोपेली राष्ट्र सर्विया वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा

काठमाडौं, १४ पुस । चौधरी ग्रुपले युरोपमा आफ्नो लोकप्रिय ब्राण्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा शहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्वियाको राजधानी बेल्ग्रेडमा सर्वियाका प्रधानमन्त्री अलेक्ज्याण्डर भुसिक र उर्जा, पर्यटन तथा कृषि मन्त्रीहरुसँग र रुमा शहरका मेयर स्लोदान म्यान्सिकका साथ शिष्टाचार भेट गरेका थिए । उक्त अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलगायत ग्रुपका उच्चपदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो । यसअघि उनले रुमा शहरको रुम्स्का इन्डस्ट्रियल लुपमा प्लान्टको अवलोकन गरेका थिए । “नेपालीहरुको आफ्नै लोकप्रिय ब्राण्ड वाइवाइलाई विश्वव्यापी रुपमा विस्तार गर्ने हाम्रो अभियान हो । सोही क्रममा हामीले वाइवाइको विस्तार युरोपमा गरेका हौं ” प्रधानमन्त्री भुसिकसँगको भेटपश्चात चौधरीले बताए । “नेपाली उद्यम र व्यवसायलाई विश्व सामु लिएर जाने हाम्रो प्रयत्नको अर्को कडीको रुपमा यो विस्तार रहेको छ ।” भेटमा प्रधानमन्त्री भुसिकले सर्वियामा वाइवाइ प्लान्ट स्थापना गर्ने योजना ल्याई लगानी विस्तार तथा रोजगारी सिर्जना गरेकोमा चौधरी ग्रुपलाई धन्यवाद दिँदै विश्वव्यापी रुपमा सर्वियाको वैदेशिक लगानी विस्तारका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । त्यस्तै मेयर म्यान्सिकले सर्वियाको स्थानीय सरकार उद्यमीहरुसँग सहकार्य तथा सहयोगका लागि तयार रहेको बताउँदै चौधरी ग्रुपलाई उद्योग स्थापनाका लागि धन्यवाद व्यक्त गरेका छन् । विश्वव्यापी रुपमा वार्षिक २ अर्ब २० करोड बिक्री भैरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत उत्पादन भैरहेको नेपालको सर्वाधिक लोकप्रिय वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । चौधरी ग्रुपले बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्टहरु स्थापना गरेको छ । प्लान्टको स्थापनासँगै विश्वभरका ३० मुलुकका उपभोक्ताले रुचाएको वाइवाइको व्यवसायिक उत्पादन सर्वियामा निकट भविष्यमै शुरु हुनेछ । यहाँबाट युरोपेली बजारमा वितरण शुरु गरिनेछ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुनेछ । यो तयारीसँगै चौधरी ग्रुप युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुनेछ । उद्योगले पहिलो चरणमा करीब चार सय तथा उत्पादन र वितरण शुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ ।

एनसीसी बैंकको मर्जरमा कम्पनी रजिष्ट्रार कार्यालयको अन्तिम स्वीकृति, आईतबारदेखि एकिकृत कारोबार हुने

काठमाडौं, १४ पुस । एनसीसी बैंकसँग अन्य चार वटा विकास बैंकको मर्जर प्रक्रियालाई कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएको छ । एनसीसी सहित अन्य चार विकास बैंकको मर्ज प्रक्रियालाई बिहीबार अन्तिम स्वीकृति दिइएको कम्पनी रजिष्ट्रार प्रेम कुमार श्रेष्ठले विकासन्युजलाई जानकारी दिए । यस्तै बिषयमा वुटवल उच्च अदालतकाे निर्णयलार्इ नजिर मानेर निर्णय गरिएको उनले बताए । यो बिषयमा अदालतको अन्तिम फैसलालाई मान्ने गरि अघि बढ्ने सहमति सहित मर्जको प्रस्तावलाई अद्यावधिक गर्ने स्विकृति दिएको पनि उनले जानकारी दिए । पाँच वटै कम्पनीले एउटै प्रबन्ध पत्रसहित राष्ट्र बैंकको सहमति सहित पेश गरेकाले पनि स्विकृति दिएको उनले बताए । नेपाल राष्ट्र बैंकले मंसिर १९ गते एनसीसीसहित सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई मर्जको अन्तिम स्विकृति दिएको थियो । विहीबार बसेको मर्जर कमितिको संयुक्त बैठकले एकिकृत कारोबार आईतबार गर्ने निर्णय गरेको छ । पुस १७ गते आईतबार एनसीसी बैंकको मुख्य कार्यालयमा औपचरिक कार्यक्रम गरी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीविबाट एकिकृत कारोबार गर्ने निर्णय भएको मर्जर कमिटिका एक सदस्यले बताए ।

चीनमा यस वर्ष एक करोड तीस लाख रोजगारी सृजना

बेइजिङ, १३ पुस । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो । स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए। यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ । आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए । रासस/सिन्ह्वा

सूचिकृत कम्पनीको नियमन आफैं गर्ने धितोपत्र बोर्डको घोषणा, रियल सेक्टर मालामाल हुने

काठमाडौं, १४ पुस । नेपाल धितो पत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुको नियमन आफैं गर्ने घोषणा गरेको छ । बोर्डको यस्तो घोषणाले बैंक तथा वित्तिय संस्था बाहेकका सूचिकृत कम्पनीहरु प्रति सर्वसाधारण लगानी कर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ । बिहिबार राजधानीमा आयोजीत सार्वजनिक निष्काशन सम्बन्धि नयाँ व्यवस्था र निष्काशन निर्देशीका तयारीका सन्दर्भमा वास्तविय क्षेत्र(रियल सेक्टर)सँगको छलफल कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सबै खाले पब्लिक कम्पनीहरुको नियमन बोर्ड आफैंले गर्ने बताएका हुन् । ‘सबै सूचिकृत कम्पनीहरुको नियमनकारी निकाय धितोपत्र बोर्ड नै हुनु पर्ने हो, तर जनशक्तिको अभावमा त्यो सम्भव भैरहेको थिएन अब हामी नियमनलाई प्रभावकारी बनाउँछौं’, बोर्डका कार्यकारी निर्देशक गिरीले भने । हाल उर्जा, पर्यटन लगायतका क्षेत्रको प्रत्यक्ष नियमनकारी निकाय नहुँदा लगानी कर्ता अन्यायमा परिरहेको आरोप लागि रहेको छ । कार्यक्रममा बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले भने–‘हाइड्रो लगायतका क्षेत्रको कडा नियमन गरिदिन हामीलाई पनि लगानी कर्ताले आग्रह गरिरहेका छन, रियल सेक्टरको अवस्था पनि त्यहि छ, उद्योग विभागले खासै काम गरिरहेको छैन, अब हामी आफैं नियमन गर्छाै ।’ जलविद्युत कम्पनीको नियमन गर्नुपर्ने निकाय विद्युत विकास विभाग मौन रहेकाले अब सूचिकृत जलविद्युत कम्पनीको नियमन आफैं गर्ने उनले बताएका थिए । कार्यक्रममा कार्यक्रम प्रस्तुत गर्दै चाटर्ड एकाउण्टेण्ट जगदिश भट्टराईले निजी कम्पनी भन्दा पब्लिक कम्पनी प्रति सर्वसाधारणको विश्वा बढि हुने र पब्लिक कम्पनीकै ब्राण्ड इमेज समेत राम्रो हुने भएकाले रियल सेक्टरका निजी कम्पनीहरु पब्लिक कम्पनीका रुपमा नेप्सेमा सूचिकृत हुनुपर्ने धारणा राखेका थिए । उनले नेपालमा बजारले बजार नचलाएर नियमनकारी निकायले बजार सञ्चालन गर्नुपर्ने अवस्था रहेको आरोप पनि लगाएका थिए । कडा नियमनको डरले निजी कम्पनीहरु पब्लिक कम्पनीका रुपमा सूचिकृत हुन डराइरहेको पनि उनको निष्कर्ष थियो । मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रबिण रमण पराजुलीले पनि रियल सेक्टरलाई पुँजी बजारमा नल्याएसम्म बजारले दिगोपन नपाउने धारणा राखेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले रियल सेक्टरका उद्योगी नेप्सेमा सूचिकृत हुन डराईरहेको बताए । आफुले पनि विगत ३ बर्षदेखि अर्घाखाँची सिमेन्टलाई सूचिकृत गर्न चाहेको तर डराईरहेको धारणा राखे । ‘पब्लिक कम्पनीमा गएपछि डुबिन्छ भन्ने उद्योगीको धारणा छ अनि पब्लिक कम्पनीका रियल सेक्टर उद्योगीले पैसा खाएर भाग्छन भन्ने पब्लिकको बुझाई छ, यसलाई चिर्नु आवश्यक छ’, मुरारकाले भने । कर्पारेट कानुनका अधिवक्ता ज्योति दाहालले पनि रियल सेक्टरले सूचिकृत गर्नुपुर्व कडा नियमनको व्यवस्था आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा फ्रि प्राइसिङ तथा प्रिमियम मुल्यमा सेयर जारी गर्ने बिषयमा पनि आवाज उठेको थियो ।

मिसन डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, १४ पुस । मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत मंगलबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १९ करोड ४९ लाख २५ हजार रूपैयाँको १९ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी १९ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।

प्रिमियर इन्स्योरेन्सको २१ प्रतिशत लाभांश पारित, ६ लाख कित्ता एफपीओ जारी गर्ने

काठमाडौं, १४ पुस । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ दशमलब ०५ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको २३ औँ साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको हो । साथै कम्पनीले सर्वसाधारणको लागि ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न सो मात्राको एफपिओ जारी गर्न लागेको हो । कम्पनीले एफपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । तर कम्पनीले हालसम्म एफपिओको मूल्य भने तोकिएको छैन । गत वर्षमा कम्पनीले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ करोड ४ लाख खुद नाफा कमाएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।

यामाहाको ‘फाइभबुलस २०१७’ अफर, मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुट

काठमाडौं, १४ पुस । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्राण्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् । एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट-एजीएम दिपक रौनियारले भनेका छन्, ‘हामीलाई विश्वास छ यो अफरले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनेछ । हामी विश्वास दिलाउन चाहन्छौं कि यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो । किनभने हामी जे गर्छौं हाम्रा ग्राहकको पक्षमा गर्छौं ।’ नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुनेछ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित रहेका कम्पनीले जनाएको छ ।