काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षदेखि नयाँ स्टक एक्सचेञ्च कम्पनी थप्ने प्रक्रिया अघि बढाएको छ । गत बिहिबार बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने सैद्धान्तिक निर्णय गरेसँगै आगामी आव भित्रै नयाँ कम्पनी थपिने भएको हो ।
‘बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी थप्ने सैद्धान्तिक निर्णय गरेको छ, सबै कम सहज ढंगले अघि बढ्यो भने ६देखि ७ महिनाको अवधीमा नयाँ कम्पनीले सेवा आरम्भ गर्नेछ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । गिरीका अनुसार नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने सैद्धान्तिक निर्णय भएपनि मोडालिटीबारे अझै अध्ययन गर्न बाँकी नै छ ।‘सैद्धान्तिक सहमति भएको छ, अब सेयर संरचना, प्रबिधी, दर्ता, क्रेडिट कम्पनी लगायतका बिषयमा धेरै काम बाँकी नै छन, हामी छिटो काम गर्ने मनस्थितिमा छौं’, गिरिले भने ।
यस अघि २०६६ सालमा नयाँ स्टक एक्सचेञ्ज कम्पनी खोल्ने भन्दै बोर्ड आवेदन मागेको थियो । त्यतिबेला ४ वटा कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरुको प्रस्तावलाई समेत अध्ययन गरिने गिरीले जानकारी दिए । बोर्डले आगामी ७ महिना भित्र नयाँ एक्सचेञ्ज कम्पनीबाट कारोबार थाल्ने गरि काम अघि बढाएको पनि उनले जानकारी दिए ।
‘सेयर संरचना, कम्पनी दर्ता, क्रेडिट सिस्टम लगायतका काम सक्न ७ देखि ७ महिना लाग्छ, सो अवधीमा नयाँ स्टक एक्सचेञ्ज मार्फत कारोबार हुनेछ’, गिरीले विकासन्युजसँग भने । धितो पत्र बजार सञ्चालन नियमावली २०६४ अनुसार बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी थप्न लागेको हो ।
सो नियमावली अनुसार पाँच करोड चुक्ता पुँजीमा स्टक कम्पनी खोल्न सकिने व्यवस्था थियो । तर बोर्डले आवश्यकता अनुसार पुँजी वृद्धि गराउन सक्ने व्यवस्था पनि सो नियमावलीमा थियो । बोर्डले एक अर्ब चुक्ता पुँजी कायम गरेर नयाँ स्टक कम्पनी खोल्ने तयार गरेको हो ।