विकासन्युज

काठमाडौं महानगरमा एमाले अगाडि

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए । राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना शुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो । उनका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु दर्शनाले २५, नेपाली काँग्रेसका राजुराज जोशीले २३ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याएका छन् । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको उनले जानकारी गराए । वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो । रासस

बूढानीलकण्ठ नगरपालिकामा एमालेको अग्रता

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा नेकपा (एमाले) का उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा (माओवादी केन्द्र) का रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, काँग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नं १२ र १३ को मतगणना भइरहेको उनले बताए । रासस

तारर्केश्वर नगरपालिकामा काँग्रेस अघि

तारर्केश्वर । तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा (एमाले) दोस्रो र नेकपा(माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् । पाँच बजेसम्म भएको मतगणनामा नेपाली काँग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ । तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् । कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा माओवादी केन्द्र विजयी

बाबियाचौर, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् । केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । महिला सदस्यमा टेकमाया पुन (२०५०) दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७०) खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो । रासस

चिनियाँ सीमासम्म सडक र रेल सञ्जालले जोड्न नेपालको प्रस्ताव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री लेखकले चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका हुन् । भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर (वन बेल्ट वन रोड) मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएको बताए । मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गर्नुभएको प्रस्तावलाई पनि उनले स्वीकार गरेका थिए । ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ । यसैगरी चीनले यो परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोत व्यक्ति तोकेको छ । दुवै सम्पर्क एवम् स्रोत व्यक्तिको समूहले आजैदेखि काम अघि बढाएको छ । रासस

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी, मेयरमा पनि एमालेकै अग्रता

मेलम्ची, । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले) का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र) का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरे । यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । रासस

आगामी आर्थिक बर्षदेखि नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा आउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षदेखि नयाँ स्टक एक्सचेञ्च कम्पनी थप्ने प्रक्रिया अघि बढाएको छ । गत बिहिबार बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने सैद्धान्तिक निर्णय गरेसँगै आगामी आव भित्रै नयाँ कम्पनी थपिने भएको हो । ‘बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी थप्ने सैद्धान्तिक निर्णय गरेको छ, सबै कम सहज ढंगले अघि बढ्यो भने ६देखि ७ महिनाको अवधीमा नयाँ कम्पनीले सेवा आरम्भ गर्नेछ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । गिरीका अनुसार नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने सैद्धान्तिक निर्णय भएपनि मोडालिटीबारे अझै अध्ययन गर्न बाँकी नै छ ।‘सैद्धान्तिक सहमति भएको छ, अब सेयर संरचना, प्रबिधी, दर्ता, क्रेडिट कम्पनी लगायतका बिषयमा धेरै काम बाँकी नै छन, हामी छिटो काम गर्ने मनस्थितिमा छौं’, गिरिले भने । यस अघि २०६६ सालमा नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने भन्दै बोर्ड आवेदन मागेको थियो । त्यतिबेला ४ वटा कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरुको प्रस्तावलाई समेत अध्ययन गरिने गिरीले जानकारी दिए । बोर्डले आगामी ७ महिना भित्र नयाँ एक्सचेञ्ज कम्पनीबाट कारोबार थाल्ने गरि काम अघि बढाएको पनि उनले जानकारी दिए । ‘सेयर संरचना, कम्पनी दर्ता, क्रेडिट सिस्टम लगायतका काम सक्न ७ देखि ७ महिना लाग्छ, सो अवधीमा नयाँ स्टक एक्सचेञ्ज मार्फत कारोबार हुनेछ’, गिरीले विकासन्युजसँग भने । धितो पत्र बजार सञ्चालन नियमावली २०६४ अनुसार बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी थप्न लागेको हो । सो नियमावली अनुसार पाँच करोड चुक्ता पुँजीमा स्टक कम्पनी खोल्न सकिने व्यवस्था थियो । तर बोर्डले आवश्यकता अनुसार पुँजी वृद्धि गराउन सक्ने व्यवस्था पनि सो नियमावलीमा थियो । बोर्डले एक अर्ब चुक्ता पुँजी कायम गरेर नयाँ स्टक कम्पनी खोल्ने तयार गरेको हो ।

भरतपुर महानगरपालिकामा मतगणना शुरु

चितवन। भरतपुर महानगरपालिकामा अहिले ४ः३० बजेदेखि मतगणना शुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना शुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो । निर्वाचन आयोगको प्रचलित ऐन कानुन र विधिविधान अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट शुरु गरिएको छ । भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ । यस अनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ । महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणू दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो । भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसङ्ख्या रहेको छ । रासस