विकासन्युज

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर विरामी, नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । प्रकाशलाई आइतबार बिहानै काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । प्रकाशको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । यस विषयमा अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । वेहोस अवस्थामा भेटिएका प्रकाशलाई बिहान करिब ४ बजे अस्पताल ल्याइएको थियो । पुष्पकमल दाहाल हेलिकोप्टरबाट राजधानी फर्कंदै छन् । प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् ।  

रौतहटको चन्द्रपुरमा बम बिस्फोट, २ जना गम्भिर घाइते

काठमाडौं । रौतहटको चन्द्रपुरमा बम बिस्फोट भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा नेकपा(एमाले)को वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो । बिस्फोटनमा परि एक जना बालक र एक जना महिला गम्भिर घाईते भएको सो क्षेत्रका निवर्तमान सांसद रामकुमार भट्टराईले बताए । भट्टराईले नै घाइतेहरुको उद्धार गरि अस्पताल पठाएका थिए । अन्य पाँच जना कार्यकर्ता पनि घाइते भएको उनले जानकारी दिए । घट्नास्थलमा भर्खरै मात्र प्रहरी पुगेको छ ।

बुढीगण्डकी आयोजनाले जग्गाको मुआब्जा लिन फेरी बोलायो, रोपनीको ८ लाख ३५ हजारसम्म दिने

काठमाडौं । बुढीगण्डकी जलसाययुक्त आयोजनाले डुवानबाट प्रभावित हुने गोरखाका जग्गाधनीलाई मुआब्जा लिन बोलाएको छ । जिल्ला प्रशासन कार्यलय गोरखामार्फत बुढीगण्डकी आयोजना विकास समितीले साविकका फुजेल, नाम्जुङ, बुंकोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुआर्वाङ र थुमिका डुबानमा पार्न जग्गाको मुआब्जा लिनका लागि बोलाएको हो । सरकारले ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आरुघाट बजार र आरखेत बजारमा पछि निर्धारण भएको मुल्याँङकनका आधारमा मुआब्जा वितरण हुने प्रशासन कार्यलयले जनाएको छ । आयोजनाले जग्गालाई ११ किसिममा बिभाजन गरी सोही अनुसार मुआब्जा प्रतिरोपनी न्यनतम ५ लाख २५ हजार रुपैयाँदेखि अधिकतम ८ लाख ३५ हजार रुपैयाँ तोकेको जनाएको छ । जसअनुसार बाक्लो वस्ती मुल सडकसंग जोडिएको सडक वरिपरिको जग्गाको मूल्य प्रतिरोपनी ८ लाख ३५ हजार, मुल मोटरबाटोसंग जोडिएको दायाँ र बाँया पर्ने जग्गा ८ लाख ४ हजार, अन्य घरवस्ती क्षेत्र र सहायक मोटरबाटोमा पर्ने जग्गालाई ७ लाख ७३ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस्तै खेत अब्बल प्रतिरोपनी ७ लाख ४२ हजार, खेत दोयम ७ लाख ११ हजार, खेत सिम ६ लाख ८० हजार, खेत चाहर ६ लाख ४९ हजार, बारी अब्बल ६ लाख १८ हजार, बारी दोयम ५ लाख ८७ हजार, बारी सिम ५ लाख ५६ हजार र बारी चाहर ५ लाख २५ हजार रुपैयाँ तोएिको छ । समितिले एक चरणको मुआब्जा वितरणको काम सकेको छ । आयोजनाबाट डुवान हुने क्षेत्रको मुआब्जा वितरणका लागि ६१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउनका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ प्रदुषण शुल्क लगाएर हालसम्म १३ अर्ब रुपैयाँ असुली गरिसकेको छ । फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले बुढीगण्डकीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । डीपीआर अनुसार आयोजनाको मुल बाँधको उचाई २६३ मीटर हुने छ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयारको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलासय क्षेत्रमा ६३ वर्गकिलो मिटर लामो ताल बन्ने छ । आयोजना सम्पन्न गर्न २ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड २५ लाख रुपैयाँ पर्ने देखिएको छ । यस्तै बिजुली उत्पादन लागत प्रतियुनिट ७ रुपैयाँ ३५ पैसा छ । यसअघिको सरकारले १ हजार २ सय मेगावाटको बुढीगण्डकी बनाउन चाइना गेजुवा ग्रुप लिमिटेडसंग वितृत डिजाइन, निर्माण र लगानीसमेत हुनेगरी (इपीसीएफ) खाकामा बनाउने सहमति गरेको थियो । एक साताअघि सरकारले गुजुवासंग गरेको सम्झौता रद्ध गरेको छ ।  

सत्र किलो सुनसहित एक युवक पक्राउ

रसुवा । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित शनिबार  बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो । सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । रासस

नेपाल बंगलादेश बैंकमा चुनाव लाग्यो, ७ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडका सेयरधनीलाई चुनाव लागेको छ । यस बैंकमा ६ जना सञ्चालकको लागि मंसिर ३ गते निर्वाचन हुँदैछ । संस्थापक सेयरधनी समूहबाट आईएफआईसी बैंक, बंगलादेशबाट तीन जना आउने भएका छन् । यस बैंकमा आईएफआईसीको ४१ प्रतिशत सेयर छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकका लागि सर्वसहमति भएको निर्वाचन अधिकृत बालकृष्ण ढकालले जानकारी दिए । तीन पदका लागि तीन जनाको मात्र उम्मेदवारी परेको छ । संस्थापकबाट जलान अहमेद, एम शाह अलाम सरवार र मोनिरुल स्लाम सञ्चालन हुने भएका छन् । । उनीहरु वहालवाला सञ्लालक पनि छन् र तीनै जना बंगाली हुन् । नेपाली संस्थापक सेयरधनीतर्फ यस बैंकमा एनबी समूहको करिव ७ प्रतिशत र विष्णु अधिकारीको करिब ३ प्रतिशत सेयर छ । करिव १० प्रतिशत सेयर नेपाली प्रमोटरको भए पनि उनीहरुको उम्मेदवारी परेन । अहिलेको सेयर संरचना यथावत रहेमा बंगलादेशी लगानीकर्ताको विश्वास नजितेसम्म नेपाली संस्थापक सेयरधनी यस बैंकको सञ्चालक बन्न सक्ने अवस्था देखिदैन । सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने तीन सञ्चालक पदका लागि ४ जनाले उम्मेदवारी दिएको ढकालले जानकारी दिए । यसमा वहालवाला सञ्चालकहरु दीपक कार्की र मुकुन्दनाथ ढुंगेल पुनः प्रतिस्पर्धा गर्दैछन् । त्यसबाहेक इन्द्रबहादुर थापा र हेमन्त बस्याल संचालक बन्ने दौडामा छन् । सबै उम्मेदवारहरुले आफूले ३० लाख भन्दा बढी प्रोक्सी संकलन गरेको दावी गरेको छन् । यस बैंकका हाल करिव ३ लाख ४५ हजार कित्ता साधारण सेयर रहेको छ । आगामी साधारणसभामा बैंकले १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्ता बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ रुपैयाँ हुने बैंकले जनाएको छ ।

जाइकाले वेगनास र रुपातालमा १५० मेगावाटको पम्पस्टोरेज आयोजना अध्ययन गर्ने

काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले कास्कीको वेगनास र रुपातालमा पम्प स्टोरेज जलविद्युत आयोजना बनाउन संभाव्यता अध्ययन गर्ने भएको छ । जाइकाले पम्पस्टोरेजको प्रारम्भीक अध्ययन गर्न लागेको हो । अध्ययनका लागि प्राविधिक टोली खटिने क्रममा रहेका छन् । प्रारम्भीक अध्ययनपछि मात्र आयोजनाको लागत र क्षमताको निर्धारण हुने छ । सरकारले नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजना बनाउनका लागि अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिएपछि संभाव्यता अध्ययनको प्रक्रिया अघि बढेको हो । आयोजनाको क्षमता १५० मेगावाट हुने संभाव्यता अध्ययनले देखाएको छ । सरकारले पम्प स्टोरेज आयोजनालाई लाइसेन्स दिएको पहिलो हो । लेखनाथको सुन्दरीडाँडास्थिति बेगनासको पानी रुपा तालमा खसालेर विद्युत उत्पादन गर्न सकिने संभाव्यता अध्ययनले देखाएको छ । जलासययुक्त आयोजना हुने भएकाले विद्युतको उच्च माग हुने साँझमा सञ्चालन गर्न सकिने देखिएको छ । साँझको बिजुली माग पुरा गर्न सरकारले यो आयोजना अघि बढाउन लागेको हो । आयोजनाबाट वार्षिक २१ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ किलोमिटर दूरीको २२० केभी लेखनाथ सबस्टेसनमा जोडिने छ । आयोजनाको लागत १३ करोड डलर अर्थात झण्डै १४ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्यनले देखाएको छ । प्राधिकरणका अनुसार यो लागतमा आयोजना निर्माण हुँदा प्रतिकिलोवाट ८७० डलरमा पूरा हुन्छ । जाइकाको सहयोगमा १४० मेगावाटको तनहुँ सेती अर्धजलासययुक्त आयोजना निर्माण हुदै छ । यस्तै १०४ मेगावाटको तल्लो तनहुँ आयोजनाको संभाव्यता अध्ययन हुदैछ । संभाव्य देखिएमा पम्पस्टोरेजमा पनि जाइकाले लगानी गर्ने संभावना छ ।

एक भोटको मूल्य ४ हजार ९२३ रुपैयाँ, तपाईंले कति पाउनुभयो ?

काठमाडौं । के तपाईंले गएको स्थानीय तहको निर्वाचनमा भोट हाल्नुभो ? भोट खसालेबापत कति रकम पाउनुभयो ? अधिकांश मतदाताले एक रुपैयाँपनि नलिई भोट खसाले । मत खसाल्न जाँदा उल्टै मतदाताले आफ्नो गोजीबाट बाटो खर्च बेहोरे । के तपाईंलाई थाहा छ – तपाईंको एक भोटका लागि उम्मेदवार र सरकारले कति खर्च गरेका छन् ? निर्वाचन आयोगका अनुसार सरकार र उम्मेदवारले एक भोट बराबर चार हजार ९ सय २३ रुपैयाँ खर्च गरेका छन् । जसमध्ये सरकारले मात्रै १ हजार ३ सय ९ रुपैयाँ खर्चिएको छ । गत स्थानीय चुनावमा ७० अर्ब रुपैयाँ खर्च भएको छ । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोग, सरकार र उम्मेदवारबाट ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको खर्च भएको निर्वाचन आयोगको जानकारी दिएको छ । स्थानीय तह निर्वाचन २०७४ को सिलसिलामा निर्वाचन प्रचार प्रसार अभियानमा निर्वाचन आयोग, सरकारका सम्बद्ध निकायहरु तथा उमेदवारहरुबाट भएको खर्चको अध्ययन गरि “स्टडी अल द इलेक्सन क्यापेन फाइनान्स अफ लोकल इलेक्सन्स २०१७ इन नेपाल’ को अध्ययन प्रतिवेदन आज अन्नपूर्ण होटेलमा आयोजित एक सार्वजनिक कार्यक्रमबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सार्वजनिक गरेका छन् । प्रतिवेदनअनुसार आयोगले स्थानीय तहको चुनावका लागि ७ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको थियो । यसमा सरकारको खर्च १८ अर्ब ४६ करोड रुपैयाँ निस्किएको छ भने उम्मेदवार तथा तिनका दलबाट ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको खर्च भएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै आयुक्तले यस किसिमको अध्ययन लोकतन्त्र सवलिकरणको लागि सहायक हुने व्यहोरा बताउदै निर्वाचन आयोग समेत निर्वाचन सम्बन्धि खर्चको अध्ययन गराउनु पर्ने विषयमा चिन्तनशील रहेको समेत बताए । अध्ययन प्रतिवेदनले प्रस्तुत गरेको निष्कर्ष एवंम् सुझावका सम्बन्धमा अध्ययन टोलीका संयोजक विनोदबिक्रम सिजापतिले कार्यपत्रको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेलको सभापतित्वमा भएको समारोहमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय संघ संस्था एवंम् कुटनीतिक नियोगका पदाधिकारीहरु, उद्योगी व्यवसायिहरु, सामाजिक संस्थाका पदाधिकारीहरु, नागरिक अभियन्ताहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिती थियो । संख्या शिर्षक  करोडमा (रुपैयाँ) १ जम्मा खर्च  ६९४२ २  मतदाताको संख्या (करोडमा) १.४१ ३ प्रति मतदाता खर्च (रुपैयाँमा) ४९२३ ४ बदर भोट  ०.१७ ५ बदर भोटमा खेर भएको खर्च ११८०

साझा यातायातले ल्यायो अशोक लेलैण्डका नयाँ डिलक्स बसहरु

काठमाडौं । साझा यातायातले नेपालका लागि अशोक लेलैण्ड भेकल्सका नयाँ डिलक्स बसहरु नेपाल बजारमा ल्याएको छ । बिहीबार आईएमई मोर्टस् प्रालि र साझा यातायात सहकारी संस्थाबीच सुविधा सम्पन्न उक्त बसहरु खरिद गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आईएमई मोर्टसका प्रमुख कार्याकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारीका का.मु.प्रमुख कार्याकारी अधिकृत महेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार उक्त बसहरुमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इन लाइन एफआईपी रहेको छ । यस बसका मुख्य विशेषता भनेको एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्नु हो । साथै, यस बसहरुले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा दिने छ । उक्त बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रुहरुले अनुभुती गर्न पाउने कम्पनीले जनाएको छ । नेपालका लागि अशोक लेलैण्ड भेकल्सको आधिकारीक विक्रेता आईएमई मोर्टस् प्रा.लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आईएमई ग्रुपको एक भगिनी संस्था) हो ।