विकासन्युज

सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो छैठौं एक्सटेन्सन काउन्टर काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त काउन्टरको उद्घाटन काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले चाँडै नै २ वटा थप वित्रीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ । साथै, बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।

सेयर बजार १३ अंकले झर्यो, नेपाल हाइड्रोका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १३.३४ अंकले झरेर १४७५.७२ अंकमा अडेको छ । सो दिन बजारमा ४५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा १५६ कम्पनीका ११ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१५ प्रतिशत गुमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७८ रुपैयाँ रहेको छ । जुन रकम बिहीबारको तुलनामा २८ रुपैैयाँ घटी हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह भने ६.८२ अंकले उकालो लागेका छन् । आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको ७ करोडको सेयर कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ४ प्रतिशत कमाएका छन् ।

शंकर पोखरेलको घोषणाः ५ वर्षपछि ५ नंम्बर प्रदेशका युवाले विदेश जानु पर्दैन

दाङ । दाङ निर्वाचन क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले आफूले जितेमा ५ बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गरेका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले आइतबार तुलसीपुरमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले सक्षम आगामी पाँच बर्षपछि प्रदेश नम्बर ५ का कुनै पनि युवाले विदेश जानु नपर्ने बताएका हुन् । नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५ को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप प्रदान गर्ने बताए । हरेक युवाको स्वास्थ्य बीमा गराउने बताएका पूर्व मन्त्री पोख्रेलले सक्नेले आफै त्यो बीमा गर्ने र नसक्नेको बीमा राज्यले गरिदिने घोषणा पनि गरे । उनले आफूले जितेमा दामोदर मार्गलाई बैकल्पिक मार्गको रुपमा विकास गर्ने पनि बताए । नेता पोख्रेललले प्रदेश नं. ६ संग सम्वन्ध विस्तारका लागि ५ बबर्षभित्रै तुलसीपुर–सुर्खेत सडक खण्ड कालोपत्रे गरिसक्ने, रोल्पा हुँदै पूर्वी रुकुम जान नयाँ राजगर्मा निर्माण गर्ने, घोराही–प्यूठान सडक खण्ड कालोपत्रे गर्ने आश्वासन बाँडे । दाङलाई सिंगो पश्चिमको यातायातको हव बनाउनका लागि आफूहरुले लुम्बिनीदेखि नेपालगञ्जसम्म रेल कुदाउने सपना देखेको पूर्व मन्त्री समेत रहेका नेता पोख्रेलले बताए । त्यस्तै उनले दाङमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको उनले बताए । महाभारत र चुरे रेञ्जमा हिल स्टेसन निर्माणगरि पर्यटन प्रवद्र्धन गर्ने योजना सुनाएका एमाले नेता पोख्रेलले स्वर्गद्धारी, छिल्लिकोट, दंगीशरण जस्ता क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रका रुपमा विकासगर्ने आश्वासन बाँडेका थिए । थारु कला र संस्कृतिको जगेर्नागर्नका लागि होमस्टे निर्माण गर्नेदेखि जिल्लामा खानेपानी र सिंचाईको राम्रो प्रवन्ध गर्नका लागि बबई लगाएत यहाँका ग्वारखोला लगाएतका खोलाहरुमा उच्चवाँध बाध्ने योजना पनि उनले प्रस्तुत गरेका थिए । ‘म नै प्रेदश नं. ५ को मुख्य मन्त्री हुने हो र त्यसपछि दाङ राजधानी बन्ने संभावना तयार हुन्छ ।’ नेता पोख्रेलले भने ।

प्रुडेन्सियल इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ५१ करोड पुग्ने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई मंसिर १ गते सम्पन्न कम्पनीको १६औ वार्षिक साधारणसभाले पारित गरेको हो । बारामा सम्पन्न उक्त सभाले कम्पनीको हालको चुक्ता पुँजीमा सो मात्राको बोनस वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ३१ लाख रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अशाेक कुमार अग्रवालले बताएका छन् । जुन रकम अघिल्लो वर्षको तुलनामा ४४.३८ प्रतिशतले बढी हो । साथै, कम्पनीले सो अवधिमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

मंसिर १० गतेदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री खुला हुँदै, वार्षिक १० प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ५० करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । वचतपत्र मंसिर १० देखि २९ गतेसम्मका लागि बिक्री खुला हुने छ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीले बचतपत्र खरिदको लागि आवेदन दिनसक्ने छन् । ५ वर्षका लागि निष्कासन हुन लागेको बचतपत्र आउदो २०७९ पुस ५ गते सावाँ फिर्ता हुने छ । ब्याज भुक्तानी ६/६ महिनामा हुने छ । घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने छन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने छ । सरकार आन्तरिक ऋण उठाउन रोजगार वचतपत्र ल्याएको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ । हालसम्म झण्डै विभिन्न वित्तीय औजारमार्फत झण्डै ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

सिटी एक्स्प्रेसले घोषणा गर्यो दसौं हप्ताको बिजेताहरु

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो ।   चाँदीको सिक्का विजेताका रुपमा सिता कुमारी माया, सुनावती राजवंशी, कुमारी मग्राती, मोहनकुमारी गुरुङ्, दिल बहादुर गुरुङ्, शारदा दुलाल र पार्वती थापा छनोट भएकी छिन् । त्यसैगरी, दोस्रो एलजी रेफ्रिजिरेटर विजेताका रुपमा नवलपरासीकी जुना विक छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको चाड दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कलंकी-नागढुङगा सडक: ‘यथास्थितिमै पिच’ गर्ने तयारी

काठमाडौं । सडक विभागले कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका छौं ।’, उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने । उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव १५ दिन अघि नै सडक विभाग मार्फत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको जानकारी दिए । कुल १२.५ किलोमिटर लम्बाईको सो सडक खण्ड विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेको र नागरिकलाई थप धुलो कष्ट दिन नहुने निष्कर्षसहित तत्काल पीच गर्ने सोँच अघि बढेको उनले बताए । हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने । हाल सो खण्डमा धुलो र खाल्डा खुल्डीको समस्या भने समाधान गरिसकेको पनि केसीले दावी गरे । ‘धुलो, हिलो र खाल्डा खुल्डीको समस्या समाधान गरिसकेका छौं, अब यथास्थितीमै पीच गरेर भएपनि समस्या समाधान गर्ने सोँचमा पुगेका हौं, पछि अदालतको आदेश आएपछि सोही अनुसार गरौँला’, केसीले भने ।

ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंकले मंसिर १ गते रामगोपालपुर नगरपालिकाका मेयर असोककुमार मण्डल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपका गरेका हुन् । कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बताएका छन् । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्दै आएको छ ।