विकासन्युज

सानिमा क्यापिटलले ल्यायो एक अर्ब २० करोडको म्युचुअल फण्ड, प्रतिफल १२८.१५ प्रतिशत

काठमाडौं । सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड ल्याएको छ । सानिमाले १० रुपैंयाँ मूल्य अंकित १२ करोड ईकाईको सात बर्षे इक्वीटी फण्ड ल्याएको हो । कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । मंसिर १२ गतेदेखि १५ गतेसम्म सानिमा इक्वीटी फण्डका लागि आवेदन दिन सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । सानिमा क्यापिटलका स्किम मेनेजर जनार्दन आचार्यले ७ बर्षमा १२८.१५ प्रतिशत प्रतिफल दिने गरि इक्वीटी फण्ड तयार पारिएको बताए । पुराना र नाम चलेका कम्पनीहरुको म्युचुअल फण्डमा पनि लगानी कर्ताको ठूलो आकर्षण नदेखिएको अवस्थामा पनि सानिमाको इक्वीटी फण्ड भने सहजै बिक्ने दावी पनि उनले गरे । ‘सानिमाको ब्राण्ड नामले पनि इक्वीटी फण्ड बेच्न समस्या हुन्न, जारी गरिएको इकाई भन्दा ठूलो मात्रामा आवेदन आउँछ भन्ने विश्वास छ, लगानी कर्ताको राम्रो रेस्पोन्स आईरहेको छ’, आचार्यले भने ।

सोल्टी होटलको साधारणसभा मंसिर २८ गते, २१ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । होटलले बोनस सेयर दिनका लागि मंसिर २८ गते ४३ औं वार्षिक साधारणसभा बोलाएको छ । होटलले २० कित्ता बराबर ३ कित्ता हकप्रद दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै चुक्तापुँजीको ६ प्रतिशत नगद लाभाँश पनि दिने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

अब घरैमा बसेर अनलाईनबाट बैंकको खाता खोल्न सकिने

काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ? अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ । बैंकले घरैमा बसेर २४ सै घण्टा खाता खोल्न मिल्ने व्यवस्था गरेको छ । सनराईले सहायताका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ । सनराईजले पहिलो पटक यस्तो सुविधा ल्याएको हो ।

रिलायन्स फाइनान्सको मंसिर २२ देखि हकप्रद बिक्री खुला हुदै

काठमाडौं । पुँजी बढाउन रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले २३ करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद मंसिर २२ देखि बिक्री खुला भई पुस २७ गतेसम्म तोकिएको छ । फाइनान्सले १० बराबर ४.५ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्तापँुजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको चुक्तपुँजी ८० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।

सानिमामाई हाइड्रोको हकप्रद सेयर लिलामीमा, मंसिर १९ गते अन्तिम दिन

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर लिलामी गर्ने भएको छ । सानिमाले बिक्री नभएको १ लाख ४६ हजार ५९२ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर १९ गते तोकेको छ । कम्पनीले साउन १९ देखि भदौ २९ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेका सेयर लिलामी गर्न लागेको हो ।

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज खरिद अर्डर, एयरबस बोइङ भन्दा अगाडि

दुबई– युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुँदै आएको दुबई एयर सो आयोजकका अनुसार सन् २०१५ को दाँजोमा यसपालि कारोबारसँगै दर्शक पनि २० प्रतिशतले बढेर ७९ हजार तीन सय ८० जना पुगेका छन्। युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पाँच दिनसम्ममा ६२ अर्ब ५० करोड डलरमा पाँच सय ३५ थान जहाज जहाज बेच्न विभिन्न वायुसेवासँग सम्झौता गरेको छ । यसमा एयरबसको प्रतिस्पर्धी अमेरिकी जहाज निर्माता कम्पनी बोइङ थोरै परिमाणले पछाडि परेको छ । बोइङले भने पाँच दिनभित्र विभिन्न कम्पनीलाई ५० अर्ब डलरमा दुई सय ९६ थान जहाज बेच्ने सम्झौता गरेको छ। एयरबसले भारतको सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स इन्डिगोसँग ४९ अर्ब ५० करोड डलरबराबरको जहाज खरिद अर्डर सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एयरबसले इन्डिगोलाई ‘ए३२० निओ’ सिरिजका चार सय ३० थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्। त्यसैगरी बोइङले पनि एयर सोको अन्तिम दिनसम्ममा दुबईको बजेट एयरलाइन्स फ्लाई दुबईसँग २७ अर्ब डलरबराबरको जहाज खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बोइङले फ्लाई दुबईलाई ‘बि७३७ म्याक्स’ सिरिजका दुई सय २५ थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्। ‘दुबई एयर सोको १६औं संस्करण सन् २०१९ मा हुने छ । युएईको इमिरेट्स एयरलाइनले १६ अर्ब डलरमा ‘बि७८७–१०’ सिरिजका ४० थान जहाज खरिद सम्झौता गरेको छ । यो सम्झौताअनुसार पहिलो जहाज सन् २०२२ मा आपूर्ति हुने छ । इमिरेट्स एयरबसको सबैभन्दा धेरै यात्रु बोक्ने ‘ए३८०’ र बोइङको सबैभन्दा धेरै यात्रु बोक्ने ‘बि७७७’ सिरिजका जहाज धेरै सञ्चालन गर्ने संसारकै एकमात्र वायुसेवा कम्पनी हो ।

एमबीबीएस प्रवेश परीक्षा रद्द, ८ हजार ८ सय २७ विद्यार्थी तनावमा

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।  प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो । विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।  अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।

पर्यटक आगमनमा ऐतिहासिक वृद्धि, यस वर्ष विदेशी पर्यटक १० लाख नाघ्दै

नेपालले सन् २०११ मा पर्यटन वर्ष मनाउँदै १० लाख पर्यटक भित्र्याउने घोषणा गरे पनि त्यसको ६ वर्षपछि मात्र लक्ष्य पूरा भएको छ । पर्यटक आगमनका दृष्टिले चालू वर्ष (सन् २०१७) मा हालसम्मकै धेरै पर्यटक आउने देखिएको छ । १० महिनाको पर्यटक आगमनदर विश्लेषण गर्दा डिसेम्बरसम्ममा १० लाख पर्यटक पुग्ने देखिएको हो । हालसम्म सबैभन्दा धेरै पर्यटक २०१२ मा ८ लाख ३ हजार भित्रिएको तथ्यांक छ । अध्यगमन विभागको तथ्यांकअनुसार १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१६ को १० महिनामा ६ लाख ७ हजार ५ सय ५६ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । यो संख्या गत वर्षभन्दा १ लाख ४९ हजार ८ सय ९२ पर्यटकले बढी हो । २०१६ मा ७ लाख ५३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्याभन्दा २०१७ को १० महिनामै ४ हजार बढी भित्रिसकेका छन् । चालू वर्षको १० महिनामध्ये सबैभन्दा बढी अक्टोबरमा १ लाख १२ हजार ४ सय ९२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । १० महिनामा सवैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । “सन् २०१७ मा सबैभन्दा धेरै पर्यटक आउने पक्का भएको छ,” होटल संघ नेपालका महासचिव विनायक शाह भन्छन्, “अहिलेको आगमनदर हेर्दा १० लाखको हाराहारीमा पुग्ने देखिएको छ ।” नेपालका अहिलेको होटलको क्षमता वृद्धि भइ १५ लाखसम्म सहजै पर्यटक धान्ने अवस्था रहेको शाहले जानकारी दिए । भारतबाटमात्रै १ लाख ३३ हजार २९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन संख्या चीनकोभन्दा ४९ हजार ६ सय ८७ पर्यटकले बढी हो । यस्तै, चीनबाट ८३ हजार ३ सय ४२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट मात्रै १० महिनामा ६५ हजार २ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथोमा श्रीलंकाबाट ४१ हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट पनि ४० हजार ३ सय ४४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । काराेबार दैनिकबाट